खेलकुद

विश्वकप छनोटः सनसनीपूर्ण अन्तिम ओभरमा ३ विकेट लिँदै सिंगापुरले स्कटल्याण्डलाई हरायो

काठमाडौं। २०२० मा अस्ट्रेलियामा हुने टि–२० विश्वकप छनोटको पहिलो खेलमा सिंगापुरले स्कटल्याण्डलाई हराउँदै विजयी सुरुवात गरेको छ । तुलनात्मक रुपमा बलियो टिम स्कटल्याण्डलाई सनसनीपूर्ण रुपमा अन्तिम ओभरमा रोक्दै सिंगापुरले २ रनको रोमाञ्चक जीत हात पारेको हो । खेल अन्तिम ओभरमा पुग्दासम्म पनि स्कटल्याण्डकै पक्षमा देखिएको थियो तर अन्तिम ओभरमा सिंगापुरले खेल उल्ट्याउँदै जीत आफ्नो पक्षमा पारेको हो ।

सिंगापुरले दिएको १६९ रनको लक्ष्य पच्छ्याएको स्कटल्याण्डले अन्तिम ओभर बाँकी रहँदा ६ विकेटको क्षतिमा १६१ रन जुटाइसकेको थियो र अन्तिम ६ बलमा उसलाई मात्रै ८ रन चाहिएको थियो । तर अन्तिम ओभरमा स्कटल्याण्डले थप ३ विकेट गुमायो र मात्रै ५ रन जोड्न सक्यो । अन्तिम ओभर सुरु हुँदा स्कटल्याण्डका सेट भइसकेका ब्याट्सम्यान क्यालम म्याकल्योड क्रिजमै थिए तर स्ट्राइकमा भने बलर सफ्याँ शरीफ थिए ।

शरीफले पहिलो बलमा कुनै रन लिन सकेनन् तर दोस्रो बलमा भने १ रन लिँदै स्ट्राइक कोट्जसलाई दिए । अब स्कटल्याण्डलाई ४ बलमा ७ रन चाहिएको थियो र स्ट्राइकमा सेट भइसकेका ब्याट्सम्यान म्याकल्योड थिए । म्याकल्योडले ठूलो सट खेलेर स्कटल्याण्डलाई जिताउने आशा थियो तर सिंगापुरका बलर अमजद महबुबले म्याकल्योडलाई टिम डेभिडको हातबाट क्याच आउट गराउँदै सिंगापुरलाई खेलमा फर्काए ।

ओभरको चौथो बलमा सफ्याँ शरीफले २ रन लिए तर पाँचौं बलमा अमजदले उनलाई पनि टिम डेभिडकै हातबाट क्याच आउट गराएर सिंगापुरलाई झनै बलियो स्थितिमा पुर्याए । अन्तिम बलमा जोश दवे स्ट्राइकमा थिए । स्कटल्याण्डलाई ५ रन चाहिएको थियो तर दवेले २ रन मात्र बनाउन सके । तेस्रो रन लिनका लागि दौडिने क्रममा अर्को इण्डका अलास्डर इभान्स रनआउट भएपछि अन्ततः सिंगापुरले २ रनले खेल जित्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सिंगापुरले पहिलो इनिङमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । ओपनर रोहन रंगराजन र ३ नम्बरमा ब्याटिङ गर्न आएका टिम डेभिड सस्तैमा आउट भएपछि सिंगापुरलाई ओपनर सुरेन्द्रन चन्द्रमोहन ४ नम्बर ब्याट्सम्यान अरित्रा दत्ताले सम्हालेका थिए । ७ रनको स्कोरमै २ विकेट गुमाइसकेको सिंगापुरलाई उनीहरुले तेस्रो विकेट गुमाउँदासम्म ५१ रनको स्कोरमा पुर्याए ।

दत्ता ३२ रनको स्कोरमा आउट भएपछि आएका मनप्रित सिंहले चन्द्रमोहनसँग मिलेर स्कोर १२९ रन पुर्याए । चन्द्रमोहनले ५१ रन बनाए भने सिंहले २६ रन बनाए । जनक प्रकाशले २० र नवीन परमले १३ रन बनाए । सिंगापुरका लागि जोश दवे र सफ्याँ शरीफले २–२ विकेट लिए । अलास्डर इभान्स र हम्जा ताहिरले १–१ विकेट लिए ।

१६९ रनको लक्ष्य पच्छ्याएको स्कटल्याण्डले बलियो सुरुवात गरेको थियो । ओपनर जर्ज मुन्सीले २५ बलमै ४६ रनको तुफानी इनिङ खेलेका थिए । कप्तान केल कोट्जर र मुन्सीले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । मुन्सी आउट भएपछि आएका ओली हरिसले कप्तान कोट्जरसँग मिलेर टिमको स्कोर ८७ पुर्याए । उनले व्यक्तिगत १४ रनको योगदान गरे । ४ नम्बरमा आएका म्याकल्योडले कप्तान कोट्जरसँग मिलेर ३ विकेटको क्षतिमा १११ रन बनाए ।

कप्तान कोट्जर आउट भएपछि आएका टम सोलले १० रनको योगदान गरे पनि अन्य ब्याट्सम्यान चल्न नसक्दा म्याकल्योड एक्लै परे । अन्तिम ओभरसम्म खेलेका म्याकल्योडले ४४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । सिंगापुरका लागि सेल्लाडोर विजयकुमारले ३ विकेट लिए । सिद्धान्त सिंह र अम्जद महमुदले २–२ विकेट लिए । २ विकेट रनआउटको रुपमा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *