काठमाडौंः बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।बुधबार ७० हजार ६ सय रुपैयाँ पुगेको सुन आज पनि प्रतितोला त्यही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज पनि तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि तेजावी सुनको मूल्य त्यति नै रहेको थियो ।बुधबार ८ सय ५० रुपैयाँ पुगेको चाँदी आज भने घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।
जुम्लाकाे मार्सी किन्न खेतमै पुग्छन् व्यापारी
जुम्लामा यतिबेला मार्सी काट्ने चटारो छ। किसानले खेतबाट मार्सी काटेर घर भित्र्याएका छैनन्। तर मार्सी धान किन्ने व्यापारी खेतमै पुग्न थालेका छन्। विश्वकै अग्लो स्थानमा फल्ने जुम्ली मार्सी चामलको स्वदेश र विदेशमा माग बढेपछि व्यापारी धान खरिदका लागि खेतमा पुग्न थालेका हुन्।
दसैं मनाएर धान भित्तयाउन व्यस्त किसान मार्सीकै परीकारसँग तिहार मनाउने तयारीमा छन्। व्यापारी जतिसक्दो बढी मार्सी खरिद गर्न जुटेका छन्। अन्य जिल्लाको तुलनामा चिसोका कारण जुम्लामा जेठमा रोपेको मार्सी असोज अन्तिममै पाक्छ। मार्सीको चर्चा र गुणस्तरका कारण माग ह्वातै बढेको छ। ‘मार्सी किन्ने व्यापारी घरमै आइपुग्छन्, कतिपयले अग्रिम पैसा दिन खोज्छन्’, तातोपानीका कृषक नरबहादुर बुढाले भने, ‘जति धेरै मार्सी उत्पादन गर्यो त्यति धेरै पैसा आम्दानी हुन्थ्यो तर दुःखअनुसार मार्सी उत्पादन नहुँदा समस्या छ।’
देशमा मार्सी चामलको ब्रान्ड बनेपछि व्यापारी घरमै पुगेर प्रतिकिलो एक सय रुपैयाँमा मार्सी चामल खरिद गर्न थालेका हुन्। केही वर्ष यता सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत जिल्लामा मार्सी चामल बिक्री गर्दै आएका व्यापारी एकराज गौतमले बजार मागअनुसार मार्सी आपूर्ति गर्न नसकेको बताए। काठमाडौंमा मार्सी बेच्दै आएकी सन्जु तिमिल्सिनाले ग्राहकको मागअनुसार मार्सी चामल आपूर्ति गर्न नसकेको बताइन्। उनका अनुसार मार्सी चामलबाट कृषकभन्दा व्यापारीलाई दोब्बर फाइदा छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।