खेलकुद

बेल र मोड्रीचले च्याम्पियन्स लिगको खेल गुमाउने!

एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिडका लागि स्टार खेलाडीद्वय ग्यारेथ बेल र लुका मोड्रीचले च्याम्पियन्स लिगको अर्को खेल गुमाउने भएका छन् ।रियलले मंगलबार राति समूह चरणको तेस्रो खेलमा टर्कीको गालाटासरेसँग प्रतिस्पर्धा गर्दैछ । शनिबार भएको खेलमा पनि दुवै खेलाडी उपस्थित रहेका थिएनन् । जिदानले यी दुईसँगै ड्यानी कार्भाजल, इडेन हाजार्ड र टोनी क्रुसलाई पनि मालोर्काविरुद्ध खेलमा विश्राम दिएका थिए । नतिजा रियल १–० ले पराजित हुन पुगेको थियो ।

च्याम्पियन्स लिगका लागि भने क्रुस, हाजार्ड र कार्भाजल टोलीमा समावेश भएका छन् । हाजार्ड आफ्नो बच्चाको जन्म भएकाले छुट्टिमा रहेका थिए भने क्रुसको सामान्य चोट ठिक भइसकेको छ । कार्भाजललाई प्रशिक्षक जिदानले च्याम्पियन्स लिगका लागि भनेर नै विश्राम दिएका थिए । लुकास भाज्केज भने अझपनि चोटका कारण मैदानबाहिर रहनेछन् ।

च्याम्पियन्स लिगमा रियलले यसपटक बिर्सनलायक सुरुवात गरेको छ । समूह ए मा रहेको रियल अंक तालिकाको पुछारमा छ । पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३–० ले पराजित भएपछि दोस्रो खेलमा क्लब ब्रुजसँग बराबरीमा रोकिएको थियो । रियल एक समय ब्रुजविरुद्ध २–० ले पछाडी परेपनि २–२ को बराबरी गर्न सफल रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *