मनोरंजन

जिग्री पाँडे अन्याय भयो भन्दै ‘सिधा कुरा जनतासँग’मा

काठमाडौं। नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिश्रृङखला ‘भद्रगोल’को उत्पादन गर्ने कम्पनी मिडिया हबले ‘जेपीटी प्रोडक्सन’ले उत्पादन सुरु गरेको कार्यक्रम ‘सक्किगोनी’ विरुद्ध कपिराइटको उजुरी गरेको छ ।

मिडिया हबका सञ्चालक सोम धितालले ‘सक्किगोनी’का निर्देशक तथा कलाकार ‘पाँडे’ भूमिकाका अर्जुन घिमिरे र जिग्री भूमिकाका कुमार कट्टेलविरुद्ध ‘पाँडे’ र ‘जिग्री’ भूमिकाचोरी गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन् ।

तर, कलाकारहरुले ‘जिग्री’ र ‘पाँडे’ पात्र पहिले देखिनै आफूहरुले सिर्जना गरेकाले कसैको एकाधिकार नभएको दाबी गर्छन् । मिडिया हब र कलाकारहरुबीच रद्ध भइसकेको सम्झौता देखाएर मिडिया हबले उजुरी गरेको छ ।

तर, उनीहरुबीच २०७४ फागुन २ गते भएको नयाँ सम्झौताको १३ नं. बुँदामा ‘भद्रगोल’को कन्टेन्ट र ‘भद्रगोल’ भित्रको सम्पूर्ण पात्रहरुको चरित्रको दोस्रो पक्षमा निहित रहनेछ, भनिएको छ । यहाँ दोस्रो पक्ष भनेर कलाकार पक्षलाई जनाइएको छ ।

त्यस्तै करारको सर्तमा दोस्रो पक्षले उक्त टेलिश्रृङ्खला नियमित रुपमा २०७६ असार मसान्तसम्म समयमै उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । र उक्त करारनामाको समय पनि सकिएको छ । त्यसपछि मात्र ‘सक्किगोनी’ कार्यक्रम सुरु गरेका थिए । र ‘सक्किगोनी’ कार्यक्रम लोकप्रिय बन्दै गएको धितालले यो बखेडा निकालेको अर्जुन घिमिरे बताउँछन् ।

प्रतिलिपी अधिकार ऐन २०५९ को दफा ९ को उपदफा १ (क) मा आफ्नो प्रस्तुतिलाई प्रस्तुत गर्ने तौर तरिका वा माध्यमको निर्धारण गर्ने र पुनरुत्पादन गर्ने, अधिकार प्रस्तोतामा निहित रहने पनि उल्लेख गरिएको छ ।

यो बिषयमा अन्य कलाकारहरु पनि अर्जुन घिमिरे ‘पाँडे’ र ‘कुमार कट्टेल’ जिग्रीकै पक्षमा देखिन्छन् । चर्चित हाँस्य कलाकार दीपराज गिरीले फेसबुकमा लेखेका छ्न् ‘पूर्व भद्रगोल र बर्तमान भद्रगोलबीच जुन भद्रगोल भएको त्यसको त्यो अत्यन्त दुखद छ । कलाकारहरु अन्यायमा नपरुन् ।’

त्यस्तै अर्की चर्चित हाँस्य कलाकार दीपाश्री निरौलाले कलाकारहरुलाई अन्यायमा पार्न नहुने बताएकी छिन् । त्यस्तै केदारप्रसाद घिमिरेले कलाकारको श्रृजनामाथि अंकुश लगाउन नहुने बताएका छन् ।

इता मनोज गजुरेलले कलाकारको सिर्जनात्मक र कलात्मक सम्पतीलाई ‘मिडिया हब’ले ‘सक्किगोनी’लाई सक्किगोनी भन्न नपाउने बतएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *