प्रमुख समाचार

नागढुंगा सुरुङ मार्गमा पर्ने जग्गाधनीलाई मुआब्जा लिन आग्रह

नागढुंगा सिस्नेखोला सुरुङमार्गअन्तर्गत पर्ने धादिङतर्फका जग्गाको मुआब्जा लिन आउन नागढुंगा सुरङमार्ग निर्माण आयोजनाले निवेदन माग गर्दै सूचना निकालेको छ।

सुरुङमार्गको लागि आवश्यक पर्ने धादिङ्ग जिल्लाको धुनिबेसी नगरपालिका वडा नं. ९ का जग्गा धनीलाई आफ्नो जग्गाको प्रमाण सहित मुआब्जा लिन आउन भन्दै आयोजनाले सूचना सार्वजनिक गरेको छ।

सुरुङमार्ग निर्माणका लागि धादिङ्गतर्फ १ सय ९ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने आयोजनाले जनाएको छ।त्यसअन्तर्गतको ४४ रोपनी जग्गाको मुआब्जा अझै नटुिङ्गएको आयोजना प्रमुख श्याम खरेलले बताए।

‘‘जोसँग लालपुर्जा छ उनीहरुले मुआब्जा लिइसकेका छन्, लालपुर्जा नभएका तर फिल्ड बुकमा नाम भएका जग्गावालालाई हामीले आफुसँग भएको प्रमाण लिएर मुआब्जाको लागि निवेदन दिन आउन आह्वान गरेका हौं,’ उनले भने।

अयोजनाले निकालेको सूचनामा आफ्नो जग्गाधनी प्रमाण पूर्जा, तिरो तिरेको रसिद, सम्बन्धित नगरपालिकाको वा वडाको सिफारिस, नागरिकताको प्रमाणपत्रको फोटोकपी तथा अन्य प्रमाण कागजातहरु सक्कलै संकलन गरी आयोजनामा निवेदन पेश गर्न भनेको छ।

आयोजनाले यसअघि साउन २४ मा पनि सोही व्यहोराको सूचना निकालेको थियो। तर, मुअब्जा लिन नआएपछि आयोजनाले दोस्रोपटक सूचना निकालेको हो।

आयोजना प्रमुख खरेलले मुआब्जा दिने निर्णय गरिसकेकोले अझैपनि मुआब्जा लिन नआए पनि काम नरोकिने बताए।‘हामीले निर्णय गरेर जग्गाको पैसा छुट्याइसकेका छौँ,’ उनले भने, ‘अब पैसा लिन नआए पनि काम अघि बढ्छ तर रोकिँदैन।’

त्यसो त आयोजना निर्माणस्थलमा गुठीको जग्गा पनि छ ।त्यसको मुआब्जा लिन पनि स्थानीयले मानेका छैनन्। गुठीको जग्गाको मुआब्जा भोग चलान गर्नेले ३३ प्रतिशत र बाँकी ६७ प्रतिशत गुठीका नाममा हुने व्यवस्था छ ।

तर, स्थानीयले ३३ प्रतिशत भन्दा बढीको आफूले पाउनुपर्ने माग गरिरहेका छन् ।आयोजनाले भने मन्त्रिपरिषदबाटै निर्णय गरेर मुआब्जा दिनेगरी सहमति भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *