प्रमुख समाचार

विकास निर्माणका क्रममा विचार नपुर्‍याउने हो भने पछुताउने अवस्था आउँछः नेपाल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले विकास निर्माणका क्रममा समयमै विचार पुर्‍याउन नसक्दा पछि पछुताउने अवस्था आउने बताएका छन्।

शनिबार काठमाडौँको कोटेश्वरस्थित दीपनगर टोलसुधार समितिको १७ औँ साधरणसभालाई सम्बोधन गर्दै नेता नेपालले नेपालीहरुमा हतारमा निर्णय गरेर फर्सदमा पछुताउने बानी रहेको बताए। विकास निर्माण गर्दा ५० वर्षपछिको अवस्थालाई ख्याल गरेर अहिले काम थाल्नुपर्ने उनको भनाई थियो।

‘हामीले पहिला काम गर्छौँ र त्यसपछि परिणाम सोच्न थाल्छौँ’, उनले भने, ‘त्यसैले हाम्रा कामहरु पनि उल्टा हुँदै गएका छन्। त्यसैले काम गर्नुभन्दा अगाडि सोच्ने बानी बसालौँ।’ उनले कोटेश्वर कलंकी मार्गको उदाहरण दिँदै हाइवेको अवधारणमा बनाएका कारण त्यसले वारिपारिका जनतालाई छुट्याउने काम गरेको बताए।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपाल सोही क्षेत्रबाट निर्वाचित सांसद समेत हुन्। कार्यक्रममा उनले कुनै राजनीतिक भाषण गरेनन्। उनले आफ्नो क्षेत्रसँगै देशको विकासका लागि आफू क्रियाशील रहेको दावी समेत गरे।

कार्यक्रममा नेकापाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले राजनीतिक नेतृत्व असल हुने हो भने कर्मचारीलेमात्रै चाहेर भ्रष्टाचार र ढिलासुस्ती हुन नसक्ने बताए। उनले राजनीतिक नेतृत्वमा दीर्घकालीन दृष्टिकोणको अभाव हुँदा विकास र समृद्धिले गति लिन नसकेको बताए।

कार्यक्रममा टोल सुधार समितिका सल्लाहकार एवं पूर्वाध्यक्ष हंसराज वांग्लेले टोलको विकासका लागि आवश्यक प्रस्ताव राखेका थिए। नेता नेपाल र पोखरेलले ती प्रस्तावमा सहमति जनाउँदै टोलको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। टोल सुधार समितिका अध्यक्ष विष्णु भण्डारीले टोलको विकासका लागि आफ्नो कार्यकालमा सक्दो प्रयास गरेको र यसलाई निरन्तरता दिने बताए।

कार्यक्रममा टोलमा रहेको २० जना ८० वर्षभन्दा माथिका बृद्धबृद्धालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *