राजनिति

नेकपा कार्यकर्ताले टेरेनन् ओली–प्रचण्डको निर्देशन, सरकारलाई धक्का !

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारद्वारा गरिएका कामबारे जनतालाई जानकारी गराउन आफ्ना नेता तथा कार्यकर्तालाई पटक–पटक निर्देशन दिएपनि कार्यकर्ताले त्यो निर्देशन टेरेनन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा संसदीय दलको हरेकजसो बैठकमा सरकारले गरेको कामबारे प्रसार नभएको गुनासो गर्दै आएका छन् ।

उनले पार्टीका नेता, कार्यकर्ता, सांसद, मन्त्रीहरूलाई आ–आफ्ना क्षेत्रमा गएर सरकारले गरेको कामका बारेमा जानकारी गराउन, भइरहेको कामको अनुगमन गर्न पटक–पटक निर्देशन दिएका छन् ।

असार १६ गते नयाँ बानेश्वरस्थित संसद्भवनमा बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार जनअपेक्षा अनुसार नै अगाडि बढिरहेपनि सरकारले गरेका काम जनताका बीचमा पुग्न नसकेको भन्दै सरकारको कामलाई प्रभावकारी रूपमा प्रचार गर्न सांसद, नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए । तर उनको निर्देशनको पालना नभएको गुनासो नेकपाभित्रै सुनिएको छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७६ भदौ १३ गते अन्तरपार्टी निर्देशन–२ जारी गर्दै पार्टीले नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने बताएका थिए ।

गएको भदौ १९ गते पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको छलफलले पनि पार्टीका नेता तथा कार्यकर्तालाई सरकारका काम जनतामा पुर्‍याउन निर्देशन दिइएको थियो । विभिन्न समयमा बसेको सचिवालय बैठकमा पनि सरकारले गरेको कामको प्रचारप्रसार ठीक ढंगले नभएको गुनासो प्रधानमन्त्री ओलीबाट हुनेको गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

‘पार्टीले नेता तथा कार्यकर्तालाई अभियान नै चलाएर निर्देशन दिएपनि किन काम भइरहेको छैन ?’ स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले भने, ‘सांगठनिक संरचना निर्माणले पूर्णता नपाएका कारण केही ढिलाइ भएको हो तर ठूलाठूला आमसभा अभियान नभए पनि सानासाना गतिविधिहरू सुरू भएका छन्, केही प्रतिक्रिया पनि आएका छन् ।’ उनले चाडपर्व सकिएपछि अभियानले तीव्रता पाउने बताए ।

नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले पनि सांगठनिक काम नसकिएका कारण अभियान सञ्चालनमा ढिलाइ भएको प्रतिक्रिया दिए । सांगठनिक काम सकिनेबित्तिकै यस्तो अभियान सुरू गर्ने उनले बताए ।

प्रदेश २ मा पार्टीको आन्तरिक विवादका कारण सबै कामकाज ठप्प छन् । प्रदेश २ नेकपाका अध्यक्ष प्रभू साहले भने, ‘प्रदेश कमिटीलाई सुसंगठित बनाई चाँडै योजना बनाएर अभियान चलाउँछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *