रौतहट – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सम्झौता अनुसार संविधान संशोधन नगरेपछि आक्रोशित उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यावदले सरकार छाड्नसक्ने घोषणा गरेका छन् ।उनले समाजवादी पार्टी नेपालले सरकारलाई अहिले संविधान संशोधन गर्न अवसर दिएको बताए । संविधानमा मधेशीलाई विभेद गरेको भएपनि संविधान संशोधन गर्नका लागि आफ्नो पार्टी सरकारमा गएको समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले बताएका छन् ।
समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटले शनिबार गरुडा चिनी मिलको प्राङ्गणमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले संविधान संशोधन नभए सरकार छाड्ने घोषणा गरे ।
यादवले सरकारलाई संविधान संशोधन गर्नको लागि अहिले दिएको अवसर गुमाए भने सरकार छाडेर पुनः आन्दोलनमा जाने चेतावनी दिए। सरकारले संविधान संशोधन गर्ने प्रक्रिया चाँडै अगाडि बढाउने कुरामा आफूहरू विस्वस्त रहेको उनले बताए ।
राज्यले थोरै लगानी गरेका कारण तराई मधेश विकसित र समृद्ध बन्न नसकेको बताउँदै मन्त्री यादवले स्वास्थ्य, शिक्षा र कृषिमा सरकारले लगानी गर्न सके तराई मधेश चाँडै विकसित र समृद्ध बन्न सक्ने बताए ।
कार्यक्रममा प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री एवं समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष योगेन्द्र यादव, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, पार्टी जिल्ला इन्चार्ज वृज किशोर यादव, राजकुमार दास तत्मा, प्रदेश सांसद राम किशोर यादव, समाजवादीका केन्द्रिय सदस्य रेवन्त झा, विन्देश्वर यादव, लगायतका व्यक्तिहरुले बोल्दै मधेश र मधेशीको अधिकार एक मात्र पार्टी समाजवादीले नै मात्र दिन सक्ने बताएका छन् ।