मनोरंजन

आफैं अभिनय गरेर अरुलाई अन्याय गरेजस्तो पनि लाग्छ

नेपाली चलचित्र उद्योगमा संकटकाल लगाउने तयारी भइरहेका बेला सेन्सरबोर्डले संकटकाल अगाडिको अन्तिम चलचित्र भनेर ०६० को दशकको अन्तिममा एउटा चलचित्र सेन्सर गर्यो । निर्देशक थिए नयाँ । विषय थियो नयाँ, कलाकार थिए नयाँ अनि थियो नयाँ प्रस्तुति । अर्थात् चलचित्रभन्ने शैली नयाँ । ती निर्देशक थिए निश्चल बस्नेत अनि चलचित्र थियो ‘लुट’ । अन्ततः चलचित्रले लाग्न लागेको चलचित्र उद्योगको संकटकाल टारिदयो । चलचित्र हिट भयो। कलाकार मात्रै होइन, पहिलोपटक निर्देशक पनि सेलिब्रिटी बने । त्यसपछि उनले ल्याए ‘टलकजङ्ग भर्सेस टुल्के’ । त्यो पनि फरक कथा बोकेर आएको थियो ।

तत्कालीन माओवालदी जनयुद्धको कथा मुख्य कथानक थियो। त्यसपछि निश्चल लिएर आए, ‘लुट’को सिक्वेल । त्यस यता उनले कुनै पनि चलचित्र निर्देशन गरेका छैनन् । हल्ला चल्छ,उनी निर्देशनको तयारीमा छन् । तर अन्ततः फेरि उनी पछि हट्छन् । निर्देशकका रुपमा निश्चल देखा नपरे पनि उनी अभिनेताका रुपमा भने बाक्लै देखिँदै आएका छन् । केही समय पहिला ‘प्रसाद’मा देखिएका उनी त्यसअघि ‘दुई रुपैयाँ’मा मुख्य भूमिकामा थिए । अहिले उनै निश्चल मुख्य अभिनयमा रहेको चलचित्र ‘घामण शेरे’ यही कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । उनै निश्चल बस्नेतसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीको अंशः

तपाईंको निर्देशनमा नयाँ चलचित्र र मेलम्चीको पानी काठमाडौंआउने कुरा त उस्तै उस्तै भयो त ।
हा…हा…हा…. मेलम्चीको पानीमा चाहिँ धेरै राजनीति भयो भन्ने सुनिन्छ । तर मेरो चलचित्रमा त्यस्तो राजनीति छैन । हा…हा…हा…. ! म आफैँ नै तयार छैन । मैले जे चिज ल्याउन खोजेको छु त्यो सोचे अनुसारको भैरहेको छैन । मैले आफैँ लेख्न थालेको कथा आफैँलाई चित्त नबुझेर त्यो आइडिया मैले बुद्धिसागर दाइलाई दिएको छु ।

राइटिङ नै राम्रो नभएसम्म राम्रो चलचित्र बन्दैन भन्ने बुझाइ छ । त्यही भएर दाइबाट आइसकेपछि काम सुरु गर्छु । बुद्धि दाइ स्वयम् साहित्यकार त्यसमा पनि फिल्म पारखी । मैले खोजेको चिज उहाँबाट आउँछ भनेर कुरा गर्दा आइडियामा कुरा नगरौं फिलोसफीमा कुरा गरौं। फिल्मको फिलोसफीमा गएर हामी कमै चलचित्र बनाउँछौं । फिलोसफी निस्कियो भने त्यसभित्र रहेर जस्तो कथा ढालेपनि भयो । उहाँ विस्तारो लेखिरहनु भएको छ । आफूले लेख्न थालेको आधा लेखिसकेपछि मलाई नै कस्तोकस्तो लाग्यो, ठिक पनि गइरहेको छ, बेठिक पनि गइरहेको छ भन्ने लागेर उहाँलाई दिएको हुँ ।

राम्रो चलचित्रका लागि कथा भेटिँदैन कि सोचे जस्तो स्क्रिप्ट अभाव हो ?
कथा त यति धेरै छन् । हामीले छुन नसकेको कथा कति छन् कति । तपाईं र म कुरा गर्दागर्दै पनि, म घरबाट यहाँ आइपुग्दा पनि कथा भेटिन्छ । भन्न सक्ने, स्क्रिनप्ले लेख्न सक्ने, पटकथा लेखकको कमी छ । बुलन्द कथा लेख्न सक्ने व्यक्तिको कमी छ । हाम्रो फिल्म एउटा बिन्दुमा पुगेर चुक्नुको कारण पनि यही नै हो ।

तपाईं स्क्रिप्टको खोजीमा भन्दा पनि अभिनयमा बढी व्यस्त भएकाले निर्देशन पछि धकेलिएको हो कि !
एक मनले सोच्दा हो कि जस्तो पनि लाग्छ । मैले अभिनयमा समय दिएर निर्देशनलाई कम समय दिएको हो कि जस्तो पनि लाग्छ । जसरी मैले अहिले अरुका दुइटा चलचित्र गर्छु भनेर भनेँ त्यो समयमा मैले मेरो चलचित्रबारे केही गर्नै पाउँदिन । यो कुरालाई हेर्दा हो कि जस्तो पनि लाग्छ । तर मैले अभिनयलाई प्राथमिकता दिएर निर्देशनलाई छायाँमा राखेको भन्ने हुँदैहोइन । बनाउने कुरामा पनि उत्तिकै सोचिराखेको हुन्छु । सानो सानो कुराहरु केही न केही मेरै लागि गरिरहेको हुन्छु ।

अरु बर्सेनि चलचित्र निर्देशन गरिरहेका छन्, तर तपाईं भने कथा कथा भन्दै अल्झिरहनु भएको छ, आत्मविश्वासको खडेरी हो कि आलोचकको डर ?
कथाभन्दा पनि पटकथामा अल्झिएको छु । आत्मविश्वासको खडेरी नै परेको छैन नि भन्छु । तर अवेर चाहिँ छु । आलोचना हुन्छ नै । राम्रो बनाउन नसके थेग्नै नसक्ने आलोचना हुन्छ । आफैंलाई गाह्रो हुने आलोचना हुन्छ । कम्तिमा ठिक्कको मात्रै बनाउन सकियो भने आलोचनासँगै सकारात्मक आलोचना पनि आउँछ । म आफैंले आफैंलाई तयार नगरी कसरी चलचित्र बनाउने ? बनाउनैका लागि त बर्सेनि चलचित्र बनाउन सकिन्छ । तर मैले दिएको मापदण्डभित्र म पुग्न सक्छु कि सक्तिन ।

मलाई अब एभरेज फिल्म गर्नु छैन । एभरेज फिल्म वर्षमा हैन स्क्रिप्ट आइसकेपछि त्यसलाई छ महिनामै आफ्नो तरिकाले फिल्ममा ढाल्न सक्छु । तर त्यो गरेर मलाई आत्मसन्तुष्टि हुन्छ कि हुँदैन ? हुँदैन । पहिलो चलचित्रले जुन नाम दियो । त्यो नाम धमिल्याउँदै जाने काम मात्रै हुन्छ । मैले ल्याएको चिज अरुलाई फरक लागोस् या न लागोस् कम्तिमा मलाई चाहिँ फरक लाग्नुपर्छ । त्यति विश्वास गरेर मैले काम गरेँ भने त्यो इफोर्ट काममा देखिन्छ कि । यसकै लागि हो मैले ढिलो गरेको । मैले सोचेको छु मेरो बारेमा । म धेरै चलचित्र निर्देशन गर्ने निर्देशक बन्न नसकुँला । तर थोरै चलचित्र निर्देशन गरेर ती थोरै चलचित्रबाटै चिनिन चाहन्छु ।

तपाईं नेपाली चलचित्रमा मौलिक कथा र प्रस्तुति भित्र्याउने निर्देशकमध्येको एक, तर पछिल्लो समय विषयभन्दा बजारमा ध्यान दिनुहुन्छ भन्ने टिप्पणी छ नि !
बनाएकै जम्मा तीनवटा छ । दुइटा बजारलाई ध्यान दिएर बनाएकै होइन । तेस्रो चाहिँ बजारलाई मात्रै ध्यान दिएको । त्यसको रिजल्ट देखिहाल्यो । ती कुराहरुले मलाई सिकाइरहेको छ । अहिलेको समयमा एक हदसम्म बजारमुखी हुनुपर्छ । हामी संघर्षको समयमा बजार नहेरी चलचित्र बनाउँथ्यौं । अबमेनस्ट्रिममा हामी नै लिडिङ गरिरहेको अवस्थामा बजार पनि सँगै जोडिएर आउँछ । त्यसबारे पनि अब सोच्नुपर्छ । पहिला ‘लुट’ बनाउँदा ५२ लाखमा बनाइयो भने अहिले त्यही चलचित्र बनाउन १ करोड ५२ लाख लाग्छ । रिकभरीको प्रोसेस पनि हामीले सोच्नुपर्छ ।

एउटा बिन्दुमा पुगेर त्यसमा अडिरहन साह्रै गाह्रो भयो है ?
गाह्रो त छ । हामीभन्दा अगाडिको पुस्ताको सफल निर्देशक पनि हेर्छु म । उहाँहरु कसरी राइज हुनुभयो । राइज हुँदैहुँदै जाँदा उहाँहरुको डाउनफल पनि आयो । किन आयो भन्दा सम्भवतः समयलाई बुझेर चलचित्र बनाउनु पर्छ । त्यही समयको चलचित्र बनाउनु पर्दैन । बुझेर बनाउनु पर्छ । नयाँ आउने मेकरहरुसँग पनि छलफल गर्नुपर्छ । किन भने हामी नयाँ भन्दाभन्दै पुरानो थोत्रो हुन लागिसक्यौं । म पनि त्यही क्याटागोरीमा हुन्छ, त्यसैले कमजोर चलचित्र बनाउँदै डाउनफल नहौं भन्ने लाग्छ । गाह्रो छ, समय लिन्छु । तर समय नै नलाग्नै त हैन नि!

अब त तपाईं निर्देशक मात्रै रहनु भएन, अभिनेताको पनि छवि बनाइसक्नु भयो, फिल्म नपढेको निर्देशक र फिल्म पढेको निर्देशकसँग काम गर्दा के फरक हुन्छ ? फिल्म बनाउन फिल्म पढ्नैपर्छ ?
चलचित्र क्रिएटिभ क्षेत्र हो । यस्तो सोच मान्छेमा जु सुकै बेला पनि आउन सक्छ । कोही मान्छे कवि नहुनसक्छ । तर कुनै बेला अचानक मनमा आएको भावना उतार्दा ऊ राम्रो कवि पनि बन्न सक्छ । फिल्म पनि क्राफ्ट हो । यसमा प्राविधिक र सैद्धान्तिक ज्ञान भयो भने मात्रै राम्रो हुन्छ भन्ने चाहिँ छैन । तर भयो भने पक्कै पनि राम्रो हुन्छ ।

आलोचक र समीक्षकहरु बीचको शीत युद्धलाई कसरी हेर्नुहुन्छ ? चलचित्र उद्योग फस्टाउन समालोचकको भूमिका महत्वपूर्ण हुन्छ ?
राम्रो लेखिँदा त्यही समीक्षकको हेडलाइनलाई कोट गरेर पब्लिसिटी गरिन्छ । फिल्म मेकरलाई म्याटर कति गर्छ भन्ने कुरा यसबाटै थाहा हुन्छ । खेदो खनेका समीक्षा पनि आउँछन् । बुझेर लेख्न पाइन्छ । चलचित्र बुझेर समीक्षा लेख्दा पनि मेकरहरुले समीक्षकको आलोचना गरिरहेका हुन्छन् । यो एकअर्कासँग जोडिएर जाने चिज हो । सबैका लागि गरेको कामको प्रतिक्रिया आउँछ । साधारण मान्छेले गर्दा माध्यमको अभावले त्यो सुनिँदैन र याद हुँदैन समीक्षा आम मान्छेमा जाने भएकाले यसले अर्थ राख्छ ।

के नेपाली समालोचना पनि नेपाली फिल्म उद्योग झैं ‘कमजोर’ छ ?
हो । केही फिल्म मेकरहरु पनि कमजोर छैनन् । र केही समीक्षकहरु पनि कमजोर छैनन् । राम्रा समीक्षक पनि छन् ।

पत्रकारिता गरेको छ भन्दैमा उसले समीक्षा लेख्न पाउँछ कि पाउँदैन ? समीक्षा बन्ने आधार केके हो । त्यो कुरा सायद चाहिन्छ होला । चलचित्रको ज्ञान भएका मान्छेहरुबाट त त्यस्तो समीक्षा नआउला । किन भने उहाँहरुले राम्रो कुराको बयान पनि गर्नुहुन्छ । नराम्रो चिजको खेदो पनि खन्नुहुन्छ । त्यसको सबैले स्वागत नै गर्नुपर्छ ।

तर कति यस्तो समीक्षक पनि हुनुहुन्छ, फिल्ममा के छ त्यसको समीक्षा होइन फिल्म बनाउने मान्छेको समीक्षा गरिन्छ । बनाउने मान्छेले बनाएका अघिल्ला चलचित्रसँग जोडिन्छ । दर्शकलाई यस्तो लाग्न सक्छ, दर्शकले के सोचेर हेर्ने भनेर लेख्छन् । वास्तवमा समीक्षकले भनेको दर्शक को हो ? हरेक व्यक्तिको आआफ्नै एनलाइसिस हुन्छ । समीक्षकले यो कुरा चाहिँ दर्शकलाई नराम्रो लाग्न सक्छ भन्ने उहाँ को हो ?उहाँले त आफ्नो कुरा पो लेख्ने हो त । समीक्षकलाई मन नपरेको दर्शकलाई मन पनि पर्न सक्छ नि ।

फिल्म मेकरहरुले पैसा तिराएर समीक्षा लेखाउँछन् रे नि हो ?
मैलै चाहिँ लेखाएको छैन । अरुले लेखाएको पनि देखेको छैन । तर पढ्दा त्यो लाग्छ किनभने त्यो चलचित्र हामीले पनि हेरेका हुन्छौं । लेखिए बराबरको फिल्म नदेख्दा हो कि जस्तो अनुमान चाहिँ लगाउन सकिन्छ ।

अभिनय क्षमताका हिसाबले तुलनात्मक रुपमा स्वस्तिमा (खड्का) जी कि तपाईं अब्बल कलाकार ?
स्वस्तिमा धेरै अगाडि । हि…हि…हि… (लामो हाँसो ।)

स्वस्तिमा (खड्का)जीलाई ‘बुलबुल’ले ठूलो हाइट दियो । त्यसको स्क्रिप्ट तपाईंको हातमा आइपुग्दा यो स्क्रिप्टमा म स्वस्तिमालाई कतै देख्दिन भन्नुभएको थियो रे ! अहिले सम्झिँदा कस्तो लाग्छ ?
मलाई गाह्रो हुन्छ । मैले स्वस्तिमालाई मेरी श्रीमती भन्दा अगाडि हिरोइनका रुपमा मात्रै देखिरहेको थिएँ । अभिनेत्रीको रुमा कहिल्यै पनि देखेको थिइनँ । सायद उनले त्यस्तै चलचित्रमा मात्रै काम गरिरहेकी थिइन् । उमेरले पनि म उसलाई सधैँ सानै देखिरहेको हुन्छु । त्यो स्क्रिप्ट हेर्दा त्यहाँ परिपक्व चरित्र थियो । त्यो सुरुमा हामी दुई जनाले गर्ने अफर आएको थियो । आयो तर मैले त्यो फिल्म गर्न नसकेको हो।

किन गरिनछु ‘बुलबुल’ भन्ने अहिले पश्चाताप लाग्छ ?
पश्चताप त लाग्दैन । तर विनोद (पौडेल) सरले एक्टरका रुपमा मलाई धेरै कुरा सिकाउनु हुन्थ्यो होला, त्यो अवसर पाउँथे भन्ने लाग्छ । तर मलाई डर के थियो भने म त्यसमा आबद्ध हुनेबित्तिकै त्यो चलचित्रको बजेट बढेर जान्थ्यो । त्यो बजेट उठाइएन भने त्यो फिल्म काम लाग्दैन मेरा लागि । म अरुको फाइनान्सियल बोझ आफ्नो टाउकोमा बोकेर अरुलाई घाटा लगाउन सक्तिन ।

नैतिकरुपमा नै मलाई अफ्ठ्यारो अनुभूत हुन्छ । आफूले आफूलाई सम्झाउन नै गाह्रो हुन्छ । कस्तो देखिन्छ होला जस्तो लाग्थ्यो । स्वस्तिमा मेरो श्रीमती नभएर अरु नै कोही भइदिएको भए मेरो कल्पना शक्तिले काम गथ्र्यो होला । तर उसले यसरी गर्न सक्छ कि सक्तैन, गर्यो भने कस्तो होला भन्नेमा नै शंका थियो । म भन्थेँ, “कस्तो देखिन्छौ होला । (हि…हि…हि… ।) तर यस्तो भएर आयो चलचित्रमा मलाई लाग्यो उनी जस्तो सुकै क्यारेक्टर पनि गर्न सक्छिन् ।

यसको अर्थ म पनि अभिनयमा अझ धेरै सिक्न पाउने रहेछु भन्ने लोभ चाहिँ लाग्दोरहेछ ?
सिक्न पाउँथे कि भन्ने त लाग्छ । तर मैले अभिनय सिक्ने चक्करमा अरुको चलचित्र बिग्रियो भने त्यो जस्तो आत्मग्लानी मलाई कहिल्यै पनि हुने थिएन होला ।

नेपाली चलचित्रका कमजोरी के हुन्, ताकी समीक्षकले सधैँ आलोचना गर्छन्, र पहिलो रोजाई हिन्दी चलचित्र नै हुन्छन् ?
पछिल्लो समय हेर्न हो भने सबैभन्दा धेरै कमाउने चलचित्र नै नेपाली चलचित्र छन् । तर नियमित हेर्ने हिन्दी चलचित्र नै हो अहिले पनि । किन भन्दा हिन्दी चलचित्रले स्टारडम दिएको छ हामीलाई । त्यहाँ स्क्रिप्टमा विविधता आउन थालिसक्यो । जस्तोसुकै स्क्रिप्टलाई पनि मनोरञ्जनात्मक बनाएर चलचित्र बनाउन थालियो । तर हामी अहिले पनि फर्मुलामै काम गरिरहेका छौं ।

चाहे त्यो नयाँ फर्मुला नै किन नहोस् । जसरी पनि हसाउँने चक्करमा छौं, चाहे त्यो जुनसुकै जानराको चलचित्र होस् ।स्क्रिप्टले मागेर डार्क ह्युमरको रुप दिएको हो कि बजारले मागेर दिएको भन्नेमा हामी फिल्म मेकर पनि कन्फ्युज छौं होला ।

‘घामड शेरे’ले तपाईंलाई पैसा बाहेक के दियो ?
‘घामड शेरे’ले अभिनेताका रुपमा आफूले आफूलाई चिन्नका रुपमा अर्को खुड्किला थपिदिएको छ । म एक्टरको रुपमा पनि ग्रो गर्न सक्छु भन्ने पछिल्लो दुई तीनवटा चलचित्र गर्दा थाहा पाएको हुँ । गर्नु नै छ भने काम चलाउका लागि किन गर्ने ? आउँदैन भने कहिलेसम्म यो काम गरिरहने ? उहाँले खेलाउनु भयो मैले खेल्दिएँ भनेर कैलेसम्म काम गर्ने ? ‘घामड शेरे’ले म भित्र रहेको अभिनयलाई तिखार्न सहयोग गर्यो । मलाई योभन्दा अगाडि अलिकति लाज थियो होला तर यो चलचित्रबाट मैले त्यो त्यागेँ ।

यसमा क्यारेक्टरलाई बोक्ने प्रयास गरेको थिएँ । निश्चल बस्नेत क्यारेक्टरमा नदेखियोस् भन्ने प्रयास गरेको छु । सुरुदेखि नै शेरे देखियोस् भनेर मेहनत गरेको छु । यो चलचित्रमा म सफल भएँ भनेँ मैले नेपाली चलचित्रमा अभिनय गरेर अभिनयको क्षेत्रमा केही योगदान दिन सक्ने रहेछु भन्ने लाग्ने छ । मलाई बेलाबेला आत्मग्लानी पनि हुन्छ मैले गरेको रोलमा अरु कोही भएको भए यसले मैलेभन्दा राम्रो पो गर्नेथियो कि । कतै मैले यो काम गर्नाले अर्को व्यक्ति अवसरबाट बञ्चित पो भयो कि । मैलेभन्दा उसले काम गर्दा चलचित्र नै राम्रो पो बन्ने थियो कि भन्ने सोच्छु ।

त्यो शंका यसबाट हट्यो ?
यो चलचित्रमा आइपुग्दा यसमा नराम्रो काम गरेको छु भन्ने फिल भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *