प्रमुख समाचार

वामदेव डराएको कास्कीमा यी हुन् कांग्रेसका १६ सिपाही, जो खुलेआम भिड्न खोज्दैछन् !

पोखरा – आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पराजित हुने डरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले कास्कीमा उम्मेदवार नहुने हप्तौंअघि घोषणा गरिसके ।

वामदेवले कास्कीमा नेकपा कमजोर रहेको र हार्ने ठाउँमा आफू चुनाव नलड्ने भनेर सार्वजनिक रुपमै घोषणा गरेका थिए ।

कास्कीमा उपनिर्वाचन लड्न नेपाली कांग्रेसका नेता भने तम्सिएका छन् । कांग्रेसको क्षेत्रीय समिति र जिल्ला समितिले उम्मेदवारको नाम छनौटका लागि १६ जनाको नाम केन्द्रीय समितिसमक्ष पठाइएको छ । कांग्रेसमा भने चुनाव भिड्न सक्ने आकांक्षी धेरै देखिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयले गत असोज ७ गते कास्की कार्यसमितिलाई पत्राचार गर्दै १० दिनभित्र आकांक्षीको नाम पठाउन निर्देशन दिएको थियो । निर्देशन बमोजिम पार्टीले १६ जनाको नाम केन्द्रमा पठाएको छ ।

कांग्रेसको क्षेत्रीय कार्यसमितिले १० हजार रुपैयाँ शुल्क लिएर आकांक्षीको नाम संकलन गरेको थियो । कास्की कांग्रेसका सभापति कृष्ण केसीले आकांक्षीको नाम केन्द्रमा पठाइएको बताए ।

उम्मेदवारका लागि केन्द्रमा सिफारिस हुनेमा देवराज चालिसेदेखि पाका नेता खेमराज पौडेलसम्म रहेका छन् । पहिलो संविधान सभाको निर्वाचनमा रवीन्द्र अधिकारीसँगै पराजित भएका सोभियतबहादुर अधिकारी, पूर्व राज्यमन्त्री समेत भइसकेका महादेव गुरुङ, क्षेत्र नम्बर २ का सभापति माधव बास्तोला ‘मधु’को नाम समेत केन्द्रमा सिफारिस भएको छ ।

उम्मेदवारको आकांक्षीमा महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्की, विरेन्द्रनारायण विजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषी, केदारप्रसाद तिवारी, विमला भण्डारी, लक्ष्मी पाण्डे, खेमकुमारी बराल, रंगिला आचार्य समेत छन् ।

नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारबारे निर्णय गर्नकै लागि कात्तिक ७ गते बैठक बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *