राजनिति

केपी ओलीले बढाए उपेन्द्र यादवको तनाव, समाजवादीमा लफडा !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधनको माग पूरा नगरेको भन्दै सरकारमा सहभागी समाजवादी पार्टीभित्र सरकारबाट बाहिरिने पक्षमा मत बढेपनि अहिले नै हट्नु नहुने तर्क राख्ने समूह पनि उत्तिकै प्रभावमा देखिएको छ ।

एक पक्ष ‘सरकारबाट हट्ने निर्णय लिनका लागि समाजवादी पार्टीले यही कात्तिक ३० र ३१ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ’ भनिरहेको छ भने अर्को पक्ष ‘बैठकको एजेन्डा तय नभएको’ दाबी गरिरहेको छ ।

समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले आगामी केन्द्रीय समितिको बैठकले सरकारबारे निर्णय लिने बताए । ‘संविधान संशोधन गर्ने शर्तमा सरकारमा सहभागी भएका हौं, संविधान संशोधन हुँदैन भने सरकारमा सहभागी हुनुको औचित्य छैन,’ उनले भने, ‘सरकारबाट हटेर संविधान संशोधनको एजेन्डा लिएर जनताका बीचमा जानुको विकल्प छैन ।’

समाजवादी पार्टीबाट पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित तीन मन्त्री सरकारमा सहभागी रहेका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपाल मिलेर बनेको समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच संविधान संशोधन नभएको अवस्थामा सरकारबाट बाहिरिने सहमति भएको थियो ।

तर सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका अध्यक्ष यादवले भने सरकारबाट हट्न भाका सार्दै आएका छन् ।

सरकारमै रहेर पनि समाजवादी पार्टीले संविधान दिवस मनाएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएको भन्दै गत जेठमा समाजवादी सरकारमा सहभागी भएको थियो । संविधान दिवस नमनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी पार्टीसँग असन्तुष्ट रहेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लामो समय बितिसक्दासमेत संविधान संशोधनको प्रक्रिया अगाडि नबढेको भन्दै तत्काल सरकारबाट बाहिरिनुपर्ने दबाब पार्टीभित्र दिँदै आएका छन् । तर अध्यक्ष यादवले भने सरकारलाई एक पटक सचेत गराएर मात्र सरकारबाट हट्ने भन्दै लम्ब्याउँदै आएका छन् ।

संविधान संशोधन गर्ने प्रतिबद्धता पूरा नभएको भन्दै यसअघि नै राष्ट्रिय जनता पार्टीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्ष दलको भूमिकामा रहेको छ ।

समाजवादी र राजपाबीच पार्टी एकीकरण प्रक्रिया अगाडि बढाउन राजपाले अध्यक्ष यादवलाई सरकार छोड्न दबाब दिँदै आएको छ । सरकारले भने अहिले संविधान संशोधन गर्नुपर्ने औचित्य नै नभएको बताउँदै आएको छ ।

गत वैशाख २४ गते संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच एकीकरण भएर समाजवादी पार्टी बनेको हो । दुई पार्टी एकीकरण गर्ने क्रममा अध्यक्षद्वय भट्टराई र यादवबीच संविधान संशोधन नभए सरकारबाट बाहिरिने सहमति भएको बताइएको छ । तर ६ महिना बितिसक्दा समेत सहमति कार्यान्वयन नभएको भन्दै समाजवादी पार्टीभित्र अध्यक्ष यादवको आलोचना हुँदै आएको छ ।

समाजवादी पार्टीका उपाध्यक्ष रेनुकुमार यादवले संविधान संशोधनका लागि दुईतिहाइ बहुमतका लागि सरकारमा सहभागी भएको बताइन् । उनले नेपाल समाचारपत्रसँग भनिन्, ‘सरकारलाई हामी एक पटक गम्भीर हुन सचेत गराउँछौं, संविधान संशोधन आम जनताको माग हो, सरकार गम्भीर हुँदैन भने सरकारमा बस्ने कि नबस्ने भन्ने विषयमा पार्टीले निर्णय लिन्छ, संविधान संशोधन नभए सरकारमा बस्नुको औचित्य छैन ।’

सरकारबाट बाहिरिन लाग्नुभएको हो भन्ने जिज्ञाशामा उनले कुनै निर्णय नभएको बताइन् । आगामी केन्द्रीय समितिको बैठकमा संगठन र सरकारको समीक्षा हुने बताउँदै यादवले सरकारबाट हट्ने विषयको एजेन्डा अहिलेसम्म तय भइनसकेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *