स्वास्थ्य

जाडोयाममा देखिन सक्छन् चायाँपोतोदेखि क्यान्सरसम्मका रोग, यसरी जोगाऔँ छाला

काठमाडौं । जाडो महिना सुरु भएसँगै बाहिरी वातावरण सुख्खा हुन्छ । हावामा आद्रता कम हुन्छ । यसको प्रत्यक्ष असर हाम्रो बाहिरी आवरण अर्थात् छालामा पर्न जान्छ । छाला सुख्खा र फुस्रो हुन थाल्छ । छालाका लागि जाडो मौसम अनुकुल हुँदैन ।

चिसो मौसममा छालाको उचित हेरविचार नगरे विभिन्न समस्या आउन सक्ने काठमाडौं मेडिकल कलेजकी वरिष्ठ प्राध्यापक तथा वरिष्ठ छाला रोग विशेषज्ञ डा. सबिना भट्टराई बताउँछिन् ।

‘जाडो मौसममा हावामा आद्रता कम हुन्छ । पसिना आउँदैन शरीरमा । यस्तोमा हामीले छालाको स्याहार गरेनौँ भने छाला सुख्खा हुने, फुस्रो हुने, चमक नहुने, पत्रपत्र निस्कने, चिलाउने लगायत समस्याहरु देखा पर्न सक्छन्’, उनी भन्छिन् । जाडोमा शरीरमा मोइश्चराइजर क्रिम, लोसन, तेलको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ ।

जाडो मौसममा छालामा देखिने समस्या तथा रोगहरु

जाडोयामको मुख्य तथा धेरैको समस्या भनेको छालामा सुख्खापन नै हो । सुख्खापनको उपचार गरिएन भने छाला तथा अनुहारको चाउरीपना बढाउने, हात खुट्टा फुट्ने, छाला खुम्चिने समस्या देखा पर्ने डा. सविना बताउँछिन् ।

जाडोयाममा एलर्जी पनि हुने गर्छ धेरैलाई । छालाको रोगसँग लड्ने क्षमता इम्युनिटी पावरमा गढबढी भएमा एलर्जी हुन्छ । दाग धब्बा, चायाँ पोतो, सेतो दुवीको संक्रमण पनि यो मौसममा बढ्ने हुन्छ ।

यो मौसममा घाम पारिलो हुने तथा घाम बढी तापिने हुँदा क्यान्सर समेत देखिन सक्छ । घामको अल्ट्राभायोलेट किरणका कारण बेसल सेल क्यारिनोमा (बीसीसी) र स्क्वामस सेल क्यारिनोमा (एसीसी) क्यान्सर हुन सक्छ ।

एक्जिमा, सोरियासिस

जाडोमा यी रोगले अलि बढी नै सताउने हुन्छ । यसका बिरामीलाई एकदमै चिल्लोको आवश्यकता पर्छ । नरिवलको तेल, जैतुनको तेलहरु पनि लगाउँदा हुन्छ । जसरी हुन्छ, छाला सुख्खा राख्नै हुँदैन यस्ता बिरामीले ।

प्रायः गरेर उमेर गएका बुढा मान्छेहरुको छाला यसै पनि सुख्खा हुन्छ । त्यस्तो मानिसहरुका लागि जाडोमा विशेषगरी हेभ्भी थिकवाला मोइश्चराईजर प्रयोग गर्नुपर्छ । धेरै सुख्खा भयो भने चिलाउने, घाउ हुने, पाक्ने सम्भावना हुन्छ ।

छालाको समस्याबाट कसरी बच्ने ?

छालाको स्याहार गर्दा सर्वप्रथम आफ्नो छालाको प्रकार हेरी मोइश्चराइजिङ क्रिम लगाउनुपर्छ । कसैको ओइली स्किन हुन्छ भने कसैको ड्राइ। ड्राइ स्किन भएकाहरुले बाक्लो, तेल बढी भएको मोइश्चराइजर क्रिम प्रयोग गर्नुपर्छ ।

जसको ओइली स्किन हुन्छ, उसले मोइश्चराइजर पानी र तेलको मात्रामा पानीको मात्रा तेल भन्दा बढी भएको अर्थात लोसन प्रयोग गर्नुपर्छ। एकदमै धेरै ओइली फेस हुनेले जेल बेस मोइश्चराईजर प्रयोग गर्नु उचित हुन्छ । यो एकदमै लाइट खालको हुन्छ, चिपचिप नआउने । छालको प्रकार हेरेर मोइश्चराईजर मुखको लागि पनि प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यस्तै धरै तातो पानीले नुहाउने गर्नु हुँदैन । नुहाइसकेपछि पनि धेरै सुख्खा गरेर नपुछ्ने । पानी अलि अलि रहँदै शरीरभरी नै मोइश्चराईजर लगाउने । किनकी शरीर सुख्खा भयो भने चिलाउने हुन्छ ।

अनुहारलाई यसरी जोगाऔं

अनुहारलाई घामबाट बचाउनका लागि सन्सक्रिमको प्रयोग गर्नुपर्छ । जाडो महिनामा धेरै घाम ताप्ने, घाममा बस्ने गरिन्छ । यसले चायाँ, पोतोदेखि लिएर चाउरिपना, दाग धब्बा समस्याहरु निम्त्याउँछ । छिटो बुढो देखिन्छ मानिसलाई ।

जाडोको घाम अझ पारिलो हुन्छ । घाममा धेरै समय बस्दा अनुहारमा असर गर्छ । सन्सक्रिम सामान्य छाला भएकाहरुले ३० देखि ५० एसपिएफ भएको प्रयोग गर्नुपर्छ । बिहान प्रयोग गरियो भने ३–४ घण्टापछि फेरि लगाउनु पर्ने हुन्छ । पर्याप्त मात्रामा । यसको प्रयोग नगरी छालालाई घामबाट बचाइएन भने हल्का भएको चायाँ पोतोहरु पनि फर्केर आउने अथवा नभएको पोतो देखा पर्ने हुन्छ ।

जाडोमा खानुपर्ने खाना

जाडोयाममा पानी प्रशस्त पिउनुपर्छ । चिसो पानी खान मन नभए मनतातो बनाएर अथवा कागती पानी या सादा चिया पिउनुपर्छ । प्यास लागेन भनेर पानीको मात्रा कम गर्नु हुँदैन । नत्र छाला भित्रैबाट ड्राइ हुन्छ ।

त्यसैगरी तेल, भिटामिन इ र ओमेगा–३ फ्याट्टी एसिड प्रशस्त मात्रामा भएको खाना खाँदा छाला नरम र चम्किलो हुन्छ । यो भिटामिन माछा, बदाम, काजुमा हुन्छ । हरियो सागपात पनि प्रशस्त खानुपर्छ । जाडोयामको खानामा यी खानेकुरा सामेल गर्ने हो भने स्किन भित्रबाटै ओइली भएर चम्किलो हुन्छ।

हातखुट्टा, ओठ फुट्नबाट कसरी जोगाउने ?

जाडो मौसममा पटक–पटक हातखुट्टा धोइरहनु हुँदैन । भाँडा माझ्दा पनि साबुन, खरानीको प्रयोग धेरै गर्नुहुँदैन । कपडा धुने सर्फ अथवा साबुन, डल्लो साबुन, कडा साबुनहरु प्रयोग नगरेकै राम्रो जाडोयाममा । यसले छालालाई सुख्खा बनाउने डा. सबिना भट्टराई बताउँछिन् ।

हातखुट्टामा बाक्लो खालको मोइश्चराईजर लगाउनुपर्छ । खुट्टा फुटेर चिराचिरा परेको हटाउने मलमहरु पनि पाइन्छ बजारमा । चिकित्सकको प्रेस्कीप्सन अनुसार प्रयोग गर्न सकिन्छ । खुट्टाको चिराचिरा छाला मुलायम बनाउने मोइश्चराईजर नियमित रुपमा लगाइयो भने हातखुट्टा नफुट्ने डा. भट्टराईको भनाइ छ ।

जाडोमा कपाल झर्ने समस्या छ ? यसरी गर्नुस् स्याहार

जाडो महिनामा कपालमा चायाँहरु पर्ने, र फुंग उडेको जस्तो देखिन्छ । जाडो अवधिभर कपाल पटक पटक नुहाउने काम कम गर्नुपर्छ । ड्रायरहरु, केमिकलहरु कम प्रयोग गर्ने । त्यस्तै साबुन प्रयोग नभएको सल्फेटहरु, केमिकलहरु नभएको स्याम्पू जस्तै माइल्स, बच्चाको स्याम्पू प्रयोग गर्ने । त्यसले कपालमा भएको चिल्लोपन हट्न दिँदैन जसकारण कपाल सुख्खा र रुख्खो हुन पाउँदैन । त्यो बाहेक कन्डिसनर गर्ने, तेल हाल्ने लगायत नियमित गर्दा कपाल झर्ने, टुक्रिने, हाँगा फाट्ने हुँदैन ।

चायाँ पोतो के कारणले आउँछ ?

चायाँपोतो गर्भवती महिला, बच्चाको आमामा आउने र वयस्क, अविवाहित महिलामा आउने फरक हुन्छ । वयस्कमा चायाँ पोतो विशेषगरी घामबाट बचिएन भने आउँछ । अर्को भनेको घाममा असर पार्ने औषधीहरु, गर्भनिरोधक औषधी पिल्स सेवनले पनि चायाँपोतो निस्कन्छ । पाठेघरको समस्या भयो, पाठेघरमा ट्युमरहरु आयो भने तीनीहरुले पनि चायाँ निकाल्छ ।

अर्को वंशाणुगत हुन्छ । कसैको परिवारमा आमा, बुवा, दिदीबहिनी, फुपुहरुको चायाँपोतो छ भने उनीहरुमा आउने सम्भावना बढी हुन्छ । चायाँपोतो जहिले पनि नाक र छालाको सबैभन्दा उठेको भागमा आउने हुन्छ । निधार, चिउँडो अनि जुँगा भएको ठाउँमा बढी देखिन्छ ।

क्लिनिक र पार्लरमा नजानुस्ः यस्तो छ उपचार विधि

यसको उपचार रंग तथा सतह हेरी गर्नुपर्ने डा. सबिनाले बताइन् । हर्बल र बजारबाट उपचार गर्न नमिल्ने उनको भनाइ छ ।बजारका औषधीहरुमा स्कीन ह्वाइट नामक औषधी मिसाइएको हुन्छ । त्यसले क्षणिक हटेको जस्तो हुन्छ तर लामो समयसम्म एकदमै धेरै असर पार्छ । पोतोको उपचार गर्दा सम्बन्धित छाला रोग विशेषज्ञलाई देखाएर मात्रै गर्नुपर्छ । पार्लर, क्लिनिक पसलमा गएर उपचार गर्नु हुँदैन ।

अर्को सन्सक्रिम सानै ६ महिनाको उमेरदेखि नै प्रयोग गर्नुपर्छ । यसले घामबाट बचाउन, छालालाई स्वच्छ राख्न सधैँ उज्यालो र योङ देखाउन मद्दत गर्छ। हर्बलहरुले घामबाट बचाउँदैन । घामबाट जोगिएन भने पोतो जाँदैन ।

बच्चालाई दुध खुवाउँदै गरेको आमाहरुले पनि पोतोको औषधी, उपचार सम्बन्धित चिकित्सकको परामर्शविना प्रयोग गर्नु हुँदैन । किनकी बजारमा पाइने हर्बल भनिने औषधीहरुमा दुधबाट असर पार्ने औषधीहरु मिश्रण भएको हुन्छ । त्यसले बच्चाको स्वास्थ्यमा असर पुर्याउँछ ।

लिपस्टिक र बजारिया गाजलले क्यान्सर हुन सक्छ

कस्मेटिक सामानमा केमिकल हुन्छ । लिपस्टिक जति गाढा रंगको हुन्छ, तीनीहरुमा रसायनको मात्रा धेरै हुन्छ । कुनैमा लेड प्रयोग भएको हुन्छ । बजारमा पाइने डुब्लिकेट हुन्छ । तीनहरु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् । त्यसको गुणस्तर नाप्ने निकाय नेपालमा छैन ।

गुणस्तरविहिन र केमिकल बढी भएको लगाउँदा त्यसले सुरुमा एलर्जिक रियाक्सन हुन्छ । चिलाउने, पानीको फोका आउने, ओठ सुन्निने, पत्रपत्र जाने हुन्छ । धेरै लामो समयसम्म लगायो भने भित्र रगतसम्म पुगेर त्यसले क्यान्सर समेत हुन सक्छ । होममेड गाजलले खासै केही फरक पार्दैन । बजारमा किनिने गाजलले आँखामा समस्या आउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *