प्रमुख समाचार

सी हिँडेको सडक बन्यो, बाँकी धुलाम्मे

काठमाडौँ : केही दिनअघि राजधानीका केही सडक सफा बनेका छन्। सडकका खाल्डा खुल्डी पुरिए। रातारात कालोपत्रे गरेर चिल्लो बनाइयो। धुलो पनि उड्ने अवस्था थिएन सडकमा। चिनियाँ राष्ट्रपति सी जिङ पिङ सहितको टोलि नेपाल आउने भएपछि सरकारले राजधानीका केही सडकमा एकाएक परिवर्तन गर्‍यो। एयरपोर्टदेखि तीनकुने हुँदै बानेश्वरसम्म र बानेश्वरदेखि त्रिपुरेश्वर हुँदै सोल्टी मोडसम्मको सडक सबै मर्मत भए। त्यस्तै सोल्टीमोडबाट सुन्धारा हुँदै शितल निवास पुग्ने लगायतका केही सडक पनि मर्मत भएका छन्। रातारात कालोपत्रे गरेका सडकको मापदण्ड पुरा भएको छ वा छैन शंका हुने ठाउँ प्रसस्तै छन्। सर्वसाधरणले हेर्दासमेत थाहा पाइने गरी लेबल नमिलाइ कालोपत्रे गरेको देखिन्छ।

अहिलेसडक विभागले जति सडक बनायो सबै सी हिँड्ने बाटोको मात्र मर्मत गरेजस्तो देखिन्छ। बाँकी सडकको हालत भने उस्तै छ। तर, सडक विभागका प्रवक्ता शिवहरि सापकोटा भने यो कुरा स्विकार गर्दैनन्। विभागले सधैँ सडक निर्माण एबम् मर्मत गर्ने गरेको उनको भनाइ छ। ‘विदेशी पाहुँना आउने भएर सडक मर्मत गरिएको भन्ने भ्रम हो,’ उनले भने, ‘हामी चाडपर्व आउनु अगाडि सधैँ पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मकै सडक मर्मत गर्छौँ।’

चिनियाँ राष्ट्रपति आउनु र सडक मर्मत थाल्नु संयोग मात्र भएको उनले बताए। पाहुना आउने भएपछि काम गर्न थप प्रेसर मात्र भएको उनको भनाइ छ। अहिले पनि विभिन्न ठाउँमा काम भइरहेको उनले जानकारी दिए।

अहिले कलंकीबाट गौशालासम्म सडकमा धेरै समस्या देखिन्छ। सडक एकदमै धुलाम्य छ। सडकको बिचमा भएका खाल्डाखुल्डीले उत्तिकै समस्या गरेको छ। चाबहिलदेखि मित्रपार्कसम्म सडकको हालत सबैभन्दा खत्तम छ। सडकको कालोपत्रे सबै उप्किएको छ। सडकमा सबै खाल्डाखुल्डी मात्र छ। घाम लाग्दा धुलोले हिँड्न सकिँदैन। पानी पर्दा हिलोले समस्या गर्छ। चाबहिल चुच्चेपाटी सडकको पनि अवस्था पनि उस्तै नै छ।

अहिले सडकमा उड्ने धुलोले वतावरण प्रदुषणमात्र नभइ स्वास्थ्यमासमेत असर गरेको स्थानीय बताउँछन्। ‘सडकको अवस्था जहिले यस्तै छ,’ स्थानीय व्यपारी रुपेश श्रेष्ठले भने, ‘जति भने पनि काम भएन। सडकको धुलोले स्वास्थ्यमा नै समस्या आउने अवस्था भएको छ।’ सडक विभागले समयमा काम गरिदिए यो समस्या नआउने उनी बताउँछन्। ‘अहिले पाहुँना आउँने हुँदा सडक धमाधम बने,’ उनले भने, ‘सरकारले चाह्यो भने यति छिटो काम हुँदो रहेछ। यसरी अरुबेला पनि काम गरे हामीले धुलाम्ये सडकमा हिँड्नु पर्ने थिएन।’

चाबहिल लगायत धेरै ठाउँमा सडक मर्मत गर्न पानीको पाइप व्यवस्थित नभएकाले काम नभएको प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए। ‘अहिले धेरै ठाउँमा पानीको समस्या भएकोले काम गर्न सकिएको छैन,’ उनले भने, ‘पानीको पाइप यति अव्यवस्थित छ कि अहिले कालो पत्रे गर्‍यो अहिले भिजेर काम नलाग्ने हुन्छ।’ सडकमा अन्य समस्या नभए यो वर्ष धेरै ठाउँमा कालोपत्रे योजना बनाएका उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *