स्वास्थ्य

घिउ कति स्वस्थकर ? यस्तो भन्छ विज्ञान

एजेन्सी । भारत, नेपाल लगायत मध्य पूर्वका विभिन्न परिकारहरुमा घिउको अधिक प्रयोग हुने गरेको पाइन्छ । अझ नेपालीहरुले त यसलाई स्वाद लिएर सिधै सेवन गर्ने गरेका छन् । परम्परागत रुपमा घिउ दूधबाट बन्ने नौनीलाई उमालेर निस्कासन गरिन्छ ।

बटर र घिउलाई केही हदसमम उस्तै मानिएपनि बटर धेरै तापमानमा तताइएको हुन्छ भने घिउलाई एकदमै कम आँचमा तताइन्छ र यसलाई तयार पार्न तुलनात्मक रुपमा धेरै समय लाग्दछ । यसरी कम तापमानमा तताइने हुनाले नै घिउमा भिटमिन र पोषक तत्वहरु संरक्षित हुन्छन् । घिउलाई विशेषगरी भिटमिन–इ, भिटमिन–ए, एन्टिअक्सिडेन्ट लगायत अन्य जरुरी तत्वहरुको राम्रो श्रोत मानिन्छ । यिनै तत्वहरु धेरै उच्च तापमानमा तताउँदा नष्ट भएर जाने गरेका छन् ।

यसरी आयुर्वेदमा पनि घिउलाई ६ हजार वर्ष पुरानो औषधिका रुपमा लिइने गरिएको छ जुन भारत लगायत विभिन्न देशमा प्रयोग हुने गर्दछ । लामो समयदेखि नै घिउ हर्बल औषधिका रुपमा प्रयोग हुँदै आएको चन्द्रधर त्रिवेदी बताउँछन् जो साउथ डकोटा स्टेट युनिभर्सिटीका विशिष्ट प्रोफेसर हुन् । पहिले घिउलाई पवित्र कुरा मानिने भएकाले पनि यसलाई औषधि रुपमा अपनाउन सुरु गरिएको र हिन्दु समुदायमा यसले चिकित्सकीय साथै अध्यात्मिक लाभ दिने पनि विश्वास रहेको उनले बताए ।

त्रिवेदीका अन्ुसार आधुनिक विज्ञानमा पनि फ्याटयुक्त खानेकुरा सेवन गर्नुले ‘बयो–अभाइभेलिटि’ बढाउँछ र स्वस्थ भिटमिन र मिनल्सलाई सोस्न मद्दत गर्छ भन्ने मानिसकेको छ । यस्तोमा कुनैपनि सागसब्जी लगायत स्वस्थकर खानेकुरा घिउमा पकाएर खाँदा शरीरमा अधिक मात्रामा पोषक तत्व पुग्ने उनको भनाइ छ । यसरी घिउ स्वादिष्ट हुने हुँदा यसले खानालाई केही हदसम्म स्वस्थ बनाइदिने र नरुचेको अवस्थामा मीठो बनाइदिन सक्छ ।

तर के घिउ आफैँमा स्वस्थ खानेकुरा हो ? वास्तवमा घिउका जति फाइदा भएपनि अन्त्यमा यो एक किसिमको फ्याट नै हो । त्यसैले यसमा पनि भारी मात्रामा क्यालोरी हुन्छ जसले तौल बढाउने र मोटोपनाको गराउन सक्छ । यसका साथै घिउ लगायत विभिन्न थरीका बटरहरु जसमा उच्च स्याचुरेटेड फ्याट हुन्छन्, ती सबैलाई मुटु सम्बन्धी रोगसँग जोडेर हेरिन्छ ।

तरपनि पछिल्ला केही अध्ययनहरुले घिउ लगायत फ्याटयुक्त खानेकुराबारे दृष्टिकोणमा बिस्तारै परिवर्तन ल्याइरहेका छन् । २०१६ मा यस सम्बन्धी गरिएको एक समीक्षा अनुसार थोरै घिउको सेवन र मुटु सम्बन्धी रोग वा मधुमेहबीच तुलनात्मक रुपमा एकदमै थोरै वा कुनैपनि सम्बन्ध छैन । यसअघि घिउको सेवनले मुटुमा गम्भीर असर गर्ने र दिर्गकालीन रोगको खतरा बढाउने सम्बन्धी चिन्ता व्यक्त गरिएको थियो । त्यसैले यही विषयमा स्पष्ट जानकारी हासिल गर्न थुप्रै अध्ययनहरु सञ्चालन गरिएको हो । जसमा हाम्रो डायटमा केबल १० प्रतिशत अर्थात ठीक्क मात्रामा घिउ समावेश गरिँदा त्यसले केलोस्ट्रोलको स्तरमा कुनै हानि नपुग्ने वा मुटु सम्बन्धी कुनै खतरा नगराउने पाइएको हो ।

तर धेरै मात्रामा घिउ भएको डायट सेवन गर्दा भने रगतमा अस्वस्थ स्तरले कोलेस्ट्रोल बढ्ने गरेको र विभिन्न रोग समेत निम्त्याउन सक्ने बताइएको छ। तापनि घिउ अन्य प्रकारको बटर भन्दा स्वस्थकर हुन्छ भन्नेमा ठोस प्रमाण फेला पार्न सकिएको छैन । यस्तोमा हामीेले दैनिक खानामा प्रयोग गर्ने तेल वा अन्य फ्याटलाई घिउले प्रतिस्थापन गर्नुपर्नेछ भन्नु गलत हुने बताइएको छ । टाइम

Leave a Reply

Your email address will not be published. Required fields are marked *