प्रमुख समाचार

तिलिचो ताल : ‘यात्रा कठिन तर पुगेपछि संसार जितेको अनुभूति’

लमजुङ – संसारकै सबैभन्दा बढी उचाइमा रहेको मनाङको तिलिचो ताल पुग्ने पहिलदेखिकै चाहना थियो, सुन्दरबजार नगरपालिका–७, का रामकृष्ण सुनारको ।

तिलिचो पुग्ने सपना साकार पार्न उहाँ गएको साता बिहिबार दुई जना साथीको साथमा तिलिचो तालको यात्रामा निस्कनुभयो । मोटरसाइकलमा मनाङको खाङ्सर पुगी बिहीबार खाङ्सर नै बस्नुभयो । शुक्रबार बिहानै श्रीखर्क (४ हजार ६० मिटर ) हुँदै झण्डै ७ घण्टाको पैदल यात्रापछि तिलिचो बेसक्याम्प (४ हजार १ सय ५० मिटर) पुग्नुभयो ।

बेसक्याम्पसबाट साथीको साथमा उहाँ झण्डै ५ घण्टाको पैदल यात्रापछि तिलिचो ताल पुग्नुभयो । चिसो बतास चलिरहेको, हिमालको काखैमा रहेको संसारकै बढी उचाइमा रहेको हिमताल चिलिचो ताल आँखै अगाडि नियाल्न पाउँदा उहाँलाई ‘संसारै जितेको’ अनुभूति भयो ।

‘बेसक्याम्पसबाट झण्डै ५ घण्टा हिँडेपछि तिलिचो पुग्यौँ । खरखरे भीर पार गर्दै हिँड्नुपर्ने । तिलिचोको यात्रा निकै कठिन छ,’ उहाँले भन्नुभयो, ‘यात्रा कठिन भए पनि तिलिचो पुगेपछि सारा थकान मेटिन्छ । तिलिचो पुग्दा त संसारै जितेको अनुभूति हुन्छ ।’

मनाङको नेस्याङ गाउँपालिका–९, मा पर्ने संसारकै अनुपम सौन्दर्यको रुपमा रहेको यस हिमताल सामुद्रिक सतहदेखि चार हजार ९ सय १९ मिटर उचाइमा छ ।

सुनारका अनुसार तिलिचो तालमा बिहान १० बजेदेखि चिसो हावा बहन थाल्छ । तिलिचो तालसम्म पुग्नका लागि आवश्यक तयारीका साथै आवश्यक औषधी र साथीको साथमा जानुपर्ने उहाँ बताउनुहुन्छ । ‘लेक लाग्ने समस्या हुन सक्छ । त्यसैले आवश्यक औषधी लिएर जानुपर्छ,’ उहाँले भन्नुभयो ।

बस्ने ठाउँको समस्या

उहाँका अनुसार बेसक्याम्पसमा २ वटा होटल छन् । एउटा होटल बन्दै छ । पर्यटकहरु बस्ने पर्याप्त ठाउँ भएमा झनै पर्यटकको आकर्षण बढाउन सकिने उहाँ बताउनुहुन्छ ।

‘बस्ने ठाउँको अलि समस्या छ । बस्नका लागि कोठा पाउन मुश्किल छ । ‘डाइनिङ हल’मा समेत बस्नुपर्ने बाध्यता छ । हलमासमेत बस्ने ठाउँ पाउन सकस हुन्छ,’ उहाँले भन्नुभयो, ‘पर्यटकका लागि पर्याप्त मात्रामा बस्ने ठाउँको व्यवस्था गरेमा पर्यटकको झनै आकर्षण बढाउन सकिन्छ ।’

तिलिचोसम्मको यात्रा केही कष्टकर र जोखिमपूर्ण भए पनि तिलिचो पुगेपछि प्राकृतिक सौन्दर्यमा टहलिन पाउँदा यात्राका सारा कष्ट पलभरमै भुल्छन्, यहाँ पुग्ने जो कोही ।

अहिले तिलिचो ताल पुग्ने पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन् । मनाङको साथै तिलिचो तालको सौन्दर्यलाई नजिकैबाट नियाल्न देश तथा विदेशका पर्यटक यहाँसम्म आउन लालयित छन् ।

यो ताल आन्तरिक तथा बाह्य दुवै पर्यटकको रोजाइको गन्तव्य बनेको छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा आउने हजारौ पर्यटकहरु पछिल्लो समय तिलिचो तालसम्म पुग्ने गरेका छन् ।

ताल नजिकैबाट देखिने मुसुक्क मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, निलगिरी हिमश्रृङ्खलाको दृश्यले पर्यटक भुतुक्कै हुन्छन् ।प्राकृतिक, धार्मिक दृष्टिकोणले महत्वपूर्ण ‘तिलिचो ताल’

प्राकतिक रुपले मात्र नभई धार्मिक दृष्टिकोणले पनि महत्वपुर्ण मानिन्छ, तिलिचो ताल । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती अनुसार हिन्दू धर्मावलम्बीहरु तीर्थ व्रतका लागि पनि तिलिचो तालसम्म पुग्ने गरेका छन् ।

जानकारहरुका अनुसार मुख्यतया असोजदेखि पुस महिनासम्म तिलिचो पुग्ने उचित समय मानिन्छ । फागुनदेखि वैशाखसम्म दोस्रो सिजनको रुपमा लिने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *