आर्थिक

सुनचाँदी बजारमा ६ वर्षदेखि छैन अनुगमन, व्यापारीको चलखेल

काठमाडौं– सुनचाँदी तथा अन्य धातुका गरगहनाको बजारमा अनुगमन नभएको ६ वर्षभन्दा बढी समय भएको छ।वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अन्तिम पटक २०७० साल बैशाखमा उपत्यका बाहिरका मुख्य सहर र उपत्यकाभित्रका न्युरोड, चाबहिल, भक्तपुरलगायत क्षेत्रमा अनुगमन गरेको थियो। तर त्यसपछि विभागले देखिने गरी अनुगमन गरेको छैन। अनुगमन नभएपछि सुनचाँदी व्यवसायीहरु पनि बिना हिच्किचाहट उपभोक्ता ठगिरहेका छन्।

२०७० सालमा भएको अनुगमनमा ८ वटा सुनचाँदी पसलमा गम्भीर कैफियत भेटिएको थियो। गरगहनामा मिसावट र तौलमा व्यापारीले ठगी गर्दै आएको विषय बाहिर आएको थियो। तर त्यसपछि भने सुनचाँदी पसलहरुमा कहिल्यै बजार अनुगमन भएको छैन।

महत्वपूर्ण विषय त के छ भने सुनचाँदी बजार अनुगमन निर्देशिका सरकारले बनाएकै छैन। जसका कारण बजार अनुगमनमा समस्या भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको भनाई छ।

‘सुनचाँदी तथा अन्य धातुका गरगहनाको आयात–निर्यात, कारोबार तथा बजार अनुगमनका विषयमा हालसम्म पनि निर्देशिका बन्न सकेको छैन। हामीले केका आधारमा अनुगमन गर्ने भनेर अन्यौल हुँदा पनि बजार अनुगमन हुन नसकेको हो,’ महानिर्देशक गौचनको भनाइ छ।

२०७० बैशाखमा भएको सुनचाँदी पसलहरूको अनुगमनलगत्तै (बैशाख १३ गते) साविकको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट अनुगमन निर्देशिकाको नीतिगत खाता तयार पार्न मन्त्रालय र विभागलाई निर्देशन दिइएको थियो।

तर त्यो भन्दापछि निर्देशिका बनाउने नाममा दर्जनौं पटक छलफल भए पनि कार्यान्वयनमा आउन नसकेको उपभोक्ताकर्मी प्रेमलाल महर्जन बताउँछन्।

‘एउटा समिति नै गठन गरेर सुनचाँदी बजार अनुगमनको निर्देशिकाको मस्यौदा तयार पारी मन्त्रालयलाई बुझाएका थियौं। तर त्यो कार्यान्वयनमा आएन,’ निर्देशिका तयार पार्न गठन गरिएको समुहका सदस्यसमेत रहेका महर्जनले भने।

२०७० सालमा भएको अनुगमनपछि वाणिज्य विभाग र नापतौल तथा गुणस्तर विभागले संयुक्त रुपमा तयार पारेको अनुगमन प्रतिवेदन तथा निष्कर्ष विवरण हेर्दा सुनचाँदी व्यवसायीले उपभोक्तालाई अत्यधिक ठग्ने गरेको देखिन्छ।

व्यापारीहरुले वास्तविकभन्दा कम गुणस्तरको गरगहना बेच्ने गरेको, गहनामा मिसावट गर्ने गरेको, ज्याला तथा जर्ती निर्धारणमा बढी रकम असुल्ने गरेको, गरगहना नाँपजाँच गर्ने ढक तराजु ठिक अवस्थामा नरहेको निष्कर्ष अनुगमनपछि तयार पारिएको प्रतिवेदनमा उल्लेख छ।

व्यापारीहरुले सुनचाँदीको कारोबारमा लिँदै आएको नाफा निर्धारणमा राखेको शर्तका कारण नै उक्त निर्देशिका पारित नहुनुको मुख्य कारण मानिन्छ। तर नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सरकारले बजार अनुगमनसम्बन्धी निश्चित निर्देशिका बनाएर अनुगमन गरे व्यवसायीहरु सहयोग गर्न तयार रहेको बताउँछन्।

‘हामीले सरकारी निकायबाट हुने अनुगमनलाई सहयोग गर्छौं भनेकै छौं। तर केका आधारमा अनुगमन गर्ने हो भन्ने त प्रस्ट हुन पर्यो नि,’ शाक्य भन्छन्।

सुनचाँदी व्यापारीसमक्ष विभागका महानिर्देशकले भने- हामी अनुगमनमा आउँदैछौं, सुध्रिनुस्
दशैंतिहारलगायत चाँडबाड र कात्तिक मंसिर महिना सुनचाँदीलगायत गरगरहना बढी किनबेच हुने समय हो। यो समयमा उपभोक्ता ठगिएका उजुरीहरू पनि सरकारी निकायमा बढी आउँछन्।

यही विषयलाई मध्यनजर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत असोज २८ गते सुनचाँदी व्यवसायीहरुलाई बोलाएर बजार अनुगमनका विषयमा छलफल गरेको थियो। नेपाल लाइभलाई प्राप्त अडियोमा सोही छलफलका क्रममा विभागका महानिर्देशक योगेन्द्र कुमार गौचनले व्यवसायीलाई भनेका छन्, ‘हामी अनुगमनमा आउँदैछौं, सुध्रिनुस।’

सामान्यतया बजार अनुगमनको पूर्वजानकारी व्यापारीहरुलाई दिँईदैन। तर महानिर्देशक गौचनले भने खुलेरै व्यापारीहरुलाई आफू अनुगमनमा आउन लागेकाले तयार भएर बस्न भनेका थिए। विभागमै पनि अनुगमन शाखा निर्देशकले परिचालन गर्ने टिमलाई अनुगमन कहाँ र कसरी गर्ने भन्ने कुराको जानकारी अनुगमनमा हिड्ने बेलामा मात्र हुन्छ। तर त्यो दिन भने महानिर्देशक गौचनले अनुगमनमा जान लागेको बताए।

कार्तिक १४ गते सेवाबाट अनिवार्य अवकास लिन लागेका गौचन आफूले सरकारी सेवाबाट निस्किने बेलामा कुनै राम्रो र नयाँ काम गर्ने उद्देश्यले सुनचाँदी व्यवसायमा बजार अनुगमन गर्ने र यसअघि विभागले गरेका अनुगमनका फाइल कसरी अगाडि बढिरहेका छन् भनेर खोजीनिती सुरु गरेको बताउँछन्।

गौचन विभागमा आएको पनि एक वर्षभन्दा बढी समय भइसकेको छ। यसबीचमा उनले अनुगमन किन शुरु गरेनन् त? यस सम्बन्धमा गौचन भन्छन्, ‘विभागमा आएपछि यति धेरै ऐन/नियम, कानुन बनाउनुपर्ने जिम्मेवारी आइपर्‍यो कि अरु सानातिना विषयमा मैले ध्यान दिने समय नै पाइनँ। विभागमा कर्मचारी थोरै छन्। पछिल्लो एक वषए अवधिमा कर्मचारी व्यवस्थापन तथा सरुवाको विषयले पनि बजार अनुगमन प्रभावकारी रुपमा हुन सकेन।’ वाणिज्य विभागसँगै नेपाल खाद्य संस्थानको जिम्मेवारीमा पनि अहिले गौचन नै छन्।

व्यापारीको चलखेल
विभागले अनुगमन फेरि सुरु गर्ने तयारी गरेसँगै व्यापारीहरूले पनि त्यसलाई रोक्न पुरानो अनुगमनको विषयलाई उचालेर प्रोपागान्डाको अस्त्र विभागतिर हानेका छन्।

बजार अनुगमनका क्रममा विभागले संकलन गर्ने नमुना गरगहनाहरु फिर्ता नगरी कर्मचारीले गायब बनाएको उनीहरुको आरोप छ। २०६९ सालपछि भएका अनुगमनको नमुना सुन गायब पारिएको दाबी गरेपछि बजारमा तरंग फैलिएको छ।

तर यति लामो समयसम्म गायब पारिएको सुनको विषयमा नबोलेका व्यापारीहरू विभागले अनुगमन सुरु गर्ने तयारी गरेसँगै यो विषयलाई अगाडि ल्याएका छन्। जसबाट यो विषयलाई उनीहरूले अनुगमन रोक्न प्रयोग गरेको प्रोपागान्डाका रुपमा बुझ्ने आधार भएको विश्लेषण पनि गर्न थालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *