प्रमुख समाचार

सीले राष्ट्रपति भण्डारीसँग चियर्स गर्दा गिलास तल पार्नुको अर्थ

उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन्।शनिबार अपरान्ह नेपाल आइपुगेका सीले हिजै राजनीतिक भेटवार्ता सुरू गरे।शनिबार साँझ उनले राष्ट्रपति भवन शितल निवास पुगेर समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गरे।

सी राष्ट्रपति भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्। आफूले निम्त्याएका पाहुनाको सम्मानमा भण्डारीले शनिबार राति सोल्टी होटलमा रात्री भोजको आयोजना गरिन्।रात्रीभोजमा दुबै राष्ट्रपतिले सम्बोधन गरे।

सम्बोधनका क्रममा सीले नेपाली नेताहरूसँग मिलेर चीन र नेपालबीचको सम्बन्धका नयाँ खाका र योजना बनाउन सकेकोमा आफू अत्यन्तै खुसी भएको धारणा राखे।नेपालीमा नमस्ते भन्दै सम्बोधन सुरू गरेका सीले अन्त्यमा गिलास उठाउँदै भनेका थिए -चियर्स। ग्याम्बे!

त्यसपछि भोजमा सहभागी सबैले पेय पदार्थका गिलास उठाए। राष्ट्रपति भण्डारीले पनि गिलास उठाइन्। सी र भण्डारीले गिलास आपसमा ठोकेर चियर्स गरे।

चियर्स गरेको उक्त तस्बिर हेर्नुभयो भने राष्ट्रपति सीको गिलास समकक्षी भण्डारीको भन्दा तल छ। सीले त्यसरी गिलास तल पार्नुको अर्थ छ। त्यसमा उनको विनम्रता झल्किन्छ।

नेपालीहरू मदिरा पिउनु पहिले गिलास ठोक्काउँदै चियर्स गर्छन्। तर त्यसमा कसको गिलास तल छ कसको माथि भन्ने कसैले ख्याल गर्दैनन्।तर चिनियाँ समाजमा भने यसरी चियर्स गर्दा गिलास तलमाथि हुनुको ठूलो अर्थ हुन्छ।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा कार्यरत पत्रकार लक्ष्मी लम्सालका अनुसार चिनियाँ समाजमा आफूभन्दा ठूला वा सत्कार गर्नुपर्ने व्यक्तिसँग गिलास ठोक्काउँदा आफ्नो गिलास अलिकति तल झुकाउनुपर्छ।

‘महान् व्यक्तिले विनम्रता देखाउन आफ्नै गिलास तल पारेर पनि ठोक्काउँछन्। राष्ट्रपति सी निकै विनम्र हुनुहुन्छ। हिजोको उहाँको व्यवहार पनि फलेको वृक्षको हाँगा नझुकेको कहाँ छ र भनेजस्तै हो,’ लम्सालले सेतोपाटीसँग भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *