काठमाडौं : सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय लगानी नियन्त्रण सम्बन्धमा १८ सरकारी अधिकारीले कात्तिक ४ देखि भारतको बेंगलोरस्थित नेसनल एकेडेमी अफ कस्टम्स, इनडाइरेक्ट ट्याक्सेस एन्ड न्यारोटिक्समा तालिम लिइरहेका छन्।
नेपाल सरकारको अनुरोधमा भारतले ६० अधिकारीका लागि यो कोर्स तयार पारेर तालिम दिइरहेको छ। यो तालिम भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रमअन्तर्गत रहेको बताइएको छ।
यो प्रशिक्षणबाट सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलालाई प्रभावकारी ढंगबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ। २० नेपाली अधिकारीको पहिलो समूहले भदौ ७ गते ६ दिने प्रशिक्षण मोड्युल सफलतापूर्वक सम्पन्न गरेका थिए। २१ नेपाली अधिकारीको तेस्रो समूहले यही मंसिर–पुस महिनादेखि प्रशिक्षण सुरु गर्नेछन्।
वित्तीय अनुसन्धान एवं सम्पत्ति शुद्धीकरण क्षेत्रमा नेसनल एकेडेमी अफ कस्टम्स, इनडाइरेक्ट ट्याक्सेस एन्ड न्यारोटिक्स भारत सरकारको अत्याधुनिक शिक्षण सुविधासहितको प्रमुख प्रशिक्षण संस्थान हो। योे एसिया–प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो।