मनोरंजन

होस्टेल बस्छु भन्दै रुन्थेँ

मेरो नाम साम्राज्ञी राज्यलक्ष्मी शाह हो। मलाई नेपाली चलचित्रकी नवनायिका भने पनि हुन्छ। मैले चलचित्र ‘ड्रिम्स’बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी हुँ। मेरो बुवा सफल मोडल महेशविक्रम शाह र आमा गायिका नेहा राज्यलक्ष्मी हुनुहुन्छ।

अहिलेसम्म मैले आधा दर्जन जति मात्र चलचित्रमा काम गरेकी छु। यो यात्रा छोटो भए पनि दर्शकको माया अथाह पाइरहेकोमा खुसी छु।

मैले अभिनय गरेका चलचित्र ड्रिम्स, ए मेरो हजुर, इन्टुमिन्टु लन्डनमा दर्शकले निकै रुचाउनु भएको छ। पछिल्लो समयको चलचित्र मारुनी र रातो टीका निधारबाट पनि मैले दर्शकको धेरै माया पाएको छु।

भाइबहिनी हो, यो त मैले तिमीहरूलाई हालको अवस्थाको बारेमा जनकारी गराएकी हुँ। आज म मेरो विद्यालय जीवनको बारेमा पनि केही सुनाउन चाहन्छु।

विद्यालय नै हाम्रो दोस्रो घर भएकाले होला, यसको महत्व जीवनभर हुँदो रहेछ। १० कक्षासम्म मैले चार वटा विद्यालय परिवर्तन गरेँ। भारतमा गएरसमेत पढेँ। मैले गल्र्स होस्टेलमा बसेर पढेको थिएँ। होस्टेल भनेको घरपरिवारबाट टाढा बस्ने ठाउँ हो। त्यहाँ हामी जस्तै अन्य साथीहरू हुन्छन्। उनीहरूसँग मिलेर बस्नुपर्छ। आफ्नो काम आफैं गर्नुपर्छ।

म विद्यालयमा पढ्दा देशमा माओवादीको सशस्त्र द्वन्द्व चर्किएको थियो। माओवादीले चन्दाको नाममा बारम्बार बुवासँग पैसा माग्दा उहाँ मान्नु हुँदैनथियो। बुवाले पैसा दिन अस्वीकार गर्दा मलाई अपहरण पो गर्ने हो कि भन्ने चिन्ता परिवारमा भइरहन्थ्यो। किनकि म देश र परिवारबाट टाढा बसेर होस्टेलमा पढिरहेको थिएँ।

त्यसैले त्यहाँ म चाहेर पनि एक्लै घुमफिर गर्न सक्दिनथिएँ। कोही न कोही मेरा साथमा हुन्थ्यो। बाल्यकालमा खेल्नको लागि एक्लै साथीको घर जाँदा मैले कुटाइसमेत खाएको छु। म अपहरण भएको ठानेर मेरो परिवार तनावमा समेत परेको रहेछ।

म सानोमा निकै ज्ञानी भए पनि धेरै घुमघाम गर्नुपर्ने स्वभावको थिएँ। वीरगन्जको घरमा हुँदा म सबै साथीहरूसँग एकदमै खेल्ने गर्थें। ती दिनहरू मलाई अझै याद छ। तर भारतमा गल्र्स होस्टेलमा बसेर नेपाल फर्किएपछि केटाहरूसँग बोल्न भने अलि डर लाग्थ्यो। तर यो बानी पनि विस्तारै हट्दै गयो।

विद्यार्थी जीवनमा मैले अनावश्यक काममा कहिल्यै ध्यान दिइनँ। पढ्न, खेल्न, घुम्न र साथीहरूसँग रमाइलो गर्न पाए पुग्थ्यो।

मेरा केही खराब बानी थिए। म साथीहरूसँग झगडा गर्नमा अगाडि थिएँ। आफ्नै मिल्ने साथीसँग बारम्बार झगडा पथ्र्यो। तर फेरि एकैछिनमा मिल्थ्यौं पनि। पढाइमा म एक नम्बरको अल्छी थिएँ। ९ कक्षादेखि पढाइ कहिले सकिएला जस्तो हुन थाल्यो। घरमा जहिल्यै १० कक्षासम्म मात्र पढ्छु भन्थेँ। पढ्नुपर्छ भन्ने बित्तिकै अरू काम याद आउँथ्यो। निद्रा लाग्ने र भोग लाग्ने हुन्थ्यो।

म पढाइमा यति लापर्वाह भएको थिएँ कि एसएलसीको परीक्षामा फेल नै हुन्छु भन्ने पक्का थियो। आफूले ध्यान दिएर नपढेको मलाई महसुस भयो। त्यसैले नतिजा हेर्न समेत डर लागेको थियो। एसएलसीको रिजल्ट पनि अरूलाई नै हेर्न लगाएँ।

स्नातक तेस्रो वर्षको नतिजा त पाँच महिनासम्म हेरिनँ। त्यो परीक्षामा बस्न मैले एक हप्ता मात्र पढेको थिएँ। त्यसैले फेल हुने बढी सम्भावना थियो। पछि पास भएकी रहेछु। घरमा आमालाई नतिजा देखाउँदा उहाँले म पास भएको पत्याउनु भएन। यो सबै मेरो पढाइप्रतिको लापर्बाहीको नतिजा थियो। त्यसैले तिमीहरू अहिलेदेखि नै पढाइमा ध्यान देऊ है। पढाइ भनेको जीवनभर काम लाग्ने विषय हो। भाइबहिनी हो, तिमीहरूमध्ये धेरैको स्वभाव लजालु छ होला। नयाँ मानिस, विद्यालयका शिक्षकसँग हत्तपत्त बोलिहाल्न सक्दैनौं होला।

मेरो बानी पनि त्यस्तै थियो। एक्लै बस्न मन पराउने, लजालु स्वभावको थिएँ। नजानेका कुरा शिक्षकलाई सोध्नुपर्दो रहेछ। सबै कुरामा डराएर बसेमा त्यसले हामीलाई नै असर पार्दो रहेछ भन्ने मैले अहिले सिक्दैछु। अहिले म बोल्न डराउन्न। बोलेन भने अरूले झन् हेप्न सक्छन्। राम्रा विषयमा बोल्दा आत्मसम्मान पनि बढ्ने रहेछ।

सानोमा म होस्टेल बस्छु भन्दै रुन्थें। हतपति केटाकेटीहरू होस्टेलमा बस्न रुचाउँदैनन्। किनकि त्यहाँ बुवाआमा बस्न पाउँदैनन्। तर मलाई होस्टेल जीवन कस्तो हुन्छ भन्ने जान्न मन लाग्थ्यो। हाम्रो फार्म हाउस ठूलो भएकाले त्यहाँको चार कोठा होस्टेलका लागि दिइएको थियो। फुर्सदको समयमा म लुकीलुकी होस्टेल हेर्न जान्थेँ।

त्यहाँ बस्ने बच्चाहरूसँगै खान्थेँ र सँगै बस्थेँ। उनीहरूको सुत्ने कोठा पनि एउटै हुन्थ्यो। त्यो सबै देखेर मलाई होस्टेलमा जान मन लाग्थ्यो। मेरै जिद्दीका कारण पछि भारतमा पढ्दा होस्टेलमै बसेँ।

होस्टेलमा बस्दा निकै रमाइलो त भयो। तर मलाई बेलाबेलामा रुन पनि मन लाग्थ्यो। घरको धेरै याद आउँथ्यो। त्यसपछि घर छोडेर होस्टेलमा जानु ठूलो गल्ती जस्तो लाग्न थाल्यो।

होस्टेलमा बस्दा घरबाट फोन आउने आशामा घण्टौं फोनसँगै कुरेर बस्थेँ। नेटवर्क नलागेर कहिलेकाहीँ फोन लाग्दैनथियो। सबैको परिवार हप्ता दिनमा भेट्न आउँथे। तर म सधैं फोनको प्रतीक्षामा हुन्थेँ। घरबाट धेरै दिनसम्म फोन नआउँदा दिक्क लाग्थ्यो। फोन आउँदा आमासँग फोनमा खुब झगडा गर्थें। यो होस्टेलमा बस्दाको नरमाइलो पक्ष थियो। तर होस्टेलमा बस्नु नै नराम्रो चाहिँ होइन।

धेरैले भन्छन् होस्टेलमा बस्दा बालबालिकाको मानसिकतामा असर पुग्छ। घरपरिवारबाट टाढिएको महसुस हुन्छ। तर त्यसो होइन। होस्टेल लाइफले बालबालिकालाई अझै बलियो बनाउँछ। मलाई पनि आन्तरिक रूपमा बलियो बनायो। हिम्मतिलो बनायो। आफ्नो काम आफैं गर्न सिकायो। होस्टेलमा बसेपछि अरूमा निर्भर हुने बानीसमेत हट्दो रहेछ।

विद्यालय जीवनमा मैले धेरै साथी बनाउन सकिनँ। बनाए पनि त्यो मित्रता लामो समयसम्म टिक्दैनथियो। जति कोसिस गरे पनि म साथीहरूसँग घुलमिल हुन सकिनँ। धेरै साथीभन्दा मन मिल्ने एउटै साथी भएको राम्रो भन्ने मैले यसबाट बुझेँ।

म सानैदेखि दृढ स्वभावकी थिएँ। मनोबल उच्च थियो। यिनै विशेषताका कारणले म नायिका बनेकी हुँ जस्तो लाग्छ। नत्र नायिका बन्छु भन्ने कहिल्यै सोचेकी थिइनँ। बरु मलाई मोडलिङमा रुचि थियो। एयर होस्टेज, ट्याटु आर्टिस्ट र डिजाइनरमध्ये एक बन्ने सपना थियो। इच्छा जे भए पनि मेरो रुचि भने ग्ल्यामर फिल्डतिरै थियो।

मलाई सानैदेखि चित्र कोर्न मन पथ्र्यो। सानोमा अल्छी लाग्दा पनि चित्र बनाएर बस्थेँ। अहिले चित्र बनाउन छुटिसक्यो। कामको व्यस्तता यति हुन्छ कि भोक र निद्राको समेत टुंगो हुँदैन।

(नायिका शाहसँग सपना महर्जनले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *