प्रमुख समाचार

कात्तिक १३ गते बिदा दिन प्रधानमन्त्री सकारात्मक

काठमाडौं : भाइटीका लागि कात्तिक १३ गते बिदा दिन सरकार सकारात्मक देखिएको छ। राजधानीका केही सांसदले १३ गते बिदा दिन माग गर्दै प्रधानमन्त्री केपी शर्मालाई भेटेपछि उनी बिदा दिन सकारात्मक देखिएका हुन्।

सरकारले तिहारको बिदा कात्तिक १०, ११ र १२ गतेमात्र दिएको छ। संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश-३ का सांस अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौँ महानगरपालिका-२२ का अध्यक्ष चिनिकाजी महर्जनलगायतको टोलीले आइतबार प्रधानमन्त्रीसँग भेट गरेको हो।

‘वडादशैँ, दिपावली जस्ता महान पर्वको आ-आफ्नै खालको संस्कृति र परम्परा रहिआएको छ,’प्रधानमन्त्री ओलीसँग भेट गरेर फर्किनु भएका सांसद श्रेष्ठले भने, ‘हामीले आज प्रधानमन्त्रीज्यूलाई पञ्चाङ्ग समितिले घडी, पला मिलाएर विजया दशमी, भाइटिकालगायतका चाड-पर्वको साईत निकाल्दा नेवाः समुदायको मौलिक संस्कृति र परम्परालाई असर गर्ने गरेको छ। त्यसैले भाइटीका (किजापूजा) पनि त्यस्तै हुनेभयो। कात्तिक १३ मा पनि विदा चाहिन्छ भन्ने जानकारी गरायौँ। उहाँ सकारात्मक हुनुभयो।’

प्रधानमन्त्री ओलीले सरकारी क्यालेण्डर अनुसार कात्तिक १३ गते बिदा उल्लेख नभएकाले यसलाई मन्त्रीपरिषद्बाटै निर्णय गर्ने आश्वासन दिएको श्रेष्ठको भनाइ छ।

‘सरकारले पञ्चाङ्गलाई नै आधार मानेर यस्ता महत्वपूर्ण पर्वमा बिदा दिँदा नेवाः समुदाय थप मारमा पर्ने गरेका छन्,’ भेटपछि प्रदेश सांसद शाक्यले भने, ‘नेवाः समूदायको परम्परा अनुसार अहिले कात्तिक १२ गते भाइटीका मान्नै नसकिने भएकाले विदाका विषयमा पुनर्विचार गर्न हामीले प्रधानमन्त्रीज्युसँग आग्रह गर्यौँ। उहाँले मन्त्रिपरिषद्मा छलफल गरेर सकारात्मक निर्णय लिन्छु भन्नुभएको छ।’

सांसद शाक्यले पञ्चाङ्ग समितिको निर्णयलाई आधार मान्ने हो भने चतुर्दशीमा लक्ष्मीपूजा गर्नुपर्ने बाध्यता हुने र त्यो संभव नहुने पनि प्रष्ट पारे।

‘पञ्चाङ्गले ११ गते ९ बजेर ४५ मिनेटसम्म औंसी र १२ गते ७ बजेर ५१ मिनेटसम्म प्रतिप्रदा तिथि भनेको छ। त्यसपछि १२ गते नै भाइटीका भनेको छ,’ उनले भने, ‘पञ्चाङ्ग समितिको निर्णय मान्ने हो भने हाम्रो परम्परा अनुसार नेपाल संवत् र म्हपुजा नै हराउँछ।’

शाक्यका अनुसार नेवाः समुदायको परम्परा अनुसार नेपाल सम्वतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपुजा गर्ने चलन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *