प्रमुख समाचार

विचरा प्रचण्ड ! प्रधानमन्त्री नपाएर रुँदै हिँडेका छन्

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक गुरु मान्ने गरेका नेकपा क्रान्तिकारी माओवादीको अध्यक्ष मोहन बैद्यको पार्टीले प्रचण्डबारे कडा टिप्पणी गरेको छ । क्रान्तिकारी माओवादीले प्रचण्डले प्रधानमन्त्री हुन नपाएको भन्दै रुँदै हिँडेकोप्रति दयाभाव देखाएको छ ।

पार्टीले भनेको छ, ‘प्रधानमन्त्रीको आलोपालो भएन भनेर रुँदै हिँडेका छन् । कहिले माधव नेपाल, कहिले बामदेव गौतम त कहिले ईश्वर पोखरेल कहाँ गएर बिन्तीभाउ गरिरहेका छन् ।’ तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुँदा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति भएको सार्वजनिक भएपनि प्रधानमन्त्री नपाउँदा प्रचण्ड असन्तुष्ट छन् ।

प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुनेमा शंका गरिरहेका बेला क्रान्तिकारी माओवादीले प्रचण्डले एमाले नेताहरूसामु बिन्तीभाउ बिसाउन थालेका टिप्पणी गरेको छ । बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको खुला मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ले कात्तिक २ र ३ गते बसेको केन्द्रीय समितिको बैठकले उपचुनावमा भाग नलिने लगायतका निर्णय गरेको छ ।

निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष सीपी गजुरेलले सामाजिक सञ्जालबारे ओली र प्रचण्डले गरेको टिप्पणीको पनि आलोचना गरे । ‘प्रचण्ड फेसबुक हेर्न नसकिने भयो भन्नुहुन्छ । प्रधानमन्त्री ओली पत्रकारले बाआमालाई पनि तपाईं भन्दैनन् भनेर टिप्पणी गर्ने अवस्थामा पुगिसक्नुभयो । यो उहाँहरूले गरेको कार्यकै उपज हो । नेतृत्वले जे गर्छ त्यही सामाजिक सञ्जालमा पोखिन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *