शिक्षा

७० वर्षमा पिएचडी गर्ने जाँगर

कोठाभरी असरल्ल किताबहरू छन्। कहिले कुन किताब चाहिन्छ, कहिले कुन। त्यसैले जतासुकै छरिएका छन्।

कहिले इन्टरनेटमा खोज्छिन्, कहिले आफैंले ल्याएका तथ्यांक मिलाउँछिन्। ७० वर्षीया इन्दिरा गौचन थापाको अधिकांश समय यसैगरी बित्छ।

जीवनका सात दशक यात्रा गर्दैगर्दा पनि उनलाई पढाइको हुटहुटीले छाडेको छैन।

‘अब ८ महिनामा त पक्कै पनि सकिन्छ होला,’ इन्दिराले भनिन्, ‘यो सिक्ने प्रक्रिया पनि कहिल्यै नसकिँदो रहेछ।’

२००६ साल, चैतमा बाग्लुङमा जन्मिएकी इन्दिराको पढ्ने यात्रा ४-५ वर्ष हुँदादेखि नै सुरू भएको हो। जब ८ कक्षा पुगिन्, उनलाई नर्स बन्ने इच्छा जाग्यो। त्यसका पछाडि कारण छ, उनको घरैमा ‘मिसनरी’ अस्पताल थियो।

‘घरमै खोलिएको अस्पतालमा नर्सहरूले काम गरेको देखेर नर्स बन्न मन लाग्यो। आफूले केही कुरा सिकिन्छ, घरका लागि पनि काम लाग्छ भनेर उत्प्रेरणा भयो,’ उनले सुनाइन्, ‘मलाई डाक्टर बन्न पाए हुन्थ्यो भन्ने कहिल्यै लागेन। हाम्रो बेलामा ‘स्कुल अफ नर्सिङ’ थियो। त्यसका लागि १० कक्षा पढेको हुनुपर्थ्यो। २०२३ सालमा काठमाडौं आएर यही पढेँ।’

नर्सिङ पास गरेलगत्तै २०२७ सालदेखि इन्दिराले पोखराको अस्पतालमा काम सुरू गरिन्। पोखराबाटै एसएलसी र प्रविणता तह पास गरेकी हुन्।

त्यसपछि नर्सिङ पेसा छाड्ने सोच पनि बनाएकी थिइन्। तर बिरामी भएकाले स्नातकको पढाई बीचमै छाडिन्।

२०४६ सालमा भारतको चण्डीगढबाट नर्सिङमा स्नातक गरिन्। फिलिपिन्सबाट नर्सिङमा स्नातकोत्तर गरेकी इन्दिरा हिजोआज विद्यावारिधि (पिएचडी) मा व्यस्त छन्। नेपालका अस्पतालमा नर्सिङ र व्यवस्थापनमा गरेको सोधपत्रलाई उनले अन्तिम चरणमा पुर्‍याएकी छन्।

जिन्दगी नर्सिङमै बिताएकाले पिएचडीको शोधपत्रमा पनि उनले यही विषय रोजेकी हुन्। अस्पतालहरूले नर्सको सेवा सुविधा र वृद्धि विकासमा ध्यान नदिएको उनको बुझाइ छ। निजी अस्पताल मात्रै होइन सरकारीले समेत ध्यान दिन नसकेको उनको अनुसन्धानले देखाएको छ। उनका अनुसार, धेरै निजी अस्पतालले त नियमावली समेत बनाउन सकेका छैनन्।

उनका श्रीमान डा. गोविन्दबहादुर थापाले नेपाल राष्ट्र बैंकबाट अवकास पाएका हुन्। एक छोरी स्त्रीरोग विशेषज्ञ छन्, छोरा बालरोग विशेषज्ञ हुन्।

दुई नाति र एक नातिनीकी यी हजुरआमाको पढ्ने धोको अझै सकिएको छैन।

‘सिकाई कहिल्यै नसकिने प्रक्रिया हो। सिक्नु, पढ्नु राम्रो काम हो। पिएचडी गर्दा मैले अझै विस्तृतमा पढेकी छु। त्यसैले यो मेरा लागि धेरै ठूलो सिकाइको आधार हो,’ उनले भनिन्, ‘पिएचडी गरेपछि यति उमेरमा पनि गर्न सकिँदो रहेछ भनेर अरूलाई पनि प्रेरणा मिल्छ।’

अन्तर्राष्ट्रिय स्तरको पढाइ हुन पिएचडी गरेकाले स्नातकोत्तर गरेकालाई पढाउनु पर्छ। तर नेपालमा त्यस्तो हुन नसकेकोमा उनलाई चिन्ता भने छ।

हामीकहाँ अनुसन्धानहरू निकै कम हुने भएकाले पनि ३८ वर्षसम्म सरकारी सेवामा काम गरेकी इन्दिरालाई पिएचडी गर्न मन लागेको हो।

पढाइ, काम र घरपरिवार कसरी सँगै अघि बढ्यो होला भन्ने जिज्ञासमा उनले भनिन्, ‘मेरो रुटिन हुन्थ्यो। कति बेला पढ्ने, कति बेला घरको काम गर्ने र कति बेला काममा जाने। व्यस्त हुँदा पनि म कहिल्यै अस्पताल ढिलो पुगिनँ।’

उनलाई पिएचडी गर्ने रहर हालसालै पलाएको होइन। आफू व्यस्त हुँदा साना छोराछोरीमा ध्यान दिन सकिँदैन, उनीहरूको पढाइमा बाधा हुन्छ भनेर बीचमा रोकिइन्।

भन्छिन्, ‘मैले पैसा कमाउन पढेको होइन। कहिल्यै त्यस्तो लागेन पनि। खाली बस्ने बानी छैन मेरो। अहिले पनि अरू धेरै काम गर्छु, नाति हेर्छु तर आजकल बुढेसकालले गर्दा अलि थकाइ भने लाग्छ।’

पढ्ने जोश त तन्नेरीभन्दा कम छैन, किन यत्तिका मेहनत भन्ने प्रश्नमा उनले हाँस्दै भनिन्, ‘पढाइको महत्व व्याख्या गरेर सकिँदैन। यो उमेरमा मैले पढ्नु नै सबैभन्दा ठूलो महत्व हो।’

आफ्नो पढाइले शिक्षाको गुणस्तरमा कहीँ न कहीँ सुधार ल्याउन सहयोग गर्ने उनको विश्वास छ। औपचारिक र अनौपचारिक शिक्षामा पनि उनले केही भिन्नता देखेकी छन्।

‘मैले पिएचडी नगरी पनि अहिले अध्ययन गरे जति गर्न सक्थेँ होला। तर यसले मलाई औपचारिक डिग्री दिँदैन, ‘इन्दिराले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *