प्रमुख समाचार

आलमको बचाउ गर्न खोज्नु कांग्रेसको लागि शोभनीय भएन – बाबुराम

काठमाडौँ – पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर ज्यान लिएको आरोप लागेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहमद अफताब आलमको बचाउमा कांग्रेस सभापति उत्रिएका छन्।

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाउँदै देउवाले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई “टार्गेट” गर्न थालेको बताए ।

“१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ? त्यतिबेला के हेरेर बसेको ?”, भन्दै आक्रामक प्रश्न समेत देउवाले गरेका थिए। यसै विषयमा टिप्पणी गर्दै समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आलमको कांग्रेसले संरक्षण गर्नु शोभनीय नहुने बताएका छन्।

फाइल तस्बिर
सामाजिक संजाल ट्वीटर मार्फत टिप्पणी गर्दै भट्टराईले दर्जनौं निर्दोष व्यक्तिलाई निजी स्वार्थवश जिउँदै जलाउने र न्यायिक प्रक्रियालाई अबरोध गर्ने व्यक्तिलाई संरक्षण गर्नु शोभनीय नहुने बताएका हुन्।

“कांग्रेस जस्तो विधिको शासन,मानव अधिकार र उदार लोकतन्त्रको पक्षधर पार्टीले दर्जनौं निर्दोष व्यक्तिलाई निजी स्वार्थवश जिउँदै जलाउने र न्यायिक प्रक्रियालाई अबरोध गर्ने व्यक्तिलाई संरक्षण गर्नु शोभनीय भएन।”,भट्टराईले भनेका छन्।

जिउँदा मानिसहरुलाई इँटा भट्टामा जलाइनु विशुद्ध अ’पराधिक घटना रहेको भट्टराईको ठहर छ। यस घटनालाई ढाकछोप गरेर कांग्रेसले आफ्नो मुखमा आफै कालो पोतेको होला ? भन्दै भट्टराईले प्रश्न पनि गरेका छन्।

भट्टराईको टिप्पणी यस्तो छ :

“कांग्रेस जस्तो विधिको शासन,मानव अधिकार र उदार लोकतन्त्रको पक्षधर पार्टीले दर्जनौं निर्दोष व्यक्तिलाई निजी स्वार्थवश जिउँदै जलाउने र न्यायिक प्रक्रियालाई अबरोध गर्ने व्यक्तिलाई संरक्षण गर्नु शोभनीय भएन! यस्तो विशुद्ध अपराधिक घटनामा कांग्रेसले आफ्नो मुखमा आफै कालो किन पोतेको होला?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *