मनोरंजन

गीत रेकर्ड गर्ने पैसा जुटाउन टुटल चलाउने पत्रकार

विगत नौ वर्षदेखि अखबारमा अरूको खबर लेख्दै आएका अनुप ओझा अचेल आफैं खबर बनेका छन्। आफ्नो दोस्रो गीत ‘संसारै बेइमानी’ सार्वजनिक गरेपछि गीत तयार पार्दाको पृष्ठभूमिका कारण उनी समाचारमा छाएका हुन्।

समसामयिक विषयवस्तुमा बनेको ‘संसारै बेइमानी’ गायन शैली र म्युजिक भिडिओका कारण फरक बनेको छ।

सशस्त्र द्वन्द्वमा घरका अभिभावक मारिनु, विदेश जान जग्गा धितो राख्न बाध्य सर्वसाधारणसँग साहुहरूले मिटर ब्याज लगाउनु, म्यानपावर कम्पनीहरूले विदेश लैजाने आश देखाई ठगी गर्नुजस्ता यावत समस्या अनुप हुर्के-बाँचेको नेपाली समाजको भोगाइ हो।

उनले यिनै विषय आफ्नो गीतमा उतार्ने प्रयास गरेका छन्।

के नेता, के प्रशासक, प्रहरीदेखि आफैं संलग्न पत्रकारिता पेसामा भएकाहरूले समेत पैसाका लागि बेइमानी गरेको देखेका छन् उनले। त्यही बेइमानीलाई ‘संसारै बेइमानी’ गीत मार्फत् फरक शैलीमा चित्रण गर्ने प्रयास गरेका हुन्।

डार्क कमेडी विधामा बनेको गीतको भिडिओ अँध्यारोबाट सुरू हुन्छ। रंगमञ्चका अभिनेता विजय बरालले मुख्य भूमिका निर्वाह गरेका छन्। बराल एक्लै गाउँको साहु, म्यानपावर कम्पनीको मालिकदेखि पत्रकारसम्मको भूमिकामा देखिन्छन्। सबै रुपमा सुहाउँदो देखिएका उनको बहुरुपिया अभिनय सशक्त छ। अनुप आफैंले पनि गीतमा पीडितको भूमिका निर्वाह गरेका छन्।

गाउँदेखि सहरसम्म ठग्ने प्रवृत्ति उही र ठगिनेको नियति उस्तै हुने भएकोले एउटै बेइमानलाई फरक-फरक रूपमा भिडिओमा उतारिएको अनुप बताउँछन्।

गीतको म्युजिक भिडिओ निर्देशन ‘हरि’ फिल्मका निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङले गरेका हुन्। भिडिओ पनि ‘हरि’ फिल्म जस्तै प्रयोगवादी लाग्छ। जस्तै, मूलपात्र घरबाट निक्लनेबित्तिकै खुम्चँदै, ठगिँदै जान्छ। गीतको भिडिओ हेर्दा याद गर्नुहोला, सुरूमा ठूलो भएको स्क्रिन पनि पात्रको परिस्थितिसँग खुम्चिएको पाउनुहुनेछ।

अनुपका अनुसार, भिडिओको पटकथा र अवधारणा उनी स्वयंले बनाएका थिए। पछि यी दुई निर्देशकले त्यही अवधारणालाई आफ्नोपन दिएका हुन्।

समाजमा दायाँबायाँ जता मोडिए पनि, जता पुगे पनि शोषण गर्ने र पैसा खाने जमातको बोलबाला छ। त्यसैले यो गीतमा अनुपले निर्वाह गरेको पात्र अन्तिममा भाग्दाभाग्दै थाकेर बेइमानको हुलमा मिसिन्छ। र, तिनै बेइमानसँग भाका हाल्दै गाउन थाल्छ, संसारै बेइमानी।

हाल अंग्रेजी पत्रिका ‘द काठमाडौं पोस्ट’मा कार्यरत उनलाई सामान्य मान्छेका कथा भन्न मनपर्छ। आफूले गाउँगाउँ डुलेर कथा लेखेको उनी बताउँछन्। आममान्छेसँग सरोकार राख्ने विषय र आममान्छेलाई नै पात्र बनाएर वर्षौंदेखि लेख्दा पनि जसका बारेमा लेखको हो, उनीहरूसम्म नपुग्ने हो कि भन्ने शंका लाग्छ उनलाई।

‘यस्तै शंकाले मलाई संगीतको माध्यमले अझै प्रभावकारी रूपमा सञ्चार गर्न सकिन्छ जस्तो लाग्यो,’ उनी भन्छन्, ‘आफ्नै धुनमा गाउने बजाउने अभ्यास गरिरहेकै थिएँ। अब गीत पनि सार्वजनिक गर्नुपर्छ जस्तो लाग्यो।’

यही सोचले उनले गत वर्ष ‘डाँडावारि’ बोलको पहिलो गीत रेकर्ड गरे। यसको भिडिओले युट्युबमा २० लाख बढी भ्युज पाइसकेको छ। यसबाट उनलाई ऊर्जा मिल्यो। ऊर्जा मात्रले गीत निस्के पो!

‘गीत निकाल्न मलाई कम्तीमा ४० हजार रूपैयाँ चाहिन्थ्यो। तलबबाट जुटाउन सम्भव देखिनँ,’ उनी सुनाउँछन्, ‘गीत निकाल्ने पैसा जम्मा गर्न टुटल चलाउन थालेँ।’

उनले ‘सिटी टुर गाइड’को तालिम लिन जाँदा पहिलोपटक टुटलबारे थाहा पाएका रहेछन्। भन्छन्, ‘तालिममा आउने सहभागीहरू टुटल प्रयोग गरेर आउँथे। त्यही बेला मलाई टुटल शब्दले आकर्षित गर्यो।’

दिनभर अफिसको कामपछि उनको टुटल गर्ने बेला सुरू भइसकेको हुन्थ्यो। घर पुग्दा त रातको १२ पनि बज्थ्यो कहिलेकाहीँ। यात्रुले भनेका नयाँ ठाउँ जाँदा धेरैपटक बाटोमा हराउँथे।

दुःख भए पनि अनुपले आफ्नो संगीत सपना पूरा गर्न पैसा पाउँथे। पैसा जम्मा गर्न उनले खुत्रुके किने र त्यसमा टुटल लेखे। काठमाडौंको जाम झेल्दै थाकेको शरीर लिएर घरपुग्दा त्यही खुत्रुके हेरेर थकान मेट्थे।

उनी सम्झन्छन्, ‘हेक्टिक हुन्थ्यो। कति मान्छे आउँछु भनेर कुराउँथे। मेरो नियमित रुटिन नै बिग्रिएको थियो।’

यस्ता झमेलाभन्दा उनका लागि उत्साह दिने कुरा धेरै थिए। दुरीका हिसाबले पैसा उठ्ने टुटलमा एकै दिन पाँच सयदेखि पन्ध्र सयसम्म कमाएको बताउँछन्। यात्रुका रूपमा फरक-फरक पृष्ठभूमिका नयाँ मान्छे भेटिने भएकाले यो काम उनका लागि कुनै ‘एड्भेन्चर’भन्दा कम भएन। समसामयिक विषयमा रूचि राख्ने उनले अरू बेला नदेखेका र देखेर पनि वास्ता नगरेका धेरै कुरा देखे।

‘बाटो, खाल्डाखुल्डीदेखि ट्राफिक लाइटसम्मका विषयमा थप ध्यान दिने मौका पाएँ। तिनै विषयमा रिपोर्टिङ पनि गरिरहेँ,’ उनले सुनाए।

अनुपका लागि जति धेरै नयाँ मानिस भेट्यो, उति नयाँ विषयमा लेख्न पाउने अवसर बन्यो टुटल।

‘पैसा पनि आउने, नयाँ सिक्न पाइयो। नयाँ मान्छे र नयाँ विषयले नयाँ ऊर्जा थपियो,’ टुटल अनुभव साट्छन् उनी, ‘पत्रकारितामा एकोहोरो हुन लागेका बेला हरेक कुरा ताजा लाग्यो मलाई।’

अनुपको खुत्रुके
अनुपलाई सबभन्दा रमाइलो लाग्ने घटना फुडसङ लामासँगको भेट हो। आफ्नो मोटरसाइकलमा बस्ने हरेकसँग भलाकुसारी गर्थे अनुप। अन्तमा पैसा लिने बेला आफूले त्यो पैसा गीत निकाल्न जम्मा गरेको बताउँथे।

अनुप भन्छन्, ‘म प्रत्येक यात्रुलाई ‘गीत सार्वजनिक गर्ने बेला बोलाउँछु, तपाईं आउनैपर्छ है’ पनि भन्थेँ र उनीहरूको फोन नम्बर माग्थेँ।’

यही क्रममा अनुपले फुडसङलाई पनि आफ्नो उद्देश्य बताए। संजोगले उनी अनुपको पहिलो गीतको फ्यान रहेछन्। उनले अनुपलाई मित्रताका बारेमा लेखिएको ‘डाँडावारि’ गाउन अनुरोध गरेछन्।

अनुप सम्झन्छन्, ‘उनले तपाईंको लागि पैसा जुटाउँछु समेत भने, मैले मानिनँ। उनीसँगको भेटले आत्मविश्वास बढायो।’

घर आएर अनुपले डायरीमा फुडसङसँगको भेट विस्तारमा लेखे। अनुपका अनुसार, उनले सकेसम्म सबै यात्रुसँगको अनुभव डायरीमा उतारेका छन्। टुटल क्रममा भेटिएका धेरै पात्रमध्ये एक जना त उनीसँग अन्तर्वार्ता लिने टेलिभिजन पत्रकार नै परिन्। ती परिचितले पनि गीत निकाल्न सहयोग होस् भनेर धेरै पैसा दिन खोजे पनि अनुपले मानेनन् रे!

उनलाई हौसला दिने मात्रै नभई, ‘त्यत्रो ठूलो पत्रिकामा काम गरेर पनि यसरी मान्छे ओसार्ने काम के गरेको?’ भन्नेहरू समेत भेटिए। उनले आफ्नो डायरीमा सबै तीतामीठा अनुभव समेटेका छन्।

यस्तैयस्तै अनुभवले उनको यो गीत जीवनको नजिक बनेको छ।

अनुपको खुत्रुकेका पैसा
अनुपले टुटल चलाउन थालेको करिब तीन महिनामै सरकारले टुटल र पठाओमा रोक लगाउने निर्णय गरेको थियो। यसले उनको ४० हजार नगद जम्मा गर्ने लक्ष्य पूरा हुन पाएन। दुःख-सुख गीत भने सार्वजनिक गरेरै छोडे। सार्वजनिक गर्दा टुटलमा सवार यात्रु बोलाउन छुटाएनन्।

अनुप सानैदेखि साहित्यिक रहेछन्। केटाकेटी बेला कसैसँग रिस उठ्यो भने कवितामै गाली गर्दा रहेछन्। स्कुलमा कविता सुनाउँदा सधैं प्रथम हुन्थे रे। ‘संसारै बेइमानी’ आफू सात कक्षा पढ्दै लेखेका रहेछन्।

अनुप स्पष्ट पार्छन्, ‘त्यो बेलाको भाव भए पनि गीतमा हेरफेर गरेर नयाँ बनाइएको हो।’ उनको लेख्ने बानीले उनलाई सक्रिय पत्रकार मात्रै बनाएन, गायक पनि बनायो।

तनहुँमा जन्मेका अनुप २० वर्षअघि काठमाडौं आइपुगेका हुन्। लेख्न रहर लाग्ने भएकाले उनी आफ्ना दाइले अपनाएको पेसा पत्रकारितामै जोडिए। उनलाई संगीत र करातेमा रूचि थियो। उनका घरबेटीका छोरा गितार राम्रो बजाउने रहेछन्। दाइले नरूचाए पनि अनुप ती दाइनजिक रहेर गितार बजाउन थाले।

खुब माया गर्ने ती दाइले गितारका कर्ड सिकाए। तारमा औंला अभ्यस्त हुन थालेपछि फुर्सद मिल्यो कि अनुप डायरीमा कोरेका शब्द धुनसँगै गुनगुनाउन थाले। यस्तो अभ्यास उनी सकेसम्म दाइ कोठामा नभएको मौका छोपेर गर्थे रे!

‘म कक्षा नौमा हुँदा घरबेटीका छोरा बित्नुभयो। उहाँले मलाई एउटा भाँचिएको गितार गिफ्ट दिनुभएको थियो, टालेर बजाउँथे। निकै माया गर्नुहुन्थ्यो,’अनुप भावुक हुँदै भन्छन्। त्यो भाँचिएको गितार आज पनि सम्हालेर राखेका छन्।

Image may contain: 1 person

उनका दाइ रेडियोमा बिबिसी सुन्थे। बिबिसी अनुपका लागि अन्तर्राष्ट्रिय संगीतको स्वाद चाख्ने महत्वपूर्ण माध्यम बन्यो। अनुपको रूचि सानैदेखि र्‍याप, ब्लुज र अफ्रिकन संगीततिर तानियो। कवितामा रूचि भएकाले कविता नै गाउने गायक बब डेलन उनका प्रिय संगीतकर्मी बने।

हाल आफ्नो संगीतको ज्ञान बढाउन उनी औपचारिक रुपमा भोकल क्लास लिइरहेका छन्। भविष्यमा निरन्तर गीत रेकर्ड गर्ने धुनमा छन्। उनका डायरीमा उनी आफैंलाई प्रिय लाग्ने गीत धेरै छन्। समय र पैसा व्यवस्थापन गर्दै ती गीत क्रमशः सार्वजनिक गर्दै जाने उनको रहर छ।

दुई दशक काठमाडौंमा बिताएका अनुपलाई आफू न काठमाडौंको न गाउँको जस्तो अनुभव हुन्छ रे! अनुपले आफ्नो गीत संगीतमा पनि यस्तो संकट महशुस गरेका छन्। तर उनी सचेत रुपमै आफ्नो संगीतमा समाज र संस्कृतिसँगको जरा जोडिनुपर्ने मान्यता राख्छन्।

‘संसारै बेइमानी’मा पनि आफूले यो प्रयास गरेको उनको दाबी छ। समाजको विषय, क्या नाम जस्ता लोकथेगो र लोकबाजाको मिश्रणसहितको संगीत संयोजनले गीत समाजको नजिक छ।

‘यो के भाको, भन यो के भाको?’ गीतको यो प्रश्न अनुपको भनाइमा गीतको ‘जिस्ट’ हो।

भनिन्छ सार्थक कला र सिर्जनाले प्रश्न गर्न सिकाउँछ। अनुपको गीतले पनि बेइमानी प्रवृत्तिविरुद्ध प्रश्न उठाएको छ। हालसम्म दुइटा गीतमात्रै गाएका अनुप आफ्नो धीत मर्ने गीत गाउन अझै बाँकी रहेको बताउँछन्।

कुराकानीको बिट मार्नुअघि त्यस्तै एउटा गीत सुनाए जुन उनका लागि खास छ।

गाउँका कुरा गाउँमै रहे
गाउँका पीडा गाउँमै रहे
छोरा नाती सहरै गए
जान्ने सुन्ने विदेशी भए…

Leave a Reply

Your email address will not be published. Required fields are marked *