प्रमुख समाचार

ओली सरकारविरुद्ध फेरि मैदानमा उत्रिए गोविन्द केसी, कात्तिक १३ गतेदेखि अनशन

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चिकित्सा क्षेत्रमा सुधार नगरेको भन्दै पटक–पटक अनशन बसिसकेका प्रा.डा. गोविन्द केसी फेरि मैदानमा उत्रिएका छन् ।

उनले आईतबार एक विज्ञप्ति जारी गर्दै आगामी कात्तिक १३ गतेदेखि सुरु हुने अनशनबारे सरकारलाई स्मरण गराएका छन् । विज्ञप्तिमा उनले यसअघि सार्वजनिक गरेका ६ बुँदे मागको स्मरण गराएका छन् ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले चिकित्सा शिक्षा नै भद्रगोल हुने गरी निर्णय गरेकोमा विरोध जनाएका छन् । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले मन्त्रीको स्वार्थमा नर्सिङ शिक्षा नै भद्रगोल हुने गरी निर्णय गरेको भन्दै केसीको ठहर छ ।

‘आयोगले पूर्णता नै नपाउँदै हतार–हतार नर्सिङ कलेजहरूको सम्बन्धन सम्बन्धी निर्णय आयोगले गर्न छाडेर सीटीईभीटीलाई सुम्पिनुले सुधार र नियमनकै मर्ममा प्रहार भएको छ,’ डा. केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सबैभन्दा भद्रगोल अवस्थामा रहेको नर्सिङ कार्यक्रमको सम्बन्धनमा सुधार ल्याउनुको सट्टा मन्त्रीको स्वार्थमा झन् भद्रगोल हुने गरी निर्णय गर्नुले आयोगका उपाध्यक्षको नियत र राजनीतिक बफादारी छर्लङ्ग पार्छ ।’

केसीले आयोगको अधिकारी पुनःस्थापित गर्न तथा जनशक्तिको आवश्यकता र हाल चलिरहेका नर्सिङ कलेजको अवस्थाबारे बृहत् अध्ययन नगरी थप कलेजलाई सम्बन्धन नदिन पनि ध्यानाकर्षण गराएका छन् ।आयोगले पूर्णता नपाउँदै एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क बढाउने निर्णयप्रति पनि केसीले गम्भीर आपत्ति व्यक्त गरेका छन् ।

‘आयोग बनिसकेको अवस्थामा शुल्क निर्धारणका वैज्ञानिक पक्षबारे अध्ययन नगरी शुल्क बढाइनु हुँदैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘आयोगले निर्णय गर्दा व्यवसायीको मात्रै हित नहेरी विद्यार्थी तथा अभिभावकहरूको हितलाई प्राथमिकता दिनुपर्छ । त्यसैले आगामी शैक्षिक सत्रमा पछिल्लो वर्षको भन्दा नबढाई शुल्क कायम गर्न माग गर्दर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *