प्रमुख समाचार

नेपाली चेली बोनिता शर्मा विश्वका प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा

काठमाडौ। बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने संसारभरीका सय प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल भएकी छिन् । बोनिता द सोसल चेन्जमेककर्स एण्ड इनोभेटर्सकी संस्थापक हुन् । उनले नेपालका महिला तथा बालिकालाई शिक्षा तथा सशक्तिकरणका लागि सहयोग गर्दै आइरहेकी छिन् ।

कुपोषणका कारण हुने बाल मृ*त्युदर घटाउन उनले न्यूट्रिबेड्स डिजाइन गरेकी छिन् । न्यूट्रिबेड्स एउटा यस्तो ब्रासलेट हो जुन भिन्न रङका दानाले बनाइएका हुन्छन् जसले नयाँ आमाहरुलाई आफ्नो नवजात शिशुलाई के खुवाउने भनेर सचेत गराउँछ । उनको यो प्रोजेक्ट युनेस्को मलाला फन्ड फर गर्ल्स राइट टु एजुकेट कोषमार्फत पुरस्कृतसमेत भएको छ ।

बोनिताले आफ्नो ट्वीटर अकाउन्टमा आफू सय प्रभावशाली महिलाको सूचीमा समावेश भएकोमा खुसी व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मैले रोलमोडलको रुपमा हेर्ने महिलाहरुको सूचीमा आफूलाई पनि पाउँदा निकै खुसी छु । यसले मलाई थप सशक्त महसुस गराएको छ ।’ उनीसँगै संसारका अन्य ९९ महिलालाई पनि बीबीसीले प्रेरणादायी तथा प्रभावशालीको सूचीमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *