राजनिति

गडबड भए हामी सकिन्छौं : प्रचण्ड

विराटनगर : सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा वैचारिक स्पष्टता तथा विधि र पद्धतिबाट चल्ने कम्युनिस्ट पार्टी बनाउन आवश्यक रहेको बताएका छन्। ‘विचार र अनुशासनको विधिबाट पार्टीलाई सुदृढ बनाउन आवश्यक छ,’ उनले भने, ‘कतै गडबड भए हामी नै सकिन्छौँ।’

नेकपा मोरङले चाडपर्वका अवसरमा विराटनगरमा शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले तीन महिनामा सम्पन्न गर्ने भनिएको पार्टी एकताको काम १७ महिनामा पनि पूरा नहुँदा गडबडको संकेत देखा परेको उल्लेख गरे।

‘जति सक्दो विवेक पुर्‍याउँदै एकताबद्ध र अनुशासित बनाएर पार्टीमा विधि र विधान अनुसार अघि बढ्दै शक्ति आर्जन गर्न आवश्यक छ’, उनले भने।

विधिअनुसार नचले कम्युनिस्ट आफैं ढल्ने र सकिने अनुभवबाट सिकेर पद्धतिअनुसार अघि बढ्दै पार्टीका लागि अपराजयको यात्रा सुनिश्चित गर्नुपर्नेमा प्रचण्डको जोड छ। पार्टी एकतालाई अन्तिम टुंगोमा पुर्‍याउन सकस परिरहेको संकेत गरे। विचार मिलेका कारण पार्टी एकता भएको बताउँदै उनले अलग हिसाबबाट अघि बढ्न खोजे एकता असन्तुलित हुने उल्लेख गरे। ‘दुई पार्टीबीच एकता गर्दा असन्तुष्टि हुनु र जटिलता आउनु स्वभाविक हो’, उनले भने, ‘जस्तो सुकै जटिलता आए पनि बेहोर्न तयार हुनुपर्छ।’

एकतापछि उत्पन्न समस्याबाट कोही पनि पछि हट्न नहुने पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ। ‘एमालेको नवौँ महाधिवेशनको लाइन र माओवादीको हेटौँडा महाधिवेशन तथा पछि एकता अधिवेशनको डकुमेन्टका आधारमा एकता भएको हो’, प्रचण्डले भने, ‘विचार मिलेकैले पार्टी एकता सम्भव भएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *