प्रमुख समाचार

एनआरएनएको औचित्य सकिएकै हो त ?

एनआरएनएको सम्मेलनमा आएका केही अपि्रय समाचारलाई लिएर यस्तो सम्मेलन नेपालमा नगर्ने सुझाव धेरैले दिएको पाइयो । एनआरएनएले हरेक वर्ष ठूला क्षेत्रीय सम्मेलनहरू विभिन्न देशमा गर्दै आएको छ । ग्लोबल सम्मेलन पनि नेपाल बाहिर गर्न नसक्ने या नहुने भन्ने कुरै भएन ।

नेपालमा भन्दा विदेशमा सम्मेलन गर्दा खर्च सस्तो पनि पर्छ । जस्तो- बेलायतबाट यतिबेला इटाली या ग्रीस जान ५० डलरको टिकट काटे पुग्छ । तर, नेपाल आउन १५ सय डलरको टिकट चाहिन्छ ।

यस्तो सम्मेलन नेपालमै गर्न चाहनुको पछाडि असल नियत छ । नेपाल र नेपालीसँग यो अभियानलाई जोडी राख्न यस्तो सम्मेलन नेपालमै गर्ने सोच राखिएको हो । व्यवस्थापनको कमजोरीले नियतलाई छोप्नु राम्रो होइन ।

यो अधिवेशनमा विभिन्न देशबाट २६ सय प्रतिनिधि सहभागी छन् । बर्सेनी यो संख्या बढ्दो छ । तिनका परिवार र इष्टमित्र पनि सँगसँगै नेपाल आएका छन् । तिनलाई जोड्दा यो संख्या ५ हजारभन्दा बढी हुन्छ ।

छाला आफूजस्तै भएकाले हामीलाई यी गैरपर्यटक या महत्वहीन लागेको हुन सक्छ । तर, २५ सय अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुने कार्यक्रम नेपालमा हुनु आफैंमा गौरवको विषय हो ।

यी डेलिगेट्सहरुसँगै लाखौं डलर देशमा भित्रिएको छ । सयौंले रोजगारी पाएका छन् । सानाठूला बिजनेसले ग्राहक पाएका छन् र नेपालले नेपाललाई माया गर्ने हजारौं प्रवासीहरूलाई एक ठाउँमा पाएको छ ।

यसबीच छलफल भएका साना-ठूला एजेन्डाहरू नेपालसँगै सम्बन्धित छन् । यसले नकारात्मक समाचार मात्रै उत्पादन गर्दैन, दर्जनौं देशमा नेपालको प्रवर्द्धन पनि गर्छ ।

फेसबुकमा विकृतिविरुद्ध बोल्नु भनेको देशलाई घृणा गर्नु होइन । माया लागेर विकृति विरुद्ध बोल्ने हो । रुवाण्डाको विकृतिविरुद्ध को बोल्छ र ?

एनआरएनएका सबै डेलिगेट्स विदेशी नागरिकता लिएका मात्रै पनि छैनन् । लाखौं एनआरएनए सदस्यहरू विदेशमा श्रम बेचेर पसिना नेपाल पठाउनेहरू छन् । अहिले आˆनै सम्मेलनमा भएका कमजोरीविरुद्ध पनि ती आफैं बोलेका छन् ।

देश भनेको नेता र विकृतिलाई ढाकछोप गर्नेहरूको मात्रै होइन, तिनको भ्रष्टाचार र अकर्मण्यताप्रति असन्तुष्टि पोख्नेहरूको पनि हो । अहिले पनि देश यही पसीना बगाउनेहरूले पठाएको रेमिटेन्सबाट धानिएको छ ।

अहिलेको व्यापार घाटा देशको बजेटभन्दा ठूलो छ । गत आर्थिक वर्षमा १३ खर्ब १५ अर्बको संघीय बजेट थियो । तर, व्यापार घाटा १३ खर्ब २१ अर्बभन्दा बढी रहेको भन्सार विभागको तथ्याङ्क छ । यसले देशको वैदेशिक मुद्रा सञ्चिति संकटमा छ ।

देशमा भित्रिनेभन्दा बाहिरिने वैदेशिक मुद्रा धेरै भएपछि शोधनान्तर घाटा पनि बढिरहेको छ । अनेक प्रयासका बाबजुद पनि निर्यात बढ्न सकेको छैन । तत्काल निर्यात बढाउन र यो घाटा पूर्ति गर्न सम्भव पनि देखिन्न । यसका लागि कम्तिमा दशक लाग्न सक्छ ।

त्यतिञ्जेलका लागि देश चलाउने भनेको वैदेशिक लगानी, रेमिटेन्स, वैदेशिक ऋण, अनुदान, पर्यटन र सेवाको विक्रीले नै हो । ठूला-ठूला लगानी सम्मेलनले समेत वर्षको ८/१० खर्ब लगानीको प्रतिवद्धता हासिल गर्न सकेको छैन । हरेक वर्ष १३ खर्ब रुपैयाँ ऋण या अनुदान लिन सकिने कुरो पनि भएन । पर्यटनका सूचक पनि आशा गरिएजस्तो छैन । ग्लोबलाइजेशनका कारण नेपाल आउने पर्यटकभन्दा नेपालबाट बाहिर घुम्न जाने पर्यटक धेरै छन् । आन्तरिक पर्यटनको क्षेत्रमा खास काम हुन नसकेकाले बाहिर घुम्न जानेहरूको संख्या बढ्दो छ । यस्तोमा रेमिटेन्सको तत्काल अर्को विकल्प छैन । यसले कम्तिमा ८ खर्बको योगदान गरिरहेको छ । र, यो सबै समूहलाई एनआरएनएले संगठित गरिरहेको छ ।

हामी भिजिट नेपाल २०२० मनाउँदैछौं र हाम्रो उद्देश्य २० लाख पर्यटक भित्र्याउने छ । राज्यले यसको प्रवर्धनमा ठूलो खर्च गरेको पनि छ । सस्तो र सुलभ हवाइ कनेक्शन, पर्यटकीय गन्तव्य र आकर्षणको विविधीकरण र मुख्य शहरबाहिर पूर्वाधारको विकास लगायतका काम हुन नसकेकाले पर्याप्त बाहृय पर्यटक भित्र्याउन गाह्रो छ ।

युरोप, अमेरिका र अस्ट्रेलियामा मात्रै झन्डै १५ लाख नेपालीको संख्या पुगेको अनुमान छ । तिनलाई नेपालसँग जोडी राख्ने हो भने ती कम्तिमा वर्षको एकपल्ट दशैं मनाउन नेपाल आउँछन् । ती भोलिका स्थायी र नियमित पर्यटक पनि हुन् । तिनका सन्तानसम्म नेपाल जोडिने हो भने कम्तिमा ४०/५० लाख नियमित पर्यटक देशले पाउन सक्छ ।

एनआरएनए संस्थाले तत्काल देशलाई फाइदा होला या नहोला, तर यो संस्थाबाट देशलाई कुनै घाटा छैन । यो युग नेटवर्ककै हो । पचासौं देशसम्म फैलिएको यति ठूलो नेटवर्क बचाउन सकियो भने मात्रै पनि कुनै न कुनै बेला उपयोगी बन्न सक्छ
हरेक एनआरएनले प्रत्यक्ष या अप्रत्यक्ष, सानो ठूलो लगानी गर्दै आएको छ । संस्थागतरूपमा त्यसलाई व्यवस्थित गर्ने नारा हालसम्म कार्यान्वयन हुन नसके पनि त्यसको सम्भावना दिनप्रतिदिन मजबूत बन्दै गएको छ । यति ठूलो डायस्पोरालाई संगठित गर्ने एउटा मात्र संस्था एनआरएनए नै हो ।

पचासौं देशमा फैलिएको एउटा नेटवर्क आफैंमा ठूलो पहुँच हो देशका लागि । विगतको महाभूकम्पलगत्तै विश्वभरका नेपालीहरू यो नेटवर्क प्रयोग गरेर अरबौंको उद्धार, राहत र पुनर्निर्माण कार्यमा सहभागी भएको उदाहरण हामीसँग छ ।

नाकाबन्दीको विरोधमा लण्डनदेखि पेरिससम्म र न्यूयोर्कदेखि दिल्लीसम्मका अन्तरराष्ट्रिय नियोगमा हजारौं एनआरएनहरू नेपाली झण्डा बोकेर विरोध प्रदर्शन गर्न पुगेका थिए । भोलि पनि अन्तर्राष्ट्रिय समुदायसँग नीति निर्माणदेखि राष्ट्रिय हितका सवालमा यसले संगठित आवाज दिन सक्छ ।

नेपाल बाहिर नेपाल बचाउने सन्दर्भमा त यसको भूमिका भोलिका दिनमा अपरिहार्य हुने देखिन्छ ।

व्यवस्थापन र हाम्रो व्यवहारमा सयौं गल्ती होलान् र छन् । हरेक संस्थाभित्र विकृतिहरू हुन्छन् नै । केही उद्दण्ड सहभागीहरूले अमर्यादित व्यवहार देखाएका पनि होलान् । समयतालिका अनुसार गतिविधि सञ्चालन नहुँदा सहभागीमा असन्तुष्टि देखिएको र केही उत्तेजित बनेको पनि सत्य हो । तर, एनआरएनएको समग्र अनुहार यत्ति होइन ।

एनआरएनए संस्थाले तत्काल देशलाई फाइदा होला या नहोला, तर यो संस्थाबाट देशलाई कुनै घाटा छैन । यो युग नेटवर्ककै हो । पचासौं देशसम्म फैलिएको यति ठूलो नेटवर्क बचाउन सकियो भने मात्रै पनि कुनै न कुनै बेला उपयोगी बन्न सक्छ ।

जसरी आगो लागेपछि इनार खन्न सकिन्न, ठ्याक्कै परेका बेलामा तत्काल यत्रो नेटवर्क बनाउन सकिन्न नै ।

(लेखक गाउँले एनआरएनए युकेका निवर्तमान सचिव हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *