राजनिति

केपी ओलीले धोका दिएपछि प्रचण्ड पुगे ईश्वरको शरणमा, प्रधानमन्त्री बनाइदिन हारगुहार !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन् ।

पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएपनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसूस प्रचण्डले गर्न थालेका छन् । प्रचण्डले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको स्रोतले जनाएको छ ।

एकतापछि प्रचण्ड र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो । त्यसपछि पार्टीले विभाग प्रमुखहरू तोक्ने क्रममा पोखरेललाई स्कूल विभाग नदिन पूर्व माओवादी केन्द्र पक्षले जोड गरेपनि पछि ओली–प्रचण्ड सहमतिमै उनले सो विभाग प्रमुखको जिम्मेवारी पाएका थिए । त्यसयता दाहाल–पोखरेल सम्बन्ध मधुर बनेको छ ।

दशैं सकिएलगत्तै प्रचण्ड पोखरेल निवास धापासी पुगेका थिए । प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी एकीकरणताका भएका समझदारीबाट पछि हट्ने संकेत गरेको र यसलाई कार्यान्वयनको दिशामा लैजान पहल गर्नुपर्ने बताएका थिए । प्रचण्ड सहमति अनुसार प्रधानमन्त्री बन्न चाहन्छन् । पोखरेल–दाहाल भेटघाट हुँदै गर्दा नेकपा ओखलढुंगाका कार्यकर्ताहरू पनि पोखरेल निवास पुगेका थिए ।

पार्टी एकता गर्दाको समझदारी कार्यान्वयन हुनेमा पूर्व माओवादी पक्ष सशंकित छ । समझदारी कार्यान्वयन गर्ने समय नआउँदै त्यसलाई प्रचारमा ल्याइएको भन्दै पूर्वएमाले समूह पनि असन्तुष्ट देखिन्छ । आलोपालो प्रधानमन्त्री ओलीले चाहेको विषय नभएकाले पनि पूर्व माओवादी पक्ष सशंकित बनिरहेको छ । यसै सेरोफेरोमा दाहालले पोखरेलसँग भेटघाट गरेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रचण्डले पोखरेलसँग भेटघाट गरेको दुई दिनपछि वामदेव गौतम पनि माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा पुगेका थिए । नेपाल–गौतमबीच ‘धोका’को राजनीति गर्न नहुने विषयमा कुराकानी भएको थियो ।
प्रचण्डले सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै निवासमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेका छन् ।

गौतमले पार्टी अध्यक्ष ओलीले आफूलाई प्रस्तावित उपाध्यक्ष भनेको तर स्थायी कमिटीको बैठक बोलाएर हालसम्म अनुमोदन नगराएको भन्दै दुःखेसो पोखेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लोपटक भदौमा सिंगापुर उपचारमा जानुअघि प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका थिए । दाहालले त्यसक्रममा एउटा सचिवालयको बैठकसमेत राखेर अन्तरपार्टी निर्देशन जारी गर्ने र केन्द्रीय सदस्यहरू थप गर्ने निर्णय गराएका थिए ।

प्रचण्डले त्यसपछि पार्टी आफूले र सरकार ओलीले सञ्चालन गर्ने सहमति भएको दाबी गर्दै आफूनिकट नेताहरूलाई सरकारमा सहभागी गराउने आश्वासन दिएका थिए । तर सिंगापुरबाट फर्केर आएपछि ओलीले दाहाललाई त्यस्तो कुनै मौकै दिएनन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा पनि पोलिटब्यूरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लागेको छैन । ओली सिंगापुरमा हुँदा यी विषयलाई टुंगो लगाउने गरी प्रचण्डको सक्रियता बढेको थियो ।

सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी र जनवर्गीय संगठनको नेतृत्व जिम्मेवारी बाँडफाँटलगायत काम भने सम्पन्न भइसकेको अवस्थामा पार्टीले यसअघि नै तय गरेका सातै प्रदेशमा पार्टी एकताको सन्देश दिने गरी कार्यक्रम गर्ने गरी अध्यक्ष प्रचण्ड अघि बढ्ने तयारी गरिरहेका थिए ।

एकता सन्देशको कार्यक्रम गत चैतबाटै सुरु गर्ने तयारी भएपनि एकीकरण प्रक्रिया नटुंगिएकाले रोकिएको थियो । ‘प्रचण्डले पार्टी सञ्चालन गर्न पाउनुपर्ने वा प्रधानमन्त्री पाउनुपर्ने माग गरिरहेका बेला स्वास्थ्योपचारका क्रममा सिंगापुर जानुअघि ओलीले प्रचण्डलाई बैठक सञ्चालन गर्ने अधिकार दिएर मख्ख पारेका थिए । अहिले अधिकारविहीनजस्तै भएपछि धोका भएको महसुस गरेका हुन्,’ प्रचण्डनिकट एक नेताले भने । ती नेताका अनुसार सचिवालय सदस्यसमेत रहेका रक्षामन्त्री पोखरेलसँग दाहालले भेट गर्नुको अर्थ आफ्नो सन्देश ओलीसम्म पुगोस् भन्ने नै हो ।

प्रचण्ड–पोखरेल भेटघाटमा सरकारमा रहेका केही मन्त्री हटाउने विषयमा पनि छलफल भएको थियो । प्रचण्डले केही मन्त्रीका कारण सरकारको काम राम्रो हुन नसकेको भन्दै प्रधानमन्त्रीले केही मन्त्री परिवर्तन गर्ने विषयमा आफूसँग छलफल गरिरहेको जानकारी पोखरेललाई गराएका थिए । ‘उनले मन्त्री परिवर्तनदेखि पार्टी एकीकरण तथा दुवै अध्यक्षबीच भएको समझदारीको विषयमा समेत कुराकानी गरे,’ पोखरेलनिकट स्रोतले भन्यो ।

पोखरेलनिकट स्रोतका अनुसार दुवै नेताबीच करिब डेढ घण्टा छलफल भएको थियो । छोरी गंगा दाहाललाई साथमा लिएर धापासी गएका दाहालले पोखरेल परिवारसँग आपसमा पारिवारिक फोटो खिचेर आत्मीयता साटेका थिए ।
सातै प्रदेशमा शीर्ष नेताहरूले सम्बोधन गर्ने र जिल्ला तहसम्म एकताको सन्देश दिने काम आफूमार्फत नै होस् भन्ने चाहेकाले पनि पार्टीमा कार्यकारी अधिकारसहितको अध्यक्ष आवश्यक रहेको प्रचण्डको दाबी छ । पोखरेलमार्फत आफू कि प्रधानमन्त्री कि पार्टी अध्यक्ष हुने पूर्व सहमति भएको स्पष्ट सन्देश प्रचण्डले दिन खोजेको एक नेताले बताए ।

‘एकता भइसकेको संगठनलाई सक्रिय बनाउने र एकता हुन बाँकी कमिटीको टुंगो लगाउने विषयमै केन्द्रित भई अध्यक्ष दाहालले सक्रियता बढाउन खोजेका हुन् तर ओलीले यो अधिकार प्रयोग गर्न दिन सक्ने अवस्था देखिँदैन,’ ती नेताले भने । स्रोतका अनुसार दाहालले पोखरेलसँग भेटेपछि नेता नेपालसँग पनि कुराकानी गरेका थिए । तर नेपालले कुरा चाहिँ सुनेको तर कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *