काठमाडौं : विश्व फुटबल महासंघ (फिफा)को नयाँ वरीयतामा नेपाल ६ स्थान खस्किएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान तल झर्दै एक सय ६७औं स्थानमा पुगेको हो। अघिल्लो महिना नेपाल एक सय ६१औं स्थानमा थियो। नेपालले समग्रमा नौ सय ८८ अंक पाएको छ।
सन् २०२२ मा कतारमा आयोजना हुने एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलमा कमजोर प्रदर्शन गरेका कारण नेपाल वरीयतामा खस्किएको हो। हालै नेपाल अस्ट्रेलियासँग ५–० र जोर्डनसँगको खेलमा ३–० गोलले पराजित भएको थियो। त्यसैको असर वरीयतामा देखिएको छ। दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा यथावत् छ।
यसैगरी दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारतको पनि दुई स्थान खस्किएको छ। भारत समग्रमा एक सय ६ स्थानमा छ। एक स्थान खस्किएको माल्दिभ्स एक सय ५४औं स्थानमा छ। वरीयतामा तीन स्थान सुधार गरेको बंगलादेश एक सय ८४औं स्थानमा छ। चार स्थान खस्किएको भुटान एक सय ८९औं, दुई स्थान सुधार गरेको पाकिस्तान दुई सय एक र एक स्थान खस्किएको श्रीलंका दुई सय तीन स्थानमा छ। विश्व वरीयतामा शीर्ष चारमा कुनै फेरबदल भएको छैन।
वरीयतामा बेल्जियम पहिलो, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इङ्ल्यान्ड चौथो स्थानमा छ। एक स्थान सुधार गरेको उरुग्वे पाँचौं, एक स्थान तल झरेको पोर्चुगल छैटौं, एक स्थान सुधार गरेको क्रोएसिया सातौं र एक स्थान खस्किएको स्पेन आठौं स्थानमा छ। अर्जेन्टिना नवौं र एक स्थान खस्किएको कोलम्बिया १०औं स्थानमा छ।