काठमाडौं : बार्सिलोनाका कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगको लगातार १५ सिजनमा गोल गर्ने कीर्तिमान कायम गरेका छन्। स्लाभिया प्रागविरुद्धको तेश्रो मिनेटमा गोलको खाता खोल्दै मेस्सी लगातार गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।
आर्थरको पासमा प्रागका गोलरक्षक ओन्ड्रेज कोलरलाई बिट गराउँदै उनले गोल गरेका थिए। खेलमा उपहार गोलको मद्दतमा बार्सा २-१ ले विजयी बनेको छ।
५० औँ मिनेटमा प्रागका जान बोरिलले खेल बराबरीमा ल्याएका थिए। तर त्यसको ७ मिनेट नबित्दै पिटर ओलियन्काले आत्मघाती गोल गरेपछि बार्सा बिजयी बनेको हो।
मेस्सीले सन् २००५/०६ को सिजनदेखि लगातार गोल गरिरहेका छन्। प्रागविरुद्धको गोलसँगै मेस्सीले क्रिस्टियानो रोनाल्डो र पूर्व रियल मड्रिड स्ट्राइकर राउलसँग कीर्तिमान बराबरीमा गरेका छन्।
उनले च्याम्पियन्स लिगमा समग्रमा ३३ औँ फरक टोलीविरुद्ध गोल गरेका हुन्। यता सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान म्याचेस्टर युनाइटेडका रायन गिग्सको नाममा छ।
२४ वर्ष रेड डेभिल्समा बिताएका गिग्सले १६ फरक सिजनमा गोल गर्दै कीर्तिमान आफनो नाममा राखेका हुन्। गिग्सले सन् २०१४ बाट व्यवसायिक फुटबलमा सन्यास घोषणा गरेका छन्।