प्रमुख समाचार

डीएनए परीक्षण गर्न धान पठाइयो काठमाडौं

गुलरिया : देशकै अन्नभण्डारका रुपमा मानिने बर्दियाको राजापुर क्षेत्रमा गरीमा जातको धान नफलेपछि त्यसको डीएनए परीक्षण सुरु भएको छ । सुपरजोन क्षेत्र राजापुरका किसानले रोपेका गरीमा जातको धानको बीउ फरक परेको आशंकामा अनुसन्धान गर्न डीएनए परीक्षण सुरु गरिएको हो ।

गरीमा जातको धान पाक्ने बेलामा पनि नपसाएको धान सुपरजोन राजापुरका वरिष्ठ कृषि अधिकृत तपेन्द्र बहादुर शाहले बताए । उनले भने,’ नेपालमा राष्ट्रिय सूचिकृत गरीमा जात गतवर्ष राजापुर क्षेत्रका किसानले लगाउँदा उत्पादन राम्रो भएकाले यस वर्ष पनि सोही जातको धान लगाएका हुन् । गरीमा लेखिएको बीउको प्याकिङमा अन्य कुनै जातको धानको बीउ राखी बिक्री वितरण गर्नेले बदमासी गरेको हुनसक्ने अनुमान शाहले प्रष्ट्याए।

उनले थपे करिब १ सय देखि १ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धान पसाएको छैन । नपसाएको धानको बोट हेर्दा अन्य जातको जस्तो देखिन्छ । धानको डीएनए परीक्षण गर्न काठमाडौं पठाइएकाले रिपोर्ट आएपछि वास्तविकता बाहिरिने उनको भनाई छ ।

किसानले आफ्नै लगानीमा विभिन्न एग्रोभेटबाट धानको बीउ खरिद गरेकाले बदमासी गर्नेले किसानलाई क्षतिपूर्ति भर्नुपर्ने र त्यस्ता बीउ वितरकलाई कारवाही गर्नुपर्ने उनले बताए। देशकै धान सुपरजोन क्षेत्र राजापुरमा १६ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । जसमा वर्षेनी ६३ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

यसवर्ष धान नफलेपछि २ दशमलव ०३ प्रतिशत उत्पादकत्व घट्ने अनुमान जोन कार्यालयको छ । शाहले थपे भित्र्याउने बेलामा धान नपसाएपछि किसानसँगै सुपरजोन क्षेत्रमा चुनौती थपिएको छ । बर्दियामा मात्र होइन देशका अन्य क्षेत्रमा पनि गरीमा भनिएका जातका धानको अवस्ता उस्तै छ।

जसका कारण यसवर्ष बर्दियामा धान उत्पादन घट्ने निश्चित छ । प्राकृतिक रुपमा गवारो किराको प्रकोप झेलिरहेका किसान व्यापारीबाट ठगिएपछि दोहोरो पीडामा छन् । धान काट्ने बेलासम्म पनि नफलेपछि किसान समस्यामा परेको राजापुरका सहायक बडघर दिपक चौधरीले बताए । उनले भने राजापुर धान घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।

राजापुरमा लगाइएको धानमा समस्या देखिएपछि प्रदेश नम्बर ५ का कृषिमन्त्री आरती पौडेल, जिल्लाका प्रदेश सांसद, कृषि वैज्ञानिकलगायत सरोकारवालाको टोलीले धान लगाइएको क्षेत्रमा अवलोकन तथा अनुगमन गरेको सहभागी जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । उनले भने,’ गरीमा जातको धान नपसाएको पाइयो । प्रदेश सरकारबाट क्षतिपूर्ति दिलाउने प्रतिबद्धता मन्त्रीबाट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *