प्रमुख समाचार

सगरमाथाको फोहर पाँचतारे होटलमा !

काठमाडौं। पर्यटकहरुको एक समूहले काठमाडौंको एउटा पाँचतारे होटलमा पानी पिए तर उनीहरुलाई थाहा थिएन उनीहरुको हातमा भएका हरिया गिलासहरु कुनै बेला सगरमाथामा आरोहीहरुले फालेका बोतल थिए । व्यवसायिक पर्वतारोहणका क्रममा सगरमाथामा दशकौंदेखि छाडिएका यी फोहरहरुलाई व्यवस्थापन गर्न अधिकारी र व्यवसायीहरुले नयाँ उपाय सुरु गरेसँगै यसरी सगरमाथाबाट संकलित फोहरबाट बनेका सामग्रीहरु काठमाडौंका होटल र घरहरुमा विस्तार भइरहेका छन् ।

सगरमाथाबाट खाली क्यान, ग्यास कन्टेनर, बोतल, प्लास्टिक तथा आरोहणका सामग्रीहरु गरी कैयौं टन फोहर संकलन गरिएको थियो । ‘फोहरलाई खेर जान दिनु पर्दैन’ स्थानीय पुनःप्रयोग गर्ने संस्था ब्लु वेष्ट टु भ्यालुका नवीन विकास महर्जनले एएफपीसँग भने ‘हामीले सगरमाथाबाट संकलित फोहरमा आल्मुनियक, सिसा, प्लाष्टिक फलाम लगायतका सामग्रीहरु पायौं जसमध्येका अधिकांश चीजहरु पुनःप्रयोग गर्न योग्य थिए । हामीले तिनीहरुलाई रिसाइकल गरेर मूल्यवान बनाउनुपर्छ ।’

नेपाल सरकार र पर्वतारोहीहरुको समूहले यस वर्ष ६ हप्ताको सगरमाथा सरसफाइ अभियान चलाएका थिए । बेस क्याम्पदेखि ८ हजार मिटरको उचाइमा रहेको क्याम्पसम्म १४ समूहले सरसफाइ गरी संकलन गरेको १० टनभन्दा धेरै फोहर पुनःप्रयोगको लागि काठमाडौंमा रहेका रिसाइकलिङ सेन्टरमा पठाइएको थियो । यहाँ कामदारहरुले यी फोहरको किसिमका आधारमा छुट्याए । फलाम छड उत्पादन कारखानामा पठाइयो, आल्मुनियम क्यानलाई भाँडा उत्पादन कारखाना पठाइयो र बोतलहरुलाई घरेलु सामानको रुप दिइयो ।

फोहरलाई रिसाइकल गर्ने मोवेर डिजाइन्सकी उजेन वाङमो लेप्चा भन्छिन् ‘यसलाई फोहर सम्झिनेहरुले यी चीजहरु देख्दा दंग पर्छन् । यी चीजहरु बनाउन सकिन्छ र यो सम्भव छ ।’ उनीहरुले फोहर रिसाइकल गरेर उत्पादन गर्ने सामानहरु होटल, रेष्टुरेण्ट र घरहरुले किन्छन् । लेप्चाका अनुसार यी सामान किन्ने ग्राहकहरु बढिरहेका छन् ।

काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीकी आँचल मल्लका अनुसार होटलले दीगो र वातावारण मैत्री उत्पादन प्रयोग गर्ने होटलको लाइनमै यसरी रिसाइकल गरिएका सामान किन्ने भन्ने छ । ‘यो हामी र वातावरणको लागि राम्रो मात्र होइन यसले पृथ्वीलाई फोहर घटाएर अझै राम्रो ठाउँ बनाउनुपर्छ भन्ने सोच राख्नेहरुलाई प्रेरणा पनि दिन्छ’ मल्लले भनिन् । फोहर व्यवस्थापनको लागि स्याङबोचेमा सगरमाथा नामको अर्को फोहर रिसाइकल केन्द्र बनिरहेको छ । यसले पनि यस्तै ‘सगरमाथा’ उत्पादनहरु बजारमा ल्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *