प्रमुख समाचार

निगमको ओसाका उडान उत्साहजनक

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ओसाका (जापान) उडानमा आशातित व्यापार गरेको छ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दले निगमको ओसाका उडान नियमित भइरहेको र आशातित व्यापार गर्न सफल भएको बताएका हुन् ।

‘निगमको ओसाका उडान नियमित भइरहेको छ। अक्टोबरबाट दुईतर्फी यात्रुको सङ्ख्या बढेको छ। यात्रुको सङ्ख्या प्रति उडान १५० देखि २०० सम्म हुने गरेको छ। यसले हामीलाई उत्साहित बनाएको छ’, उनले भने।

निगमले वाइड बढी ए–३३० जहाजमार्फत जापानको ओसाका कन्साइ इन्टरनेशनल एयरपोर्टमा साताको दुई दिन मङ्गलबार र शनिबार उडान भर्दै आएको छ।

निगमले सो गन्तव्यमा गत भदौ १२ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो। शुरुका दिनमा यात्रुको कमी रहे पनि पछिल्लो समय यात्रुको अकुपेन्सी क्रमशः बढिरहेको र व्यापार पनि सन्तोषजनक रहेको निगमले जनाएको छ।

नेपालमा पर्यटकीय याम शुरु भएकाले पनि जापानबाट आउने पर्यटकले गर्दा निगमलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ।

नेपालमा अहिले चलिरहेको गैरआवासीय सङ्घको नेपाली विश्व सम्मेलन, दशैँ, तिहार तथा छठ पर्व आदिका कारण पनि निगमको ओसाका उडानमा अकुपेन्सी बढेको देखिन्छ।

निगमले छिट्टै जापानको राजधानी टोकियोको नारिता इन्टरनेशनल एयरपोर्टमा सिधा उडान भर्ने तयारी गरेको छ। टोकियोमा नेपालीको बसोबास बाक्लो भएकाले त्यहाँबाट निगमको व्यापार पनि राम्रो हुने अपेक्षाका साथ निगमले आवश्यक तयारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *