प्रमुख समाचार

र्‍यापर ‘भिटेन’ लाई पक्रन ‘जरुरी पुर्जी’ को दुरूपयोग

‘भिटेन’ भनिने र्‍यापर तथा गायक समीर घिसिङलाई पक्राउ गर्दा प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ को प्रावधान दुरूपयोग गरेको पाइएको छ।मुलुकी फौजदारी कार्यविधि संहितामा पक्राउ गर्नुअघि अदालतबाट अनुमति लिनुपर्ने व्यवस्था छ। महानगरीय अपराध महाशाखाले भने उनलाई अदालतको अनुमतिविना जरूरी पक्राउ पुर्जीका आधारमा बिहीबार बिहान जावलाखेलबाट पक्राउ गरेको हो।

कानुनले जरूरी पक्राउ पुर्जीका आधारमा पक्रन निश्चित अवस्था तोकेको छ। कसुर गर्ने व्यक्ति पक्राउ नपरे भागेर उम्कन सक्ने वा उसले प्रमाण नष्ट गर्न सक्ने चित्तबुझ्दो कारण प्रहरीले देखाउनुपर्ने कानुनमा व्यवस्था छ।

‘कसुर गर्ने व्यक्ति तत्काल पक्राउ नभए त्यस्तो व्यक्ति भाग्ने, उम्कने वा निजले प्रमाण, दसी वा सबुत नष्ट गर्ने मनासिब कारण भए, त्यस्तो व्यक्ति तत्कालै जरुरी पक्राउ पुर्जी जारी गरी, पक्राउ गरी, स्वीकृतिका लागि पक्राउ परेको व्यक्तिसहित मुद्दा हेर्ने अधिकारीसमक्ष पेस गर्नु पर्नेछ,’ मुलुकी फौजदारी कार्यविधि संहितामा लेखिएको छ।

र्‍यापर तथा गायक घिसिङमाथि कुनै जघन्य अभियोग थिएन, त्यसैले कतै भागेर जाने वा प्रमाण नष्ट गर्ने कारण देखिन्न। यस्तोमा उनलाई पक्रनुअघि प्रहरीले अदालतबाट अनुमति लिनैपर्थ्यो।

प्रहरीले पक्राउ गर्नुअघि उनी भाग्न खोज्दै थिए वा प्रमाण नष्ट गर्न खोज्दै थिए भनी प्रमाणित गरेको छैन। एकचोटि बोलाउँदा नआएपछि ‘जरूरी पक्राउ पुर्जी’ कै आधारमा समात्ने कानुनी प्रावधान टेकेर सिधै पक्राउ गरेको देखिन्छ।

‘बोलाउँदा उहाँ आउनुभएन। पछि हल्लीखल्ली भएर भाग्ने सम्भावनाका कारण हामीले जरूरी पक्राउ पुर्जीका आधारमा समातेका हौं,’ महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले सेतोपाटीसँग भने।

रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका थिए। नेपाली र्‍यापर गिरीश खतिवडाले उनलाई आफ्नो ब्लगमा ल्याएपछि भिटेन थप चर्चित भए। ‘हामी यस्तै त हो नि ब्रो’ गीत ल्याएर उनलाई लोकप्रियता दिएको थियो। उक्त गीतको भिडिओ युट्युबमा चर्चित छ।

उक्त भिडियो र गीतका शब्दले सामाजिक विकृतिलाई मलजल गर्ने भएकाले घिसिङलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी थापाको भनाइ छ। घिसिङले अश्लील शब्द प्रयोग गरेको र समाजिक विकृति बढाएको थापाले बताए। घिसिङविरुद्ध कसैले जाहेरी भने दिएका थिएनन्।

अर्को, घिसिङले नेपाल प्रहरीको बर्दीमा असईको फुलीसमेत लगाएर चुरोट ओठमा च्यापेको र हातले गाँजा मोलिरहेको दृश्य राखेको थापाले बताए। ‘नेपाल प्रहरीको बर्दी लगाएर गाँजा मोलिरहेको दृश्य आपत्तिजनक छ, सामाजिक विकृति बढ्ने खालको उक्त गीत प्रसारण गर्न दिइने छैन,’ उनले भने।

प्रहरीले भनेको यो दृश्य भिटेनको उक्त म्युजिक भिडिओमा भेटिएन। बरू एक महिनाअघि उनले यस्तो तस्बिर सार्वजनिक गरेका थिए।घिसिङलाई अब उक्त गीतको भिडियो युट्युबबाट हटाउन लगाइने र अभद्र व्यवहारमा मुद्दा चलाइने उनले बताए। अभद्र व्यवहार कसुरमा महानगरीय प्रहरी परिसर ललितपुरबाट घिसिङलाई मुद्दा चलाइने थापाले बताए।

यसअघि गृह मन्त्रालयले दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरू प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको थियो। निर्देशनलगत्तै प्रहरीले थापालाई पक्राउ गरी सो गीत युट्युबबाट हटाउन लगाएर छाडेको थियो।

उक्त गीतमा कानुनबमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी संगीत भरेर दृश्य छायांकन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध गर्न निर्देशन दिइएको भनिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *