मनोरंजन

भिटेन यस्तै त हो नि ब्रो !

बान्की नमिलेका जस्ता लाग्ने हरफहरु । यसमा प्रयुक्त ‘खाते’, ‘खलासी’ जस्ता शब्दावली उट्पट्याङ र अशोभनीय लाग्छ । यो तपाईं/हामीलाई लागेको कुरा हो, भिटेनलाई होइन ।

किनभने भिटेनले यिनै शब्दावली खेलाएर र्‍याप गीत गए । ‘खलासी’ शीर्षकमा । गीत उनका समवयीबीच पि्रय पनि छ । यस्तै र्‍याप गीतको गुरुत्व बलले तानिएका ठूलो जमात भिटेनको वरीपरी झुम्मिएका छन् ।

झट्ट सुन्दा त ‘भिटेन’ कुनै नामवाचक संज्ञा जस्तो लाग्दैन । सम्भवतः यसको अर्थ नेपाली शब्दकोषमा पनि नहोला । यद्यपि ‘भिटेन’ नाम र ‘खलासी’ शीर्षकको र्‍याप गीतको पछाडि एउटा घतलाग्दो कथा जोडिएको छ ।उनको सद्दे नाम चाहिँ, समीर घिसिङ । समीर घिसिङ कसरी भिटेन बने ?

समीर रौतहटमा जन्मिएका हुन् । त्यहाँ उनका एक गरिब र टुहुरो मित्र थिए । हितैषी । औधी मिल्ने । त्यही साथीले समीरलाई सम्बोधन गर्ने नाम थियो, भिटेन । तर, यसरी आफ्नो न्वारान गरेर फरक नाम दिएको उनलाई चित्त बुझेको थिएन । ‘भिटेन’ भनेर बोलाएको उनलाई अलिकती पनि मन पर्दैनथ्यो ।

तर, समयक्रममा ती साथी हराए । कहाँ गए कहाँ ? अत्तोपत्तो भएन । यता समीर चाहिँ र्‍याप गीत गाउन थाले । उनलाई साथीको यादले भने पछ्याइरह्यो । अन्ततः उनले तिनै साथीको समर्पणमा आफ्नो सार्वजनिक नाम राखे, भिटेन ।

भिटेनले थाहा पाएसम्म उनका ती साथी ‘खलासी’ भएका छन् । ‘भिटेन..भिटेन’ भनेर बोलाउने तिनै खलासी साथीको नाममा उनले र्‍याप गीत गाए, खलासी ।

‘हामी यस्तै त हो नि ब्रो’

अहिले युवापुस्तामाझ उखान-टुक्का जस्तै छ्यापछ्याप्ती भएको छ यो शब्दावली । सामान्य बोलीचालीदेखि सामाजिक सञ्जालसम्म यसको प्रयोग व्यापक छ ।खासमा भिटेनलाई चिनाउने र भिटेनलाई चिन्ने र्‍याप गीत हो यो ।

‘सही हो, सही हो

हामी यस्तै त हो नि ब्रो

जहिले यस्तै त हो नि हो

ठिकठाक आफ्नो ठाउँमा बस्छु

राम्रो गाउन सक्छु

खासमा यस्तै त हो नि हो

हामीलाई के सोचेको होला

अघि बढिसक्यो हेर भोटेको छोरा

हाँस्छु हसाउँछु म, नाच्छु नचाउँछु

चिल्याक्स पारामा मासु चपाउँछु

झाडु लगाउँछु म, डाडु ठटाउँछु

पार्टी हान्न आइज बरु, दारु मगाउँछु ।

आम युवाको मनोदशा झल्काउने यस्तै हरफहरुले भिटेनलाई ‘खास’ बनाएको हो । उनको यो स्वच्छन्द शब्दलहर हृदयबाटै प्रकट भएको छ । त्यसैले यसले युवापुस्ता हृदयमा झन्कार बजाइदिन्छ ।

त्यसो नहुँदो हो त आज भिटेनका पछाडि लाखौं युवाको लस्कर लाग्ने थिएन । उनी बेपर्वाह गाउँछन् । निस्फिक्री, निर्धक्क र निर्भिक छन् । जुन भाव उनको गीतमा झल्कन्छ । सम्भवतः भिटेन जस्तो गाउँछन्, त्यस्तै छन् । उनी जस्तो छन्, त्यस्तै गाउँछन् ।

अन्डरग्राउन्ड र्‍याप संगीतबाट दृश्यपटलमा आएको नाम हो, भिटेन । अन्डरग्राउन्ड र्‍याप ब्याटलबाट उनी चिनिँदै गए ।उनले १५ वर्षको उमेरमै गीत रेकर्ड गरे । शीर्षक थियो, गरिबी । यो गीत उनैले फुराएका हुन् । धुन उनकै हो । गीत रोमाञ्चक मात्र होइन, मर्मस्पर्शी पनि छ । उनका अरु गीतहरु पनि करिब यस्तै छन् । शीर्षक चाहिँ, चुरोट, बैनी, लफंगा आदि ।

आफ्नो जीवन-भोगाई मिसाएर गीत लेख्ने, गाउने भएकाले भिटेनको गीतमा एउटा जमात तुरुन्तै एकाकार भइहाल्छ । उनीहरुलाई लाग्दो हो, यो मेरो आफ्नो हृदयको गीत हो । मेरो हृदयको भाका हो । भिटेनले एउटा गीत लेखेका छन्, चुरोट । युवापुस्ताले औधी रुचाएको यो गीत पनि उनले आफू र आफ्ना साथीहरुलाई सम्झेर लेखेका बताएका छन् ।

गायकी बाहेक उनको अर्को परिचय भनेको थाङ्का आर्टिस्ट पनि हो । भिटेन उनका काकासँग काठमाडौं आएका थिए, थाङ्का पेन्टर बन्नका लागि । काठमाडौंमै उनले उच्च शिक्षाको पढाई पनि सुरु गरे । ‘मलाई पढाईमा मन नै नलाग्ने, पास हुन्छु भन्ने पनि लाग्दैनथ्यो’ भिटेनले भनेका छन्, ‘मेरो मन अरुतिर नै रहेछ ।’

उनको विद्यालय यात्रा त्यति सुखद् रहेन । लेखपढमा ध्यान दिनेभन्दा पनि अक्सर साथीभाइसँग हिँड्ने उनी अन्ततः आफन्तबाट टाढिए । त्यसबेला आफूले निकै अपमान झेल्नुपरेको नमिठो अतित छ उनीसँग ।

भिटेन अमेरिकी गीतकार/अभिनेता इमिनेमका डाइहार्ड फ्यान हुन् । भिटेन इमिनेमकै गीत सुन्दै हुर्किए । इमिनेमबाटै आफूमा र्‍याप संगीतको मोह अंकुराएको मान्छन् उनी । त्यसैले त उनले आफ्नो हातमा इमिनेमकै समर्पणमा हातमा ट्याटु पनि खोपाएका छन् । एउटा हातमा, डि-१२ र अर्कोमा ब्याड मिट्स एभिल ।त्यसो त उनी ट्याटु लभर पनि हुन् । कुनैबेला उनमा ट्याटु आर्टिस्ट बन्ने रहर पनि पलाएको थियो ।

अरुले के सोच्छ, अरुले के भन्छ ? भिटेनलाई ‘बाल मतलब ।’ उनलाई आफैभित्रको धुन सुन्नुछ । आफ्नै मनको गुञ्जन सुन्नुछ ।

भिटेन खासमा स्वच्छन्द प्रवृत्तिका छन् । उनी कुनै बन्धन र सर्तहरुमा बाँधिन रुचाउँदैनन् । आफूले जे देख्यो, जे भोग्यो, जे बुझ्यो त्यसैलाई उजागर गर्छन् । ‘र्‍याप गीत’ भनेको पनि यस्तै स्वच्छन्द रचना हो भन्ने उनको बुझाई छ ।

भिटेनले कानमा एउटा ट्याटु खोपाएका छन्, जसलाई उनी जंगली आदिवासीबाट प्रेरित भएर खोपाएको बताउँछन् । उनले भनेका छन्, जंगली युगमा रमाइरहेकाहरुको जीवन मलाई बाल्यकालदेखि नै रुचि लाग्थ्यो । उनीहरुको शैली, संस्कारले आफूलाई यसैपनि आकषिर्त गर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *