राजनिति

यी हुन् ओली सरकारका ३ ‘घुस्याहा’ मन्त्री, रामकुमारी झाक्रीले गरिन् पर्दाफास !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की युवा नेता, केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली सरकारका ‘घुस्याहा’ मन्त्रीको पर्दाफास गरेकी छन् ।

पत्रकार श्रीराम पौडेललाई दिएको अन्तर्वार्तामा नेतृ झाँक्रीले मन्त्रीले घुस खान छोडे मात्रै भ्रष्टाचार आफैं नियन्त्रण हुने बताइन् ।

उनले यातायातमन्त्री रघुवीर महासेठ, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र खानेपानीमन्त्री विना मगरतर्फ संकेत गर्दै घुस्याहा भएको गम्भीर आरोप लगाइन् । महासेठ, बाँस्कोटा र मगर तीनै जना विभिन्न घुस विवादमा तानिएका मन्त्री हुन् ।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नारा पनि कार्यान्वयन नभएको र मन्त्रीले प्रधानमन्त्री ओलीको नाराको खिल्ली उडाएको उनको निष्कर्ष थियो । ‘मन्त्रीले मात्रै उठाएको पैसा खाएन भने धेरै चिज मिलिहाल्छ,’ उनले भनिन्, ‘यो त म भन्छु, मलाई कहाँ लगेर झुण्ड्याउने हो झुण्ड्याउनु । भित्तामा प्रधानमन्त्रीको स्लोगन राखेर म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न भनेर तीन लाइन लेखिएको छ । त्यो कार्यान्वयन गर्नुस् ।’

उनले भ्रष्टाचार मात्रै नियन्त्रण भए देशको व्यवस्था ट्रयाकमा आउने र विकास तथा समृद्धि हासिल हुनसक्ने बताइन् । ‘अर्कोपटक चुनावमा नेकपाका नेता कार्यकर्ताले उम्मेदवारी दिएर घर बसे हुन्छ,’ उनले भनिन्, ‘खोई आज मन्त्रीले पैसा उठाउन छोडेको ? सरुवामा ५ हजार बुझेर हिँडेका छन् । आयोजनाको कुरै छोड्नुस् ।’

मन्त्रीले घुस नखाए त्यसको असर तलसम्म पर्ने भन्दै कामहरू पनि गुणस्तरीय हुनेतर्फ उनले जोड दिइन् । ‘मन्त्रीले घुस खाएन भने सचिव, कर्मचारीले घुस खान्छ ? अनि बिचौलियाहरू घुसको झोला बोकेर जान्छ ?’ उनले गम्भीर प्रश्न गरिन्, ‘सबैले खान्छन् र मात्रा कति हो भन्ने मलाई थाहा भएन । तर आमरुपमा मन्त्रीले घुस खान्छन् । यो रहेसम्म काम हुँदैन ।’

कर्मचारी सरुवामा पनि मन्त्रीले पैसा लिने गरेको उनले बताइन् । ‘यो आयोजनाबाट त्यो आयोजनामा लाँदा १ करोड लिने र कर्मचारी सरुवा गर्ने अनि कसरी काम हुन्छ, यहीँ होइन समस्या । भौतिक पूर्वाधारको कुरा गर्दा वर्षौसम्म एउटा आयोजनामा बसेर काम नगरेको आयोजना प्रमुख त्यस्तै महत्वपूर्ण ३ अर्बको परियोजनामा फेरि किन जान्छ ? उसको ट्रयाक रेकर्ड हेर्नुपर्दैन, दण्डसजाय गर्नुपर्दैन ?’ उनले प्रश्न गरिन् ।

काम नगर्ने ठेकेदार, कर्मचारीलाई नै पुरस्कृत गर्ने गरेकोमा उनले असन्तुष्टि जनाइन् । ‘काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने काम कहाँ पुग्यो ?’ उनले प्रश्न गरिन् । न्यायालयमा पनि बिचौलिया हाबी भएको नेतृ झाक्रीले बताइन् । बिचौलियाले राज्य संयन्त्र कब्जा गर्दै लगेको उनको निष्कर्ष छ ।

उनले पार्टी सञ्चालनमा समेत असन्तुष्टि जनाइन् । ‘पार्टी सिस्टममा छैन । सरकारले पार्टी चलाएको छ । पार्टीले सरकार चलाएकै छैन । मन्त्रीको छनोट पनि उपयुक्त भएन,’ उनले भनिन्, ‘पार्टी ठिक ठाउँमा नभएसम्म केही ठीक हुन्छ ? मुलुकलाई ट्रयाकमा हिँडाउने सामथ्र्य नेकपाले राख्छ । तर पार्टी सिस्टममा हिँड्नुपर्‍यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *