प्रमुख समाचार

ताताेपानीभन्दा रसुवागढी-केरुङ नाका प्राथमिकतामा, सुरुङ मार्ग बनेपछि बाह्रै महिना सञ्चालन हुने

काठमाण्डाै – तीन तर्फबाट भारतको सीमा जोडिएको नेपालको उत्तरी क्षेत्र भने चीनसँग जोडिएको छ । छिमेकी चीनसँगको सीमा सम्पर्क पूर्वको ताप्लेजुङदेखि सुदूर पश्चिमको दार्चुलासम्मको झण्डै १ हजार १ सय ५० किलोमिटर लम्बाइ फैलिएको छ ।

यसमध्ये अधिकांश सीमा क्षेत्र हिमालले छुट्याइदिएको छ । जसमा २६ भञ्ज्याङ र १ दर्जन बैकल्पिक नाका चीनसँग जोडिएका छन् । तातोपानी, केरुङ र कोरला मुख्य नाकाको रुपमा प्रयोगमा रहे पनि अन्य नाका तथा भञ्ज्याङहरु भने प्रयोग विहिन जस्तै छन् ।

दार्चुलाको तिङ्कर भञ्ज्याङ, हुम्लाको लाप्चे, मुगको नाम्ला, संखुवासभाको राग्ला लगायत उत्तरतर्फ सीमा जोडिएका ११ जिल्लाका २६ वटा भञ्ज्याङ सामरिक हिसाबले ज्यादै महत्वपूर्ण र संवेदनशील छ ।

यसै गरी हुम्लाको हिल्सा, संखुवासभाको किमाथांका, बझाङको उरै र राइढुङगा, हुम्लाको चुवा, टाँके र लिमी, मुगुको नाक्चा, दोलखाको लामाबगरलगायतका नाकामा नेपालतर्फ पूर्वाधार विकास भएको छैन । पूर्वाधार अभावकै कारण यी नाकाहरु तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको पाइएको छ ।

२६ भञ्ज्याङ र १ दर्जन वैकल्पिक नाका रहँद रहँदै पनि चीनसँगको आवतजावत भने सहज छैन । गएको जेठमा मात्रै तातोपानी नाका सञ्चालनमा आएको छ । भूकम्पका कारण बन्द रहेको यो नाका झण्डै ४ वर्षपछि सञ्चालनमा ल्याइएको हो ।

तातोपानी नाकाभन्दा हिल्सा, कोरला, स‌ंखुवासभाको किमाथांका र रसुवागढी–केरुङ नाका चीनसँग आवतजावतका लागि बढी सहज रहेको सडक विभाग बताउँछ । त्यसैले पछिल्लो समय चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका बेला पनि चिनियाँ पक्षले रसुवागढी-केरुङ नाका सञ्चालनका लागि बढी प्राथमिकता दियो ।चीनले काठमाण्डौबाट सहज रुपमा रसुवागढ-–केरुङ नाका पुग्नका लागि सुरुङ मार्ग नै बनाइदिने सहमति गरेको छ ।

जसमध्ये काठमाण्डौ-केरूङ सडकको टोखा-छहरे र बेत्रावती–स्याफ्रुबेसी सुरूङ मार्ग बनाउने सहमति भएको हो । सहमतिसँगै अब सम्भाव्यता अध्ययनको तयारी गरिएको सडक विभागले जनाएको छ ।

टोखा-छहरे ४ किलोमिटर सुरुङ मार्गको अहिले अध्ययन भइरहेको हो । यो सुरुङ मार्गले काठमाण्डौको टोखा र नुवाकोटको छहरेलाई जोड्ने काम गर्छ । अहिले छहरे पुग्नु परे गल्छी पुगेर नुवाकोट प्रवेश गर्दै घुमाउरो बाटो जानु पर्छ ।

सुरुङ मार्ग बनेपछि भने झण्डै २ गुणाले सडक छोटो बन्ने सडक विभागको अध्ययनले देखाएको छ । चार किलोमिटर सुरुङ मार्गको अहिले अध्ययन भइरहे पनि त्यसलाई बढाएर ८ किलोमिटर बनाउने विषयमा अध्ययन अघि बढाउने कि भन्ने विषयमा पनि छलफल भइरहेको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो ।

यस्तै काठमाण्डौ-रसुवागढी-केरुङ मार्गको दोस्रो खण्डमा बन्ने सुरुङ मार्गले बेत्रावती र स्याफ्रुबेसी जोड्ने छ । दोस्रो खण्डको बेत्रावती-स्याफ्रुबेसी सुरूङ मार्ग झण्डै १७ देखि २४ किलोमिटरसम्म लामो हुन सक्ने अध्ययनले देखाएको छ । तर यकिन नै भइसकेको भने छैन ।

प्रारम्भिक अध्ययन भए पनि सम्भाव्यता अध्ययन बल्ल हुने भएकाले यसपछि मात्रै लम्बाइको टुंगो लाग्ने सापकोटाले बताउनुभयो । दुवै सुरुङ निर्माण भएसँगै काठमाण्डौ चीनबीचको दूरी छोटिने छ । अहिलेको तातोपानी नाकाभन्दा सहज रुपमा नै आवतजावत गर्न सकिने र छोटो पनि हुने भएकाले यो सडक चीनको प्राथमिकतामा परेको हो ।

तातोपानी नाकाबाट नेपालतर्फको बाटो साँघुरो रहँदा ढुवानी सहज नभइरहेका बेला सुरुङ मार्ग बनाउँदै बाटो फराकिलो पारेर छोटो र ढुवानी सहज बनाउन यो मार्ग तयार पार्न लागिएको हो ।

चीनले पनि केरुङ नाका जोड्न आफ्नोतर्फ फराकिलो सडक बनाइरहेको छ । कोरला नाका जोड्नसमेत उसले आफ्नो तर्फ २० किलोमिटर सडक बनाइसकेको छ । यसले तातोपानी नाकाभन्दा सहज केरुङ र कोरला नाका नै हुने देखिएको हो ।

यसअघि चिनियाँ पक्षले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाङचुङ्गोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाका खोल्न सकिनेसमेत बताउँदै आएको थियो ।

नेपाल सरकार र चिनियाँ पक्षबीच भएको सहमतिअनुसार अब छिट्टै सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउने गरी विभागले छलफल अघि बढाएको छ ।

पछिल्लो पटकको भ्रमणबाट चिनियाँ पक्ष जतिसक्दो छिटो यो सडकमार्ग बनाउन अग्रसर देखिएकाले छिट्टै काम सकिनेमा विभाग पनि विश्वस्त देखिएको छ ।अहिले यो सडक वर्षा याममा पहिरो लगायत विभिन्न कारणले बेला बेला अवरुद्ध भइरहने गरेको छ ।

सडक राम्रो नहुँदा यो नाका हुँदै हुने आयात निर्यात पनि निकै कम रहेको छ । तर अब यो सुरुङ मार्ग बने पहिरोका कारण अवरुद्ध भइरहने समस्या समाधान हुने छ भने आयात निर्यात पनि बढ्ने छ ।

सुरुङ मार्ग निर्माण सकिएपछि बाह्रै महिना यो सडक सञ्चालनमा आउने भएकाले जतिसक्दो छिटो यो सडक निर्माण गर्ने गरि काम अघि बढाइने प्रवक्ता सापकोटाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *