प्रमुख समाचार

पूर्वराजालाई भट्टराईको चुनौती : पद चाहिए पार्टी खोलेर चुनाव लड

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई डा.बाबुराम भट्टराईले चुनाव लड्न चुनौती दिएका छन्। पछिल्लो समय पूर्व राजपरिवारले राजनीतिक सक्रियता बढाइरहेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले चुनाव लड्न चुनौती दिएका हुन्।समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराईले पद चाहिए पार्टी खोलेर चुनाव लड्न पनि चुनौती दिए।

गोर्खामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा भट्टराईले भने,‘राजतन्त्र आवश्यक छैन भनेर गणतन्त्र ल्याएका हौं। राजतन्त्र फर्कन्छ भनेर शंका गर्नुपर्दैन, कुनै हालतमा राजतन्त्र आउँदैन, आउन पनि हुँदैन। पदमा आउने त्यती नै चाहना छ भने चुनाव लडेर आउँदा हुन्छ।’

लोकतन्त्रले सबैलाई चुनाव लडेर आउने अवसर दिएको भन्दै भट्टराईले अगाडि भने,‘जातीय र वंशीय आधारमा देश चलाउने दिन समाप्त भएको छ। लोकतान्त्रिक गणतन्त्रपश्चात मुलुक विकास र समृद्धिको नयाँ चरणमा पुगेको छ। एजेण्डासमेत फेरिएको छ।’

‘पूर्वराजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाई पनि उठाए हुन्छ। जनताले चुनाव जिताए भने देश चलाए हुन्छ। हामीलाई त्यसमा कुनै आपत्ति छैन।’, भट्टराईले भने।

चाडवाडको समयमा पूर्वराजासँग जनताले टिका लगाए भन्दैमा राजा चाहियो भन्नु गलत रहेको उनले बताए। उनले भने, ‘जनताले अलि पर गएपछि राष्ट्रपतिसँग पनि लगाउँछन्, प्रधानमन्त्रीसँग पनि लगाउँछन् त्यो ठूलो कुरा होइन। हामी अब गणतन्त्रबाट पछाडि फर्कन सक्दैनौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *