प्रमुख समाचार

यस्तो हुनेछ नागढुंगा सुरुङमार्ग

काठमाडौं : मुलुकमा पहिलोपटक रणनीतिक महत्वका सडक सुरुङमार्गसित जोडिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र जापानी राजदूत मासासी साइगोले काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्म २.६८ किलोमिटर सुरुङ मार्गको संयुक्त रूपमा शिलान्यास गरे। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको यो सुरुङ मार्ग अबको ४१ महिनापछि सम्पन्न हुनेछ।

सुरुङ मार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले ‘अब मुलुक सडक सुरुङ युगमा प्रवेश गरेको’ उद्घोष गरे। ‘विद्युत, सिँचाइका लागि प्रयोग हुँदै आएको सुरुङ अब सडकमा पनि उपयोग हुनेछ’, ओलीले भने, ‘सुरक्षित र सडक दुरी घटाउन सुरुङको आवश्यक छ।’

यो सुरुङमार्गले काठमाडौंलाई सहज रूपमा व्यापारिक नाकासँग जोड्न विकल्प प्रदान गरेको छ। सवारीको चापसँगै नागढुंगा-कलंकी क्षेत्र सँधै जामले अस्तव्यस्त हुने गरेको छ। यो सडक खण्डको विकल्पको रूपमा सुरुङमार्गको सुरुवात भएको हो।

नागढुंगासँगै टोखा-छहरे-बेत्रावती-स्याफ्रुवेंसी सुरुङ मार्ग चीन सरकारको सहयोगमा निर्माण हुने क्रममा छ। गणशेमान सिंह मार्गअन्तर्गत पर्ने थानकोट-चित्लाङ सुरुङ मार्ग निर्माण गर्न सरकारले अध्ययन गरिरहेको पनि ओलीले शिलान्यास कार्यक्रममा जानकारी दिए।

जापानी राजदूत साइगोले भौगोलिक रूपमा जापान र नेपाल समान भएको बताउँदै भने, ‘इन्धन तथा पाटपूर्जाको लागत घटाउन सुरुङ महत्वपूर्ण हुन्छ, सडकको लम्बाइ पनि घट्छ।’ नेपाल जस्तो पहाडी मुलुकका लागि सडक सुरुङमार्ग उत्कृष्ट विकल्प भएको उनले बताए। ‘नेपालको आवश्यकताका आधारमा अन्य क्षेत्रमा पनि सुरुङ मार्ग निर्माण गर्न जापानले आर्थिक तथा प्राविधक सहयोग गर्न सक्छ’, राजदूत साइगोले भने।

यो सुरुङ मार्ग निर्माण भएपछि धादिङको नौबीसेदेखि काठमाडौं प्रवेश गर्ने दूरी चार किलोमिटरले घट्नेछ। सवारी साधनले यो दूरी १५ देखि २० मिनेटमा पार गर्नेछन्। जबकी हाल सामान्य अवस्थामा एक घण्टा र जाम हुँदा घण्टौंसम्म लाग्ने गरेको छ। नौबीसेदेखि थानकोटसम्मको सडक ११ डिग्रीको उकालोमा छ भने सुरुङमा जम्ममा ४ डिग्री मात्र उकालो हुनेछ। यसले गर्दा सवारी साधनको इन्धन खपत उल्लेखनीय रूपमा घट्ने सडक विभागका अधिकारीले बताएका छन्। प्रतिगाडी दुई लिटरका दरले इन्धन बचत हुनेछ। हाल यो सडकमा दैनिक १० हजार गाडी ओहोरदोहोर गर्छन्।

सडक विभागका प्रमुख केशवकुमार शर्माले नेपालमा सडक सुरुङ मार्ग सञ्चालन गर्न यसबाट अनुभव प्राप्त हुने बताए। निर्माणाधीन सुरुङ मार्गबाट मिल्ने अनुभव अन्य स्थानका लागि उपयोगी हुने उनको धारणा थियो।

नागढुंगा सुरुङमार्गको प्रारम्भिक अध्ययन सन् २०१४ मा नै सुरु भएको थियो। सन् २०१६ मा आर्थिक स्रोत सुनिश्चित गरी २०१७ बाट डिजाइन थालिएको थियो। यो सुरुङ मार्ग निर्माण गर्न जापानको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी नियोग (जाइका)ले १६ अर्ब ६ करोड रुपैयाँ सहयुलियत ऋण उपलब्ध गराएको हो। ०.०१ प्रतिशत ब्याज दरमा उपलब्ध गराइएको ऋण नेपालले ४० वर्षमा तिर्नुपर्नेछ। पहिलो १० वर्षको ब्याज भने तिर्नुपर्दैन।

सुरुङ मार्ग निर्माण कम्पनी छनोट गर्न २०७५ साउन २४ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो। प्राविधिक तथा आर्थिक रूपमा जापानी कम्पनी हाज्मा अन्दो कर्पोरेसनले यसको ठेक्का पाएको छ। गत असोज ६ गते जापानी कम्पनी र सडक विभागबीच ठेक्का सम्झौता भएको थियो। हाज्माले यो ठेक्का साढे १३ अर्ब रुपैयाँमा प्राप्त गरेको हो।

आयोजनाका अनुसार सुरुङमार्ग निर्माण गर्न करिब २२ अर्ब रुपैयाँ लाग्छ। सुरुङ मार्ग बनाउन १६ अर्ब र मुआब्जा वितरण गर्न ६ अर्ब रुपैयाँ खर्च हुनेछ। सुरुङ मार्गका लागि काठमाडौं र धादिङतर्फको तीन सय ७६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ। यसमध्ये काठमाडौंतर्फ दुई सय ६७ र धादिङतर्फ एक सय ९ रोपनी जग्गा पर्छ। काठमाडौंतर्फ प्रतिआना नौदेखि ४२ लाख रुपैयाँसम्म र धादिङतर्फ प्रतिआना सात लाखदेखि नौ लाख ७० हजार रुपैयाँसम्म मुआब्जा वितरण भइरहेको छ।

आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण हुनेछ। सुरुङ मार्ग बनाउन पाँच देखि ६ सय मेट्रिक टन विष्फोटक पदार्थ लाग्ने अनुमान छ। भेरी-बबई सिँचाइ आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ छेडिएको थियो। नागढुंगा सुरुङ मार्ग भने अष्ट्रेलियन प्रविधिबाट बन्नेछ। यसअन्तर्गत जम्बो ड्रिलिङ मेसिन पनि प्रयोग गरिन्छ।

यस्तो हुनेछ सुरुङमार्ग

काठमाडौंको नागढुंगा टुटिपाखा हुँदै सुरुङ मार्ग धादिङको सिस्ने खोलासम्म सुरुङमार्ग निर्माण गरिनेछ। त्रिभुवन राजपथबाट नागढुंगा टुटिपाखासम्म २.३ किमि र धादिङतर्फ धुनिबेसी सिस्नेखोला पाँच सय ६५ मिटर पक्की सडक निर्माण गरिनेछ। यो सुरुङमार्ग नागढुंगाको ठाडो उकालो सडक छल्न बनाउन लागिएको हो।

उकालो सडक र सवारीको चाप धेरै हुने भएकाले भारतबाट आउने मालवाहक सवारी यो खण्डमा बिग्रिने गरेका छन्। सानो सडकमा ठूला गाडी बिग्रिँदा जाम पनि बढ्दो क्रममा छ। सुरुङ मार्गले यो समस्या हल गर्ने आयोजनाको विश्वास छ। नयाँ बन्ने सुरुङ सडकमार्ग दुई लेनको हुनेछ। एक लेन साढे तीन मिटरको हुनेछ। सडकको चौडाइ भने ९.५ मिटरको हुनेछ। यसमा १.५ मिटरको मेडियन र ०.५ मिटर सोल्डर पनि निर्माण गरिनेछ।

स्थानीय सडकमा गुड्ने सवारीलाई सुरुङ सडकमा प्रवेश गर्न नदिन दुईवटा फ्लाइओभर निर्माण गरिनेछ। सडकमा सात वटा पुल र ११ वटा बक्स कल्भर्ट निर्माण पनि बनाइनेछ। सुरुङ मार्गमा मोटरसाइकल, ग्यास र पेट्रोलियम पदार्थ ओसारपसार गर्ने सवारी साधन प्रवेश गर्न पाउने छैन।

यसैगरी सुरुङ मार्गमा हुन सक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी सुरक्षा र निकासका लागि अर्काे समानान्तर सुरुङ पनि निर्माण हुने भएको छ। कुनै सवारी साधन बिग्रेमा वा दुर्घटनामा परेमा वैकिल्पक सुरुङ मार्गबाट उद्धार तथा निकासका लागि यो वैकल्पिक समानान्तर सुरुङ निर्माण हुने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *