मनोरंजन

२० लाख पारिश्रमिकप्रति पूजाको गर्व

काठमाडौं । अभिनेत्री पूजा शर्माले एउटा चलचित्रबाट २० लाख रुपैयाँ पारिश्रमिक लिएको र त्यो पारिश्रमिकअनुसारको प्रतिफल आफूले दिने गरेको बताएकी छन् । यो पारिश्रमिक निर्माताले नै आफूलाई दिएको पनि यी अभिनेत्रीले प्रस्ट्याएकी छन् ।

८ कात्तिकबाट रिलिज हुने चलचित्र ‘पोइ प¥यो काले’मा २० लाख पारिश्रमिक लिएको दाबी गरेकी यी अभिनेत्रीले आफूले सो पारिश्रमिकअनुसारको काम गरेको बताइन् ।

विगतमा आफ्नो ब्यानरका चलचित्रमा मात्र काम गर्दै आएकी पूजाले यसपटक बाहिरी ब्यानरको चलचित्रमा अहिलेसम्मकै महँगो पारिश्रमिक लिएर काम गरेको बताइन् । यो पारिश्रमिकप्रति आफूलाई गर्व लागेको र सोहीअुनसारको काम पोइ प¥यो कालेमा गरेको पनि उनले दाबी गरिन् ।

यो फिल्मबाट आफूले पाएअनुसारको निर्मातालाई कमाई दिन सकिन्छ भन्ने राजधानीको जिज्ञासामा पूजाले भनिन्,

‘चलचित्र टिमवर्क भएकाले फिल्ममा सबैले राम्रो काम गर्दा पक्कै पनि त्यो चलचित्र सफल हुन्छ । मैले २० लाख रुपैयाँ पारिश्रमिक लिएँ भन्दैमा हलभरि दर्शक ल्याएर फिल्म हिट गर्छु भन्ने जिम्मेवारी मैले लिएको छैन ।’ उनले अगाडि थपिन्, ‘मेरा विगतमा मेहनत गरेर प्रेम गीत, म यस्तो गीत गाउँछु, राम कहानीजस्ता हिट फिल्म दिएकै कारण अहिले यति पारिश्रमिक लिने स्टाटस बनाएको हुँ ।’

यतिबेला यी अभिनेत्री आफ्नो गृह ब्यानरको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को छायांकनमा व्यस्त छिन् । २० लाख रुपैयाँ पारिश्रमिक लिएको चलचित्र पोइ प¥यो कालेको प्रदर्शनका बेला प्रचारमा नहिँडेर उनी फिल्मको छायांकनमा व्यस्त रहेको निर्माण पक्षको आरोप थियो । बुधबार मिडियामा आएकी यी अभिनेत्रीले आफूले चलचित्रको प्रचारमा समय नदिएको आरोपलाई अस्वीकार गरिन् । निर्माण पक्षले भनेको बेलामा कार्यक्रममा आउने गरेको उनले स्पष्ट पारिन् ।

यो फिल्ममा आफ्नो भूमिकाबारे पूजाले भनिन्, ‘फिल्ममा म दुईवटा पतिको पत्नी र दुई युवाको प्रेमिकाको भूमिकामा छु । फिल्मको केन्द्रीय नायक मै हुँ ।’ आफूले निर्माण गरेका विगतका चलचित्रमा पनि यस्तो केन्द्रीय भूमिका आफूले नपाएको यी अभिनेत्रीले बताइन् । यो चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र सौगात मल्ल दुवै जना पूजाको पतिको भूमिकामा छन् । सौगात र यो फिल्मकी अर्की अभिनेत्री सृष्टि श्रेष्ठ दसैंअघिदेखि नै बेलायत भएका कारण आफूले यसमा अहिले बढी समय दिनुपरेको पनि पूजाले टिप्पणी गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *