खेलकुद

त्यो ‘खैरो’ कपाल !

काठमाडौं ।६० को दशकमा नेपाली फुटबलमा खैरो कपालमा देखिने खेलाडी निकै चर्चित थियो ।थ्री स्टार क्लबबाट देखिने त्यो अनुहार गोल गर्न र बल खेलाउन निकै परिपक्क देखिन्थ्यो ।फरवार्ड उसको पोजिसन थियो । मैदानमा चितुवा जसरी खुट्टा फालेर दौडन उ माहिर मानिन्थ्यो ।

सामर्थक उसको खेल हेर्न लालायित हुन्थे । विपक्षी उसलाई झेल्न परिसा काट्थे ।प्रशिक्षकहरु आफ्नो रणनीति अनुसार उसलाई खेलाउन लोभ पाल्थे ।खेल कौशल र गोलको उद्भुत क्षमताका आधारमा उसलाई धेरैले गोल मेसिनको उपनाम दिएका थिए ।उनी अरु कोही नभएर, सुरेन्द्र तामाङ थिए ।सुरुवात

२०३७ सालमा उनी ईटहरीमा जन्मिए । स्थानीय जनता मैदानबाट उनले फुटबल खेल्न सुरु गरे । सानैबाट फुटबलमा रुचि राख्ने उनी काकाहरु संगै फुटबल खेल्न जान्थे ।त्यो समय फुटबल सिक्ने राम्रो वातावरण थिएन । न प्रशिक्षक थिए, न फुटबल खेल्ने अवस्था ।

तर दैनिक जसो काकाहरु संग मैदान गरेर फुटबल खेल्नु उनको दिनचार्य थियो ।हिलाम्मे हुने मैदानमा उनले दौडन र फुटबल हान्न सिके । समय बित्दै जाँदा उनले स्थानीय जाग्रिति क्लवबाट फुटबल खेल्ने अवसर पाए ।सिनियर र स्थानीय क्षेत्रमा चलेका अनुहारसंग फुटबल खेल्न पाउँदा सुरेन्द्र हौसिन्थे ।

स्थानीय प्रतियोगिता खेल्दा उद्घोषक सुरेन्द्रको जर्सी नम्बर र नाम फुक्ने गर्थे ।आफ्नो नाम सुन्दा सुरेन्द्रका रौँ ठाडो भएर आउथ्यो । माईकमा घन्किएको नाम सुनेर उनले धेरै पटक गहभरी आँशु पोखेका छन् ।व्यवसायीक उडान

सुरेन्द्र सुनसरीबाट एन्फाको यू–१६ टिममा परे । उनको फुटबल करियरले त्यहीबाट कोल्टे फेरेको हो ।यू–१६ बाट उनी उत्कृष्ट सय जनामा पर्न सफल भए । अब उनी काठमाडौं छिर्ने भए । उनको खुसीले फुरुङ्ग भएका थिए । उनको सपनाको उडान भर्न सुरु गरेको थियो ।

तर, उनको खुसी लामो समय टिकेन । उनले छनोटको दौरान चोट बोके । केही महिना फुटबलबाट टाढा हुन पर्ने भो । उनी निराश हुदै ईटहरी फर्किए ।तर, सुरेन्द्रको खेलबाट उमेर समूह समेत हेरिरहेका प्रशिक्षक स्टेफन कन्स्टईन प्रभावित थिए ।

उनले थ्री स्टार क्लबका ललितकृष्ण श्रेष्ठलाई सुरेन्द्रलाई अनुबन्धन गर्न सुझाए । केही समयमा सुरेन्द्रलाई थ्री स्टारको निम्तो आयो । उनी पुन काठमाडौं आउने भए ।

२०५७ सालमा उनी थ्री स्टारसंग जोडिन पुगे ।‘थ्री स्टारमा आबद्व हुनु सपनाको ठुलो खुड्किलो पार गर्नु थियो । सामान्य क्लबबाट फुटबल खेल्ने कुरा कल्पना थियो । तर थ्री स्टारबाट फुटबल खेल्न पाउदा सबैभन्दा ठुलो खुशी मिल्यो ।’ सुरेन्द्र सम्झिन्छन् ।

उनी थ्री स्टारमा पुग्दा दिपक अमात्य क्लबका कप्तान थिए । सुरेन्द्रले पहिलो खेलमै दुई गोल गरे ।
सुरुमै प्रभाव छाडेपछि उनले धेरै संघर्ष गर्नै परेन ।

२०६०–६१ सालमा उनी करियरकै राम्रो लयमा थिए । उनले त्यस समय थ्री स्टारलाई लिग सहित धेरै उपाधि जिताए । उनले थ्री स्टारबाट प्राय अधिकांश खेलमा गोल गर्न सफल भएका छन् ।‘कुनै खेलमा गोल गर्न ढिला भए समर्थकहरु खैरो कपाल भनेर जिस्काउँथे । त्यो समय अझ राम्रो खेल्न प्रेरणा मिल्थ्यो ।’

मैदानको जिरो एङ्गलबाट गोल गर्ने बिशेष खुबी सुरेन्द्रको थियो । थ्री स्टारबाटै उनले चर्चा कमाए । शीर्ष स्तरको फुटबलको अनुभव बटुले । आफ्नो खेल कौशलको दायरालाई राष्ट्रिय पहिचान दिन सफल भए । क्लबमा गरेको प्रर्दशनकै आधारमा सुरेन्द्रले २०५९ सालमा राष्ट्रिय टिमबाट डेब्यु गर्ने मौका पाएका थिए ।

सुरेन्द्रले करिब पाँच बर्ष थ्री स्टारको कप्तानी भूमीका निर्वाह गरे । उनले ए डिभिजन लिगमा ५० गोलको आँकडा पार गरे । घरेलु फुटबलमा ५० गोलको आँकडा पार गर्ने उनी औलामा गन्न सकिने फुटबलर हुन् ।करिब १० बर्ष उनी थ्री स्टारबाट खेले । फ्रेन्ड्स अनि सरस्वतीबाट पनि केही बर्ष खेले ।

उनको राष्ट्रिय टिमको यात्रा भने सम्झन लायक रहेन । झण्डै ६ बर्ष राष्ट्रिय टिममा रहेपनि उनले क्लबमा जस्तो सफलता पाउन सकेनन् । उनले राष्ट्रिय टिमबाट सन् २००३ देखि २००८ सम्म खेल्ने मौका पाए ।

‘सुरेन्द्र मैदानमा उत्रिएपछि पुरै समर्पण भावले खेल्थे । मैदानमा जिरो एङ्गलबाट गोल गर्न खप्पिस उनी त्यस समयको सफल फरवार्ड हुन्।’ थ्री स्टारका महासचिव तथा फुटबल विश्लेषक सञ्जिव शिल्पकार सुरेन्द्रबारे भन्छन् ।

‘उनी एकदमै प्रभावशाली फरवार्ड थिए । जिरो एङ्गलबाट गोल हामीले अन्तराष्ट्रिय फुटबलमा विरलै देखेका छौ । तर उनले सहजै गोल गरेको धेरैपटक देखेको छु । उनी थ्री स्टारका सफल कप्तान मध्यका एक हुन् ।’ शिल्पकार थप्छन् ।

त्यो चोट !घरेलु फुटबलको तालिका अनिश्चित थियो । राष्ट्रिय टिमको प्रशिक्षणको टुङ्गो लाग्न बाँकी थियो । सुरेन्द्र घरमै छुट्टी मनाईरहेका थिए । काठमाडौं निस्कन केही समयमात्र बाँकी थियो । सिक्किमबाट फुटबल खेल्ने निम्तो आयो । धेरै नसोचेर उनी फुटबल खेल्न सिक्किम हानिए ।

त्यही यात्रा सुरेन्द्रको जिवनको अभिशाप बन्यो । उनी सवारी दुर्घटनामा परे । उनको खुट्टा भाँचियो । सुरेन्द्रले एक वर्ष आराम गरे । फेरी उनी अब मैदान फर्कने भए । तर समय फेरिसकेको थियो ।

उनले पुन: आफुलाई प्रमाणित गर्नुपर्ने समय आयो । उनले हरेश खाएनन् ।राष्ट्रिय टिमका लागि उनले पुन क्लब फुटबलमा जोड दिए । उनले ७० सालमा बुढासुब्बा र तिलोत्तमा गोल्डकप समेत खेले । प्रर्दशनबाट प्रभावित तत्कालिन फुटबल नेतृत्वले उनलाई धेरै पटक स्याब्बासी दियो । तर कहिल्यै टिममा स्थान दिन उचित ठानेन ।

राष्ट्रिय टिममा फर्कने उनको सपना सपनामै सिमित बन्यो । त्यही समयबाट त्यो खैरो कपालको ७ नम्बरको जर्सी मैदानबाट बिदा हुने निर्णय लिन पुग्यो ।बिभिन्न आरोह अवरोहकाबीच सुरेन्द्रले झण्डै १८ वर्ष फुटबलमा बिताए ।तर, उनको मन सन्तुष्ट भने छैन । उनको एउटै गुनासो छ, ‘१८ वर्ष फुटबलमा योगदान गर्दा स्याब्बास बाहेक केही पाईएन ।’

‘आफु त खुसी हुन सकिएन । अरु खेलाडी हेर्यो, अवस्था उस्तै छ ।’ सुरेन्द्र भन्छन्, ‘नयाँ, पुराना सबै खेलाडीको व्यथा उस्तै छ । फुटबल खेल्दा र सक्ने हुँदा मात्रै रहेछ । नसक्ने भएपछि फोहोर जस्तो मिल्काएको फालेको भान हुन्छ । फुटबलले गुनासो बाहेक अरु केही दिएको भेट्दिन ।’

फुटबलमा नेतृत्व परिवर्तन भयो । एन्फालाई नयाँ नेतृत्वबाट निकै आश थियो । फुटबलले गति लिने विश्वास उनले गरेका थिए । स्वभाविक लयमा फुटबल देखिन्छ भन्ने लागेको थियो ।

उनले नयाँ नेतृत्वका लागि सहयोग पनि गरेका थिए । तर परिवर्तनका पक्षधर दाबी गर्नेनै एन्फालाई राजनीतिक आस्थाका आधारमा भर्तिकेन्द्रको रुपमा स्थापित गर्न थाले । सुरेन्द्रको मन कुँडिएको छ । नयाँ अनुहार नेतृत्वमा आएपनि फुटबल उस्तै लथालिंगनै रहेको उनको अनुवभ छ ।

फुटबलमै केही गर्ने सोच बनाएका सुरेन्द्रले प्रशिक्षकको लाईसेन्स समेत लिएका छन् । तर धेरै पटक प्रयास गर्दा समेत उनले कुनै जिम्मेवारी पाउन सकेनन् ।एन्फाले राष्ट्रिय र अन्तराष्ट्रिय खेलको अनुभव नभएका केही प्रशिक्षकलाई महत्वपुर्ण जिम्मेवारी दिएको गुनासो सुरेन्द्रको छ ।

‘कतिपय खेलको अनुभव नहुँदा नहुँदै ३–३ वटासम्म जिम्मेवारी पाएका छन् ।’ एन्फासँग आक्रोसित हुँदै उनी भन्छन्, ‘जिल्ला देखि प्रदेशसम्म र केन्द्रीय स्तरमा पनि फुटबलको गतिबिधि शुन्य जस्तो छ । प्रशिक्षकको लाईसेन्स लिएका अनुभवी र सम्भावना बोकेका पूर्व खेलाडी काम विहिन छन् । तर केही गरौँ भन्नेहरु अझै रित्तो हात पुराना दिन सम्झिएर बस्न परेको छ ।’

जीवनको उर्जाशिल समय खेलाडीको रुपमा बिताएका सुरेन्द्र बाँकी जीवन प्रशिक्षकको रुपमा आफ्ना सिप बाँड्न चाहन्छन् । तर उचित जिम्मेवारी दिने कसले ? उनको फुटबलका नेतृत्वकर्तासंग प्रश्न छ ।
फुटबलको आकर्षण बढ्दो छ तर राज्यले फुटबललाई हेर्ने नजर नबदलिएको सुरेन्द्रको बुझाई छ ।

‘फुटबल खेल्दा पनि पर्याप्त पैसा हुँदैन । खेल्न छाडेपछि झन रिक्तो भएर हिँड्नुपर्छ । सोही कारण फुटबलमा भन्दा खेलाडीको ध्यान अन्यत्र गएको छ ।’ उनी भन्छन् ।

एन्फाले मापदण्ड बनाएर अनुभवी पुर्व खेलाडीलाई जिम्मेवार दिदाँ खेलाडी उत्पादनदेखि नतिजामा धेरै फरक पर्ने उनी बताउँछन् । उनले खेलाडीको क्षमता र पोजिसन अनुसार प्रशिक्षणको व्यवस्था गर्नुपर्ने उल्लेख गर्छन् ।‘नेपाली फुटबलमा अहिले गोलकिपर प्रशिक्षक जस्तै स्ट्राईकर, मिडफिल्ड र डिफेन्डरलाई बेग्ला बेग्लै प्रशिक्षणको खाँचो छ ।’ उनी भन्छन् ।

उनको समयका धेरै खेलाडी पलायन भए । खेल्न छाडेपछि धेरैले दुख पाएका छन् । तर नयाँ पुस्ताका खेलाडीलाई त्यस्ता समस्या झेल्न दिन नहुने उनी बताउँछन् । फुटबलमा जिवन समर्पण गर्नेको भरथेग राज्यले गर्नुपर्ने सुरेन्द्रको भनाई छ ।

‘नेपाली फुटबल संस्कार र शैली बेगर लामो समय चल्यो । अब त्यस्ता दिनको अन्त्य गरौँ ।’ उनी थप्छन् ।उनी अहिले ईटहरीमा छन्, सामान्य जिवन निर्वाह गरिरहेका छन् । फुटबलमा दिएको योगदान वापत ६९ सालमा एन्फाले उनलाई रुपक स्मृति अवार्ड प्रदान गरेको थियो ।

‘मैले पनि फुटबल खेले है भन्ने सम्झना त्यो बाहेक जिवनमा अरु केही नहुने भयो ।’ उनी हाँस्दै भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *