प्रमुख समाचार

नेपाल र यूएईका श्रममन्त्रीबीच भेटवार्ता, यूएईसँगको श्रम सम्झौता कार्यान्वयनका लागि संयुक्त बैठक बस्ने

बुधबारदेखि दुबईमा सुरु हुने मन्त्रीस्तरीय पाँचौँ आबुधाबी डायलगमा सहभागी हुन मंगलबार यूएई आउनु भएका श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र उहाँका समकक्षी यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीबीच आबुधाबीमा भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपालका तर्फबाट मन्त्री विष्टले नेपाली श्रमिकका समस्याका बारेमा चासो राख्नुभएको थियो । जवाफमा नेपाली श्रमिकका विषयमा यूएई गम्भीर र सुधारका प्रयासमा सकारात्मक भएको यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले बताउनुभयो ।

भेटघाटपछि उज्यालोसँग कुरा गर्दै मन्त्री विष्टले यूएईसँगको श्रम सम्झौता कार्यान्वयन सम्बन्धमा नोभेम्बर पहिलो हप्ता दुई देशका संयुक्त कार्य समितिको बैठक नेपालमा बस्ने गरी सहमति भएको बताउनुभयो ।

मन्त्री हम्लीले नेपाल र नेपालीले यूएईलाई दिएको योगदानको प्रशंसा गर्दै द्विदेशीय सम्बन्ध विकासमा यूएई प्रतिबद्ध रहेको बताउँदै सहयोग र सहकार्य गर्ने जनाएको भेटघाटमा सहभागी यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले उज्यालोलाई बताउनुभयो ।

भेटघाटमा दुई देशका मन्त्रीसहित, श्रम मन्त्रालयका सचिव बिनोद केसी र राजदूत कृष्णप्रसाद ढकाल पनि सहभागी भएको नेपाली दूतावास आबुधाबीकी उपनियोग प्रमुख तथा प्रवक्ता रिता धितालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *