एजेन्सी, २९ असोज । क्लब स्पोर्टिङ सीपीका पूर्वप्रशिक्षक लास्जलो बोलोनीले आफूले प्रशिक्षण दिएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा बलिया खेलाडी भएको बताएका छन् । उनले ‘रेडियो पुन्टो नुभो’सँग अन्तर्वार्ता दिने क्रममा रोनाल्डो संसारकै सबैभन्दा बलिया खेलाडी भएको बताएका हुन् ।
बोलोनीले सन् २००१ देखि २००३ सम्म स्पोर्टिङ सीपीको प्रशिक्षण सम्हालेका थिए । यस्तै सन् २००२ मा रोनाल्डोले सीपीबाट खेलेका थिए । उनले २००३ सम्म सीपीबाट खेले, जहाँ उनलाई बोलोनीले प्रशिक्षण गराएका थिए । रोनाल्डोलाई १ वर्ष प्रशिक्षण गराएका बोलोनीले हालै एक अन्तर्वार्तामा बोल्दै रोनाल्डो विश्वकै बलिया खेलाडी भएको दाबी गरे ।
६६ वर्षीय बोलोनीले भने, ‘मेरा लागि उनी सधैं विश्वका उत्कृष्ट खेलाडी हुन् । उनका बारेमा सबैले कुरा गर्छन् । पेलेलाई प्रशिक्षण दिएका प्रशिक्षकले पनि भन्छन् कि रोनाल्डो पेलेभन्दा उत्कृष्ट छन् । म्याराडोना आफैंले पनि भन्छन् कि मभन्दा रोनाल्डो उत्कृष्ट छन् भनेर ।’
उनले थपे, ‘यसमा महत्त्वपूर्ण कुरा के छ भने हामी सबैले उनको खुबी हेरेर मज्जा लिनुपर्छ । निरन्तर रूपमा रोनाल्डोको खेल हेरेर मज्जा लिनुपर्छ किनकी उनी फुटबल इतिहासकै क्षमतावान् खेलाडी हुन् । उनी संसारकै सबैभन्दा बलिया खेलाडी हुन् ।’
hgfhg
यसैगरी बोलोनीले धेरै खेलाडीहरू लामो समयदेखि उनको सिको गरिरहेको बताए । उनले भने, ‘ती व्यक्तिहरू, जसले रोनाल्डोलाई चिने, उनीहरूले लामो समयदेखि निरन्तर उनलाई पछ्याइरहेका छन् । उनको सिको गरिरहेका छन् । जब म उनलाई देख्छु तब मैले प्रशिक्षण दिनुको आनन्द महशूस गर्छु, सन्तुष्ट हुन्छु ।’
‘मैले अभ्यासमा उनलाई देख्दा उनी तयार भएका हुन्छन्,’ उनले थपे, ‘जब उनी साना थिए, त्यैपनि धेरै कुरा बुझेका हुन्थे । यसैले त उनी आज विश्वकै नम्बर वान खेलाडी भएका छन् । राम्रो र पूर्ण रूपमा काम गर्ने उनको बानीले उनलाई सबैभन्दा सफल खेलाडी बनाएको हो ।’
रोनाल्डोले स्पोर्टिङ क्लब सीपीबाट ३२ खेल खेल्दा ५ गोल गरेका छन् । आफ्नो करिअरमा ७ सय गोल पूरा गरेका उनले पोर्चुगलका लागि ९५औं गोल गरेका छन् भने इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट २ सय ९२ खेल खेल्दै १ सय १८ गोल गरेका छन् । यस्तै ९ वर्ष स्पेनिस क्लब रियल मड्रिडमा बिताएका उनले त्यहाँबाट ४ सय ३८ खेलमा ४ सय ५१ गोल गरेका छन् । सन् २०१८ मा रियलबाट इटालियन क्लब युभेन्टस गएका उनले इटालीबाट ३२ गोल गरेका छन् ।