मनोरंजन

फिल्मका ‘ट्रेन्ड ब्रेकर’ निश्चल – ‘थोरै फिल्म बनाउँछु, चलिरहेको भन्दा फरक बनाउँछु’

काठमाडौं। आजभन्दा ७ वर्षअघि निर्देशक निश्चल बस्नेतले नयाँ शैलीमा फिल्म ‘लुट’ लिएर आए। परम्परागत ढर्राका फिल्म हेरिरहेका दर्शकले ‘लुट’मा नयाँ स्वाद पाए। फिल्म हेर्न दर्शक हलसम्म उर्लिए। बक्स अफिसमा फिल्मले राम्रो कमाई गर्यो। पहिलो फिल्मबाटै निश्चल रातारात सेलिब्रेटी निर्देशक बने।

उनले दोस्रो फिल्म निर्देशन गरे ‘टलकजंग भर्सेज टुल्के’। द्धन्द्धकालिन घटनामाथि बनेको यस फिल्मलाई पनि दर्शकले रुचाए। यस फिल्मले पनि राम्रो ब्यापार गर्यो।

त्यसपछि निश्चल केही वर्ष निर्देशनबाट टाढा रहे। अनि ‘लुट’को सिक्वेल ‘लुट–२’ निर्देशन गरे। फिल्मले बक्सअफिसमा राम्रो ब्यापार गर्यो। तर, ‘लुट–२’मा निर्देशकीय क्षमताको भने केही आलोचना भयो। त्यसयता निश्चलले फिल्म निर्देशन गरेका छैनन्। बरु, अभिनयमा सक्रिय रहँदै आएका छन्। उनको शिर्ष भूमिका रहेको नयाँ फिल्म ‘घामड शेरे’ आउँदो शुक्रबाटबाट प्रदर्शनमा आउँदैछ।

यस फिल्मको एक पत्रकार भेटघाटमा निश्चललाई निर्देशनबाट पछि हटनुको कारणबारे सोधियो। निश्चलले अहिले बनिरहेका फिल्मभन्दा केही फरक बनाउने कोशिसका कारण निर्देशनमा फर्किन समय लागेको प्रतिक्रिया दिए। ‘म जति फिल्म बनाउँछु भिन्न–भिन्न किसिमको फिल्म बनाउँछु। चलिरहेको ट्रेन्डभन्दा केही फरक हुनुपर्छ भनेर नै म लागिरहेको हु। उस्तै फिल्म बनाउने हो भने म ६/६ महिनामा फिल्म बनाउन सक्छु। मसंग त्यति धेरै स्किृप्टहरु आउँछन्। आइडियाहरु पनि त्यति धेरै छन्’ निश्चल भन्छन्।

उनि आफ्नो लाइफमा निर्देशकका रुपमा थोरै तर राम्रो फिल्म दिने बताउँछन्। अगाडि थप्छन्, ‘मेरो डाइरेक्सनमा तपाईले धेरै फिल्म पाउँनुहुँदैन्। तर मेरो कोशिस यति रहन्छकी ति सबै मार्केटमा चलिरहेको फिल्मभन्दा केही फरक होस्।’ कथाले आफूलाई छुन सकेमात्र फिल्म निर्देशन गर्ने निश्चलको भनाई छ।

हेमराज बिसी निर्देशित ‘घामड शेरे’मा निश्चलका साथमा स्वस्तिमा खड्का शिर्ष भूमिकामा छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *