प्रमुख समाचार

‘मलाई जेसुकै भन्नु, अपांग नभन्नु’

च्यानलको सिग्नल उडेपछि टेलिभिजनको स्क्रिनजस्तै झ्यार्र–झुर्र, किरमिर–झिरमिर। आश्मा अर्यालको आँखाले ठम्याउने यस्तै हो। उज्यालो र अँध्यारोको भेद मात्रै छुट्टिन्छ, रङ खुट्टिँदैन।

स्पर्श र ध्वनि नै उनको दृष्टि हो।

एकान्तकुनामा सञ्चालन भइरहेको ‘मनोसामाजिक शैक्षिक शिविर’मा भेटिइन् आश्मा। उनी अपांगता भएका एक दर्जन केटाकेटी र युवाको सहजकर्ता र ‘इन्स्ट्रक्टर’को भूमिका निर्वाह गर्दै थिइन्।

ठूलो कोठाको अघिल्लो ढोकातिरको अग्लो भागमा हार्मोनियमको छेउमै बसेकी थिइन् उनी। कोठाको होचो भाग भुइँतिर १४ देखि ३२ उमेर समूहका उनका विद्यार्थी थिए। मस्तिष्क पक्षघात, मेरुदण्ड पक्षघात र अन्य खाले अपांगता भएका सहभागीहरू। सहभागीमध्ये केहीले बोलेर, केहीले लेखेर त केहीले संकेतबाटै आश्मालाई ‘म्याम’ भनेर बोलाउने रहेछन्।

ह्विलचेयर र चकटीमा बसेका केही सहभागी ‘पेपर काउन्टिङ, चकलेट रेस, चाइनिज रेस’जस्ता खेलमा व्यस्त थिए। केही नयाँ साथीहरूसँग ‘स्पोकन पोयट्री’ र चित्रकलामार्फत आफूलाई अभिव्यक्त गरिरहेका थिए। घरबाहिर निस्कन नपाएका केटाकेटीको बाहुल्य रहेको १२ दिने शिविरको दसौं दिन थियो।

शिविर शिक्षा र क्षमता विकासमा अवसर जुटाउन कार्यरत ‘सक्षम फाउन्डेसन’को आयोजनामा भएको थियो। शिविरको काममा फाउन्डेसनकी संस्थापक तथा ‘ह्वाइट केन’ उपन्यासकी लेखक मनिषा गौचनले आश्मालाई साथ दिइरहेकी थिइन्।

यसैबीच आश्मा र मनिषाले सहभागीलाई आफूसँगै गाउने इशारा गर्दै गीत सुरू गरे,

फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार

गीत गुञ्जिरहँदा लाग्थ्यो, यो कोठाभित्र र बाहिरको संसार बेग्लै छ।

गीतका शब्दहरूको प्रतिध्वनि कोठाबाट हराइसकेको थिएन। आश्माले आफूले देखेको संसारको कथा सुरू गरिन्। स्पर्श र ध्वनिको धागोमा बुनिएको कथा। अन्धकारबाट उज्यालोतर्फ लम्किइरहेको कथा।

ललितपुर, सातदोबाटोमा जन्मेकी आश्माको बाल्यकालको सुरूआती दिन घर छेउमा बज्ने बाजाको आवाजसँग तर्सेर बित्यो। जब स्कुल जान थालिन्, त्यहाँ पनि ड्रम सेटको आवाजले झस्काउन थाल्यो।

‘बत्ती जाँदा अँध्यारोमा त केटाकेटीहरू तर्सिन्छन्, मेरा लागि त बत्ती हुँदा पनि अँध्यारो थियो,’ उनले भनिन्, ‘मेरो डर भगाउन आमाले स्टिलको थालमा चम्चाले ठटाउन, टेबुलमा हात बजाउन सिकाउनुभयो।’

कुनै बेला बाजाको आवाजसँग तर्सिने यिनै आश्मा अचेल जडिबुटीमा झंकार संगीत विद्यालयमा संगीत सिकाउँछिन्। थाल र टेबुल ठटाउने उनका हातले अचेल हार्मोनियम र तबला खेलाइरहन्छन्।

आश्मा सानैदेखि जिज्ञासु थिइन्। आमालाई धेरै प्रश्न सोध्थिन् रे। एक दिन उनले सोधिन्, ‘हिमाल कस्तो हुन्छ मामु?’

आश्माको हत्केलालाई भान्साकोठाको भित्तामा छुवाउँदै आमाले उल्टै प्रश्न गरिन्, ‘यो भित्तामा चढ्न सक्छेस्?’

आमाको शैलीसँग परिचित आश्माका लागि यो प्रश्न नभई जवाफ थियो। आश्माले महशुस गरिन्, ‘ए हिमाल पनि यस्तै ठाडो, उक्लिन गाह्रो ठाउँ रहेछ।’

देख्न नसक्नेको जीवनमा ध्वनि र स्पर्शको महत्व खास हुन्छ। यो महत्वलाई आश्मालाई उनकी आमाले व्यावहारिक रूपमै बुझाइन्।

‘मामुले कुनै पनि कुरा वर्णन गर्नुको साटो छुवाएर, महशुस गराएर सिकाउनुभयो,’ छोरीका लागि ब्रेललिपिसमेत सिकेकी आमाप्रति कृतज्ञ हुँदै उनले थपिन्, ‘उहाँले मेरो स्वास्थ्य अनुकूल हुने गरी सिक्ने वातावरण बनाइदिनुभएकाले सोसियलाइज हुन सजिलो भयो।’

आश्माका अनुसार अपांगता भएका केटाकेटीको अधिकांश समय बन्द कोठामा बित्छ। उनीहरूका अभिभावक सन्तानप्रति कि ‘प्रोटेक्टिभ’ हुन्छन्, कि बेवास्ता गर्छन्।

‘उनीहरूको सामाजिकीकरण प्रक्रियाबारे अभिभावकको ध्यानै पुग्दैन,’ उनले भनिन्। आश्माले भने आमाको दरिलो साथ पाइन्। यसैले उनलाई घरबाहिरको संसारमा सक्रिय हुन प्रेरित गर्‍यो।

घरमा आमाको साथ पाए पनि अपांगता भएकाप्रति समाजको दृष्टिकोण संकीर्ण थियो र छ।

‘आँखा नदेख्ने छोरीलाई पनि कति राम्री बनाएर हिँडाएको!’

‘आँखा नदेखेर पनि कति राम्रो वाचन गरेको!’

यस्ता धेरै ‘आँखा नदेख्ने’ टिप्पणी सुनेरै हुर्किन् उनी।

‘अपांग भएकैले अति सहानुभूति नजताउनू। धेरै संरक्षण नदिनू,’ शारीरिक अवस्थाकै आधारमा हुने टिप्पणीबाट आजित उनी भन्छिन्, ‘कुनै पनि कुरा राम्रो छ भने राम्रो, नराम्रो छ भने नराम्रै भन्दिनुस्। मेरो कामबारे मलाई जेसुकै भन्नु, अपांग नभन्नु।’

खरानी रङको कुर्तामा कालो जिन्स लगाएकी आश्माले नाकको डाँडीनेर झरेको चश्मा मिलाउँदै भनिन्, ‘देख्नु र बोल्नुको कुनै सम्बन्ध छ र? मान्छेका यस्ता कुरा सुनेर चित्त दुख्नुभन्दा पनि रिस उठ्छ।’

आश्मा सानैदेखि पढाइबाहेक वक्तृत्वकला, साहित्य लेखन, गायन, वाचनजस्ता क्रियाकलापमा सधैं प्रथम हुन्थिन्। विद्यालयका सबैले भन्थे रे, ‘आश्मा भाग लिएको कार्यक्रममा पुरस्कार नलिई फर्किन्नन्।’

जोड दिँदै थपिन्, ‘प्रमाणपत्र र पुरस्कार नै पाँच सयभन्दा बढी पुगिसक्यो।’

सफलताका बावजुद उनले हरेकमा एउटा प्रतिक्रिया सुन्नु परिरह्यो, ‘आँखा नदेख्ने भएर पनि यस्तो तगडा!’

उनको आत्मविश्वास साँच्चिकै तगडा छ। उमेर २१ हो, खरर आफ्ना कुरा नरोकिई भन्ने उनका कुरा भने धेरै परिपक्व लाग्छ।

नौ कक्षा नपुग्दै दुइटा किताब लेखेकी उनको अनुभव पनि २१ वर्षमै अटाउने खालको कहाँ छ र!

आँखा देख्ने बच्चाहरू घरबाहिर उफ्रेर, दौडेर रमाउँदा उनले घरमै अन्ताक्षरी खेलेर बिताइन्। उनको खेलमा पनि संगीत जोडिएको थियो। अन्ताक्षरी खेल्दा ठूलो उमेरसमूहसँगको संगत र घर व्यवहारका धेरै कुरा सुनिन्।

छेउमै बसेकी मनिषा ठट्टा गर्छिन्, ‘यो केटीको कुरा सुन्दा उसले आफ्नो टिनएज नै बाँचेनजस्तो लाग्छ।’

दृष्टिविहीनको सहारा ‘ह्वाइट केन’लाई विम्ब बनाइएको उपन्यासबाट प्रभावित भएर मनिषासँग नजिकिएकी हुन् आश्मा। विगत एक वर्षदेखि निकट मनिषाको कुरामा मौन स्वीकृति जनाउँदै आश्मा मुसुक्क हाँसिन्।

आश्माको परिपक्व स्वभावका कारण कक्षामा गुरुहरूले जिस्काउँथे रे, ‘आफ्नो उमेर सुहाउँदो जवाफ लेख्नुपर्छ नि। यो त ठूलो मान्छेजस्तै लेख्छे।’

सानो मान्छे, ठूलो काम भनेझैं सात कक्षामा हुँदा पहिलो किताब प्रकाशित गरिन्। ‘मेरो फूलबारी’ लेखेको दुई वर्षपछि उनले ‘सेतो भूत’ निकालिन्।

गर्वसाथ भन्छिन्, ‘दुवै किताबले बाल पुरस्कार पायो।’

‘तीन-चार कक्षादेखि नै कविता र निबन्ध लेख्न थालेकी हुँ। मनकामना दर्शनबारे लेखेको नियात्रा कोपिलामा छापिएपछि अरूमा पनि छपाउन थालेँ,’ आफ्नो लेखनयात्राबारे बताइन्।

उनले २०७० सालमा नमूना माध्यमिक विद्यालयबाट ‘डिस्टिंक्सन’मा एसएलसी पास गरिन्। पत्रकारिता र अंग्रेजी साहित्यकी विद्यार्थी आश्मा हाल स्नातक पढ्दैछिन्। कलेजमा पनि सधैं प्रथम हुन्छिन्।

आफ्नो योग्यतामा जोड दिँदै भनिन्, ‘हामीले छुट्टै पढ्ने हैन। समावेशी कक्षामा सबैसँग प्रतिस्पर्धा गरेरै टपर भएकी हुँ।’

कलेज पढ्न थालेदेखि नै आत्मनिर्भर बन्न निरन्तर केही न केही काम खोज्दै घरबाहिर सक्रिय बनिन्। छोरीको संगीतप्रतिको लगाव र सम्भावना देखेर आमाले घरमै हप्ताको एकपटक संगीत सिकाउने वातावरण बनाइदिइन्। संगीत सिक्नकै लागि चाँडै छुट्टी हुने कलेज खोजेको उनी बताउँछिन्।

पछि कलानिधि संगीत विद्यालयमा धनबहादुर गोपालीसँग शास्त्रीय संगीत सिकिन्। शास्त्रीय गायनमा छैठौं वर्षसम्म अध्ययन सकाएकी उनी हाल संगीत सिकाउन व्यस्त छिन्।

उनको ‘चरी बन्न पाए आहा कति जाती’ बालगीत रेकर्ड भएको थियो। संगीत उनको बुझाइमा अशान्त मनलाई शान्त पार्ने माध्यम हो।

‘संगीत एक्लोपनको साथी हो, पीडा बिर्साउँछ,’ छेउको हार्मोनियम आफूतिर तान्दै भनिन्, ‘शास्त्रीय राग मेरो स्वभावसँग मिल्ने संगीतजस्तो लाग्छ।’

अरूलाई सिकाउँदा-सिकाउँदै आफ्नो गीत रेकर्ड गर्ने रहर थाँती छ। धित मार्न बेलाबेला मञ्चहरूमा राग प्रस्तुत गरिरहेकी हुन्छिन्। ‘ओशो फ्रेग्रेन्स’ यस्तै एउटा ठाउँ हो।

ओशो विचारबाट सानै उमेरमा प्रभावित उनको अध्यात्मतर्फ आकर्षणको पनि बेग्लै कथा छ।

सुनाइहालिन्, ‘दसैं बेला घरमा पशु काटिन्थ्यो। यस्तो चलन मनपरेन। विरक्त लागेपछि मासु खानु नपरोस् भनेर धार्मिक बहाना बनाएँ।’

यही बहानाले कलिलैमा धर्म र अध्यात्मप्रति रूचि जागेछ, जुन अझै कम भएको छैन। प्रणामी, वैष्णवी, हिन्दू, मुश्लिम, क्रिश्चियनलगायत सम्प्रदायका धेरै कुरा सुनेपछि ओशो विचारमा पुगेर अडिएकी हुन्। धेरैपटक ओशो फ्रेग्रेन्स बालुवाटार धाएकी उनले त्यहाँ प्रवचन सुन्नेबाहेक सांगीतिक प्रस्तुति दिएकी छन्। हरेक वर्ष दुई हप्ता चितवन, सौराहाको ओशो गंग्रोत्री धाममा सहभागी हुन्छिन्।

उनले गाउँदा मात्रै हैन बोल्दा पनि कति राम्रो स्वर भन्थे रे! कलेज पढ्नेताका नै उद्घोषण तालिम दिनेदेखि टेलिभिजनमा ‘टक शो’ समेत चलाइन्। साहित्यिक कार्यक्रमहरूमा कविता वाचन गरिरहने उनी चाकुपाटको क्लासिक ग्यालरीमा नियमित उद्घोषक हुन्।

आफूलाई ‘ज्याक अफ अल, मास्टर अफ नन’ भन्न रुचाउँछिन्। पत्रकारिताको समेत अलिअलि अनुभव सँगालेकी उनले लेखन प्रक्रियाका चुनौती झेलेकी छन्। अन्तर्वार्ता क्रममा पटकपटक सोधिरहिन्, ‘मेरो रूचि र अनुभव धेरै विषय र क्षेत्रमा छ। कुन पर्सपेक्टिभबाट स्टोरी लेख्नुहुन्छ, लौ?’

मान्छे एक, रूचि अनेक भनेझैं आश्माको संसार विशाल छ।

अरुको जीवनमा सहयोग पुग्ने कामलाई उनी रूचिभन्दा पनि जिम्मेवारी ठान्छिन्। शारीरिक वा मानसिक रुपमा विभिन्न समस्या भोग्नु परेका मानिसलाई सानै उमेरमा ‘अपांग छुइनँ’, ‘म सक्छु’ भन्ने महशुस गराउनु जरुरी हुन्छ भन्ने आश्माले आफ्नै भोगाइबाट बुझेकी थिइन्। यो बुझाइ अरूसँग बाँड्न चाहन्थिन्।

मनिषासँग निकट भएपछि सम्भव भएको शिविरको अनुभव सुनाइन्, ‘सहभागीका हात समातेर हार्मोनियममा राखिदिँदा, आमाबुबाको हातबाट मात्रै खाइरहेकालाई आफैं खाजा खाने अवसर जुटाउँदा, उनीहरूलाई फन पार्क घुमाउन पाउँदा कम्ता आनन्द आएन।’

आश्माले सहभागीको बाहिरी आवरण नदेखे पनि उनीहरूको भाव महशुस गरेकी छन्। अन्तर्मनबाटै ती भावमा खुसी र आशाको रङ लतपतिएको देखिरहेकी छन्।

उनका आँखाका नानी छिट्छिटो घुम्छन्।

‘नानीलाई बल गरेर अड्याएँ भने एक-दुई अक्षर पढ्न पनि सक्छु,’ उनले सुनाइन्, ‘तर यस्तो गर्दा आँखा दुख्ने र बचेको अल्पदृष्टि पनि गुम्न सक्छ।’

नानी घुम्ने कुरापछि आफ्नो दिमागमा उपन्यासको प्लट घुमिरहेको पनि बताइन्, ‘लेख्न सुरू गरिसकेँ। उपन्यास एउटा महिला पात्रको जीवनकथामा आधारित छ।’

सायद, आश्माको काल्पनिक-आख्यान संसारमा सबै कुरा स्पष्ट छ, झ्यार्र–झुर्र, किरमिर–झिरमिर नभएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *