राजनिति

एक हजार आईटी ल्याबमध्ये ९७ वटा आफ्नै जिल्लामा

२ कात्तिक, काठमाडौं । सरकारले साढे ३ अर्ब रुपैयाँ खर्च गरेर देशभरका १ हजार विद्यालयमा सामुदायिक सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) स्थापना गर्दैछ । तर, आईटी ल्याब स्थापना गरिने विद्यालयको छनोटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘आफ्नै हात जगन्नाथ’ को शैली अपनाएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट रकम खर्चिने गरी ७७ वटै जिल्लाका समुदायिक विद्यालयमा सरकारले आईटी ल्याब स्थापना कार्यक्रम सञ्चालन गर्दैछ ।

मन्त्री बास्कोटाको गृहजिल्ला काभ्रेका ९७ सामुदायिक विद्यालयलाई यो कार्यक्रममा पारेको पाइएको छ । यसअनुसार कार्यक्रमको कुल बजेटको करिब १० प्रतिशत काभ्रेमा मात्रै खर्च हुने भएको छ । मन्त्री बास्कोटाको आफ्नो नगरपालिका मण्डन देउपुरका मात्र १२ वटा विद्यालयमा ल्याब स्थापना हुनेछ ।

कार्यविधिअनुसार एउटा जिल्लाले कम्तिमा ६ वटा ल्याब पाउनुपर्ने हो, तर डोल्पाले ४ वटा र मुगुले ५ वटा मात्रै ल्याब पाएका छन् । कार्यक्रमको कार्यविधिअनुसार हुने हो काभ्रेले ८ वटा मात्रै ल्याब बनाउनुपर्थ्यो । किनभने कार्यविधिमा दुई निर्वाचन क्षेत्र भएका जिल्लामा अधिकतम ८ वटासम्म विद्यालयलाई ल्याब दिन सकिने भनिएको छ । मन्त्री बास्कोटाले आफैंले बनाएको कार्यविधीलाई लत्याएर गृहजिल्लाका ९७ वटा स्कुल पारेका हुन् ।

आफैंले बनाएको कार्यविधि उल्लंघन

ल्याब स्थापना कार्यक्रमका लागि ‘सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७५’ जारी भएको थियो । कार्यविधिको परिच्छेद ३ मा सूचना प्रविधि प्रयोगशालाका लागि विद्यालय छनौटसम्बन्धी मापदण्ड तोकिएको छ ।

जसअनुसार विद्यार्थी संख्या धेरै भएकाहरु विद्यालयलाई प्राथमिकता दिनुपर्छ । साथै, पिछडिएको वर्ग/समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयलाई प्राथमितामा राख्नुपर्ने छ । यस्तै दफा ९ को उपदफा ‘झ’मा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नम्बर प्रदेशका जिल्लाहरु तथा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी र सुनसरीलाई प्राथमिकतामा राखिएको उल्लेख छ । हेर्नुहोस् कार्यविधि-

प्राथमिकताप्राप्त जिल्लामा प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा ६ वटा र अन्य जिल्लाहरुको हकमा कम्तिमा ४ वटाका दरले सामुदायिक विद्यालय छनौट गर्नुपर्ने व्यवस्था छ ।

यो कार्यविधिअनुसार काभ्रे प्राथमिकता प्राप्त जिल्लामा पर्दैन । अर्थात २ वटा निर्वाचन क्षेत्र भएको काभ्रेका ८ वटा वा केही बढीसम्म समुदायिक स्कुल पर्नसक्थ्यो । तर प्राथमिकताका जिल्लालाई दिनुपर्ने कोटासमेत कटौती गरेर मन्त्रील बास्कोटाको जिल्लामा अपेक्षितभन्दा १२ गुणा बढी विद्यालयमा ल्याब दिइँदैछ ।

प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले भने कार्यविधि र मन्त्रालयको सिफारिसलाई आधार बनाएर ल्याब स्थापना गर्न लागिएको दाबी गरेका छन् । कार्यविधिले न्यूनतम संख्या तोके पनि बढीमा जति पनि दिन सकिने उनले तर्क गरे । ‘कार्यविधिले निर्वाचन क्षेत्रमा कम्तिमा ६ वटा र ४ वटा भनेर व्यवस्था गरेको हो,’ अर्यालले अनलाइनखबरसँग भने, ‘बढीमा जति पनि दिन सकिन्छ । काभ्रेबाटै बढी माग आएकाले त्यहाँ धेरै गएको हुनसक्छ ।’

प्राधिकरण स्रोतका अनुसार सुरुमा सुरुमा ७९२ विद्यालयमा आईटी ल्याब स्थापना गर्ने योजना थियो । तर मन्त्रालयकै जोडबलमा एक हजार पुर्‍याएइको थियो । एक हजार वटा विद्यालयलाई ल्याब दिने गरी नीतिगत निर्णय गरेको मन्त्रालय आफैंले १२३ वटा विद्यालय छानेको थियो । जसमध्ये ८९ वटा काभ्रेको परेको छ ।

साथै ७९२ विद्यालयको सूचीमा ८ वटा काभ्रेको थियो । यो दुवै जोड्दा सञ्चारमन्त्रीको गृहजिल्ला काभ्रेका मात्र ९७ स्कुल ल्याब पाउने सूचीमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *