काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संस्थाको निर्वाचन अब नेपालमा नगर्ने बताएका छन्। नवौँ सम्मेलन तथा निर्वाचन कार्यक्रमका क्रममा एनआरएनएका सदस्यको अभद्र व्यवहा र भद्रगोल गतिविधिको तीव्र आलोचना भएपछि पन्तले यस्तो बताएका हुन्
कोठा-कोठमा आएर राजनीति गर्ने प्रयास गरिएपछि नेपालमा अबदेखि निर्वाचन कार्यक्रम नगर्ने अवस्थामा पुगेको उनको भनाइ थियो। ‘संस्थामा अनावश्यक राजनीतिकरण गर्न खोजियो। सम्मेलनका बेला होटलका कोठा-कोठामा नेताहरू ल्याएर छलफल भए,’ विजयी पछि पत्रकारलाई प्रतिक्रिया दिँदै पन्तले भने, ‘अबदेखि काठमाडौंमा निर्वाचन कार्यक्रम गर्दैनौं। बरु अनलाइन भोटिङ गर्छौं। प्रतिनिधिले मात्रै नभइ साधारण सदस्यले नै भोट गर्न पाउने व्यवस्था गर्छौं।’
उनले श्रमिक कल्याणकारी कोषको रकम वृद्धि गरिने पनि जानकारी दिएका छन्। दक्ष कामदार उत्पादनका लागि सरकारलाई सहयोग गर्ने पनि उनले बताए। काठमाडौंमा भएको नवौं सम्मेलनबाट अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतले पराजित गर्दै २ वर्षे कार्यकालका लागि पन्त विजयी भएका हुन्।