प्रमुख समाचार

नेपालमा लगानी बढाउने एनआरएनएको प्रतिबद्धता

काठमाडौं : गैरआवासीय नेपालीहरुले नेपालमा लगानी बढाउने प्रतिबद्वता गरेका छन् । मुलुक आर्थिक विकासको दिशातर्फ उन्मुख भएको भन्दै गैरआवासीयहरुले सामूहिक तथा व्यक्तिगत लगानी गर्न प्रतिबद्व देखिएका हुन् ।

गैरआवासीय नेपाली संघको ९औँ विश्व सम्मेलनका क्रममा जारी १२ बुँदे घोषणपत्रमा नेपालमा लगानीको उपयुक्त वातावरण सिर्जना हुँदै गएकाले लगानी विस्तार गर्ने बताएका हुन् । नेपालको जलविद्युत, पर्यटन, बैँकिङ, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि, सूचना तथा सञ्चार प्रविधिलगायतका क्षेत्रहरूमा लगानी गर्ने घोषणपत्रमा उल्लेख छ । लगानीको वातावरण अझै राम्रो हुँदै गएमा विभिन्न क्षेत्रमा लगानी भित्रिने उनीहरुको विश्वास छ ।

समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न गैरआवासीय नेपाली संघले ठूला आयोजनामा लगानी गर्ने भएको छ । नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्ताहरूसंग समन्वय गराउने र सहजीकरण गरी स्वदेशमा बाह्य लगानी, प्रविधि, शीप, अनुभव तथा ज्ञान आकर्षणमा सहजकर्ता भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।

संघले विदेशी लगानी आकर्षित गर्न दोहोरो करको समस्या सम्बोधन गर्न माग गरेको छ । लगानी आकर्षणको वातावरण बनाउन नेपालको कूटनीतिक नियोग रहेका र धेरै नेपालीको बसोबास रहेका मुलुकसँग अबिलम्ब दोहोरो कर उन्मुक्तिको सम्झौता गर्नुपर्नेमा जोड दिइएको छ । संघले लगानी प्रबद्र्धन तथा संरक्षण सम्झौतालगायतका सम्झौता गर्न आग्रह गरेको छ ।

नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, संयुक्त राष्ट्रसंघले लिएको दिगो विकासका लक्ष्य पूरा गर्न तथा मध्यम आय भएको राष्ट्र बन्न गैरआवासीयहरुले सघाउने अठोट लिएका छन् । त्यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न गैरआवासीय संघको सञ्जाल प्रयोग गर्ने घोषणापत्रमा उल्लेख छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण, मर्यादित र व्यवस्थित गर्नुपर्नेमा जोड दिएको छ । लागत खर्चमा पारदर्शिता, नियम कानुनको पूर्णपालना, समस्यामा पर्ने कामदारहरूलाई न्याय, उद्दार र क्षतिपूर्तिका लागि स्वदेश र विदेशमा सेवा दिने न्यायिक संयन्त्र स्थापना तथा परिचालन गर्न संघले सरकारसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

कामदारको सीप प्रशिक्षण, परीक्षण तथा प्रमाणीकरणलाई सहयोग गर्दै वैदेशिक रोजगारीको आर्जनलाई राष्ट्र निर्माणमा सदुपयोग गर्ने, तथा श्रमिकको सामाजिक सुरक्षाका लागि यस संघले अघि सारेको अनिवार्य बचत (हजारे अभियान)सहितको सञ्चय कोष कार्यान्वयनका लागि पहल गर्ने उल्लेख गरिएको छ ।

संघले विज्ञान तथा प्रविधिमा संलग्न गैरआवासीय नेपालीको तथ्यांक तयार गर्ने भएको छ । ती संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धान गर्न स्थायी निकाय स्थापना गर्ने उल्लेख गरिएको छ ।

नेपालीहरू धेरै रहेको देशमा नेपाली राजदुतावास वा महावाणिज्यदूतावासको स्थापना गर्न तथा भएका नियोगहरूलाई मानवीय तथा प्राविधिक रूपमा समेत सवल बनाउन नेपाल संघले सरकारको ध्यनाकर्षण गराएको छ । नेपाली नियोगहरू स्थापना नभएसम्म स्थानीय गैरआवासीय नेपाली संघले सहयोग गर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *