काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताले कुनै पनि घटनामा दोषी देखिए आफ्नै पार्टीका नेता भएपनि कारबाही गरिनुपर्ने चट्टानी अडान लिएका छन् ।
रौतहट घटनामा सांसद मोहमद अफ्ताव आलम पक्राउ परेपछि पार्टीका नेताबाट पक्ष तथा विपक्षमा फरक/फरक धारणा आइरहेका बेला कांग्रेसका युवा नेताले दोषी देखिए जो कोहीलाई पनि कानूनी कठघरामा ल्याइनुपर्ने बताएका हुन् ।
स्थानीय १४ व्यक्तिको सामूहिक हत्या गरेको आरोप लागेका रौतहट–२ बाट निर्वाचित सांसद आलमलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । कांग्रेसका युवा नेताहरू प्रवक्ता विश्वप्रकाश शर्मा, गगन थापा, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल लगायतले दोषीलाई संरक्षण गर्ने पक्षमा कांग्रेस उभिन नहुने भन्दै अनुसन्धानमा सघाउनुपर्ने अडान लिएका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालबाटै धारणा सार्वजनिक गर्दै निर्दोष कहिल्यै पनि दण्डित हुन नहुने र दोषी कसैले पनि उन्मुक्ति पाउन नहुने माग गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
उनले आलम पक्राउ प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुने कांग्रेसको केन्द्रीय धारणालाई रौतहट कांग्रेसले पनि अनिवार्य अनुशरण गर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हाम्रो सपनाको नेपाल त्यही हो, अनुसन्धानमार्फत निर्दोष या दोषी ठहर हुने कानुनी प्रक्रियालाई सबैले सघाउनुपर्छ । अफताव आलम पक्राउ प्रकरणमा पनि सत्य यही हो, निर्दोष कहिल्यै पनि दण्डित हुनुहुन्न । दोषी कसैले पनि उन्मुक्ति पाउनुहुन्न ‘साना’ हुन् या ‘ठूला’ । कांग्रेस हुन् या कम्युनिस्ट कानुनको नजरमा सबै बराबर हुनुपर्छ ।’
यसैगरी, अर्का युवा नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा अपराध गर्नेले दण्ड पाउनुपर्ने धारणा व्यक्त गरे । ‘जो सुकै होस्, जहाँ भएको होस्, जहिले भएको होस्, जुनसुकै ओहोदामा पुगेकाले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ । दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ । निष्पक्ष छानबिनका लागि सहयोग गर्नु हाम्रो कर्तव्य हो,’ उनले लेखेका छन्, ‘यही हो कांग्रेसको धारणा, बाँकी सबै व्यक्तिगत धारणा हुन् ।’
नेता भण्डारीले निष्पक्ष छानबिन गरी सबैलाई आम नागरिकसरह कारबाही गर्न माग गरेका छन् भने अर्का युवा नेता पौडेलले समेत निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् । उनले आफ्नो दल कांग्रेसले पनि निष्पक्ष छानबिनका लागि सघाउनुपर्ने भनेका छन् ।
अर्का युवा नेता गुरुङले लेखेका छन्, ‘हत्या, बलात्कार, भ्रष्टाचार लगायतका अपराधलाई राजनीतिको पछ्यौरीले छोपेर सिंगो राजनीतिलाई विकृतिको थलो बनाइरहेका छौं । जतिसुकै उच्च ओहोदाको भए पनि निष्पक्ष छानबिनका लागि अपराधको आरोपी कानुनको कठघरामा उभिनैपर्छ, लोकतन्त्र भनेकै विधिको शासन हो ।’
कांग्रेस सांसद आलमलाई गत आईतबार प्रहरीले रौतहटबाटै पक्राउ गरेको थियो । आलम पक्राउको विरोधमा रौतहटसहितका तराईका केही जिल्लामा कांग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् ।
अनुसन्धानको विपक्षमा छैनौं : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना सांसद मोहम्मद अफताव आलमको मुद्दाबारेको अनुसन्धानमा कांग्रेस विपक्षमा नरहेको र अनुसन्धानमा सघाउने प्रस्ट पारेका छन् ।
शुक्रवार भक्तपुरमा पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा आलम पक्राउबारे धारणा विवादमा परेपछि देउवाले शनिबार विज्ञप्ति जारी गरेरै कांग्रेस अनुसन्धानको विपक्षमा नहुने प्रस्ट्याएका हुन् ।
उनले विज्ञप्तिमार्फत कानुनी राज्यमा विश्वास गर्ने कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने भन्दै आलम बारेको मुद्दामा समेत पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्न कांग्रेसले सघाउने बताए ।
यसअघि प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा देउवाले आलम पक्राउलाई पार्टीविरुद्धको षड्यन्त्र भनेका थिए । कांग्रेसका युवा नेताहरूले भने अनुसन्धान हुनुपर्ने पक्षमा चट्टानी अडान लिएपछि सभापति देउवाले गलेर धारणा सच्याएका छन् ।